खेलको अन्तिम इन्जुरी समयमा साबिक विजेता काठमाडौं रेजर्सले सोमबार नेपाल सुपर लिगमा पोखरा थन्डर्सलाई २–१ ले पराजित गरेको छ । जितसँगै काठमाडौंले प्ले–अफको सम्भावना जीवितै राखेको छ । खेलको ८२औँ मिनेटसम्म काठमाडौं पोखरासँग १–० ले पछाडि पारेको थियो । तर, खेलको अन्तिम १० मिनेटमा काठमाडौंले च्याम्पियन शैलीमा प्रदर्शन गर्यो । खेल सकिन आठ मिनेट र त्यसपछिको अन्तिम इन्जुरी समयमा काठमाडौंले दुई गोल फर्काउँदा पोखराको स्पष्ट तीन अंक जोड्ने सपना तुहियो ।
बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको काठमाडौंलाई अविस्मरणीय जित दिलाउने क्रममा क्यामरुनी खेलाडी एन्केनगुयना जुनियर र उज्वेकिस्तानी खेलाडी शोखरुखले गोल गरेका थिए । पोखराका मार्की आयुष घलानले अग्रता गोल गरेका हुन् । यस खेलसँगै पोखराको अपराजित यात्रा समाप्त भएको छ ।
काठमाडौंका प्रशिक्षक महर्जनले कप्तान तथा मार्की खेलाडी हिसुब थपलिया, कार्यवाहक कप्तान कुलदीप कार्की तथा गोलरक्षक अभिषेक बराललाई बेन्चमा राखेका थिए । उनले अञ्जन राईलाई कप्तानी जिम्मेवारी सुम्पिएका हुन् । एन्जल श्रेष्ठले गोलपोस्टको जिम्मेवारी पाए । अञ्जन पहिलो कप्तानी जिम्मेवारीमा भाग्यशाली रहे । पहिलो संस्करण काठमाडौं च्याम्पियन हुँदा अञ्जनको प्रदर्शन उत्कृष्ट रहेको थियो ।
‘आज नयाँ खेलाडीलाई अवसर दिए । त्यसमा हामी सफल भएका छौँ । पाँचौँ खेलमा राम्रो प्रदर्शन भयो,’ खेलपछि खुसी देखिएका काठमाडौं महर्जनले भने, ‘साबिक विजेता भएकाले नतिजा आवश्यक थियो । विश्वास गरेका खेलाडीले राम्रो खेले ।’ काठमाडौंका प्रशिक्षक महर्जनले फुटबल नतिजा जे पनि हुन सक्ने जनाए ।
जितसँगै काठमाडौं ५ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पोखराले हारसँगै शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । समान खेलबाट ८ अंकका साथ पोखरा चौथो स्थानमा छ । पोखराका प्रशिक्षक नवीन न्यौपानेले पाएको अवसर गुमाउँदा अंक गुमाउनु परेको बताए । उनले गोलरक्षकले गल्ती गरेको पनि प्रतिक्रिया दिए । ‘पहिलो हाफ र दोस्रो हाफमा राम्रो अवसर पाएका थियौँ । त्यसलाई सदुपयोग गर्न सकेनौँ,’ न्यौपानेले भने, ‘काउन्टर अट्याकमा जाने रणनीति थियौँ । पहिलो हाफमा सफल भयो । दोस्रो हाफमा दबाबमा खेल्नुप¥यो,’ उनले भने ।
पोखराको अग्रता
खेलको ५९औँ मिनेटमा पोखराले मार्की आयुषको १–० को अग्रता दिलाए । पोखराका स्टेफन पापा अनोरले करिब २५ यार्डबाट प्रहार गरेको बललाई गोलरक्षक एन्जलले बचाए । तर, रिबाउन्डमा डिबक्समै रहेका आयुषले वान टचमा गोल गरे । खेलको ८३औँ मिनेटमा काठमाडौंका जुनियरले बराबरी गोल गरे ।
दिपेश गुरुङको पासमा बक्सबाहिरबाट जुनियरले सहज गोल गरे । इन्जुरी समयमा शोखरुखले काठमाडौंका लागि निर्णायक गोल गरे । उज्वेकिस्तानी खेलाडी टोजिडिनोभ कोमिवोनको लामो दूरीको काउन्टर बललाई शोखरुखले १८ यार्डबाट गोलरक्षक प्रिसोलाई बिट गर्दै सुन्दर गोल गरेका हुन् ।