शताब्दीको अन्त्यमा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियससम्म बढ्न सक्छ : राष्ट्रसंघ

मंगलबार, १२ मंसिर, २०८०
डिजिटल संस्करण

विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौती गर्ने प्रतिबद्धताका बाबजुद पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोर्याएको संयुक्त राष्ट्रसंघले जनाएको छ । प्रतिबद्धतालाई इमान्दारिताका साथ कार्यान्वयन नगरे यो शताब्दीमा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियससम्म बढ्ने राष्ट्रसंघले चेतावनी दिएको छ । दुबईमा महत्वपूर्ण कोप–२८ जलवायु वार्ताअघि संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (युएनइपी)को वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गरिएको छ । अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलतातर्फ उन्मुख रहेको रिपोर्टमा उल्लेख गरेको छ ।

यो वर्ष मानव इतिहासकै सबैभन्दा तातो वर्ष हुने अपेक्षा गरिएको सन्दर्भमा युएनइपीले भनेको छ, ‘विश्वले बिग्रिएको जलवायु रेकर्डको संख्या, गति र परिमाणमा चिन्ताजनक गति देखिइरहेको छ ।’ कार्बन कटौती गर्ने देशको योजनाबारे ध्यानाकर्षण गर्दै युएनइपीले भनेकोे छ, ‘पृथ्वी सन् २१०० सम्ममा २.५ डिग्री सेल्सियस र २.९ डिग्री सेल्सियसबीच विनाशकारी तापको मार्गमा छ । विद्यमान नीति र उत्सर्जन कटौती प्रयासका बाबजुद विश्वव्यापी तापक्रम वृद्धि तीन डिग्री सेल्सियसतर्फ धकेलिने सम्भावना बढेको छ ।’  

सन् ०२१ देखि ०२२ सम्ममा १.२ प्रतिशतले उत्सर्जन वृद्धि भएको विश्वले वायुमण्डलमा हरितगृह ग्यासको रेकर्डस्तरलाई प्रोत्साहन गरिरहेको युएनइपीले जनाएको छ । 

सुझावित समाचार