दायित्वको अर्थ हो, कर्तव्य । जन्मेपछि सबैले विभिन्न रूपमा आ–आफ्नो दायित्व वहन गर्नु नै पर्ने हुन्छ । एउटा परिवारमा पनि बाबाआमाको अविभावकीय दायित्व हुन्छ भने छोराछोरीको आफ्नो बाबाआमालाई मानसम्मान गर्दै उहाँहरूले देखाउनुभएको बाटो हिँड्नुपर्ने दायित्व हुन्छ । परिवारमा आइपर्ने दुःखसुखमा एक अर्कालाई साथसहयोग दिनुपर्ने दायित्व त छँदैछ । समाजमा पनि हरेक व्यक्तिले आफ्नो रूपअनुसारको दायित्व बहन गर्यो भने मात्र त्यो समाज सभ्य बन्न सक्छ । हरेक चेतनशील, शिक्षित र बौद्धक व्यक्तिको परिवार, समाज, देश र समग्र विश्वप्रति नै गर्नुपर्ने काम, कर्तव्य र दायित्व हुन्छ । त्यस्तै, हरेक संघसंस्था, समाज अनि राज्यको पनि आफ्नै भूमिका र दायित्व हुने गर्छ । अरूले हामीबाट जे आशा गरेका हुन्छन्, त्यो भूमिकालाई आफ्नो कर्तव्य सम्झेर नैतिक वा कानुनी रूपमा पूरा गरेर नै व्यक्ति, संस्था वा राज्य सफल हुन सक्छ ।
भूकम्पीय उच्च जोखिममा रहेको हाम्रो जस्तो देशमा वेलावेलामा यसले सानो–ठूलो क्षति गरिरहेकै छ । ०७२ सालको विनाशकारी भूकम्प बिर्सी नसक्दै फेरि शुक्रबार मध्यराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको धक्काले सयौँको ज्यान जानुका साथै ठूलो संख्यामा घाइते तथा भौतिक संरचना ध्वस्त बनाएको छ ।
मौसमअनुसार सधैँजस्तो आउने बाढीपहिरो त हाम्रो नियतिमै छ । प्राकृतिक प्रकोपलाई आकलन गरी यसले पार्न सक्ने क्षतिलाई कम गर्नुपर्ने एउटा टड्कारो पक्ष त जहिल्यै छँदैछ, तर नहुनु भइहालेपछि हामीले गर्नैपर्ने काम, कर्तव्य, भूमिका अनि दायित्वको बारेमा पनि गहन छलफल हुनुपर्ने देखिन्छ ।
हामी सबै जागरुक भयौँ भने यस्तै विपद्को वेलामा कुन व्यक्ति, संघ, संस्था तथा राज्य वा सरकार अनि मित्रराष्ट्रहरूले के कस्ता सहयोग र साथ दिएका छन्, एक–एक हिसाबकिताब राखेर भविष्यमा हामीले पनि सोहीअनुसार उहाँहरूलाई सदाशयता राख्न सक्छौँ । धन भएर वा साथसहयोग गर्न सक्ने क्षमता भएर पनि यदि कसैले केही सिन्को पनि भाँच्दैन भने त्यस्तालाई वेलैमा चिनेर सोहीअनुसारको व्यवहार भविष्यमा गर्दै जाने हो भने धेरै कुरामा परिवर्तन ल्याउन सकिन्छ ।
आफ्नालाई विपत् आइलाग्दा आफ्नो गच्छेअनुसार जे–जस्तो सकिन्छ, सहयोग गर्नु हाम्रो दायित्व हो, धन हुनेले धन, मन हुनेले मन दिनु भन्ने चर्चित भनाइ यहाँ सान्दर्भिक हुन्छ । हुन त मानवीयताको नाताले संसारको जुनकुनै समुदाय, धर्म, जातजातीमा विपत् आइलाग्दा साथसहयोग गर्नु पनि हाम्रो दायित्वमै पर्छ । जुनसुकै धर्मले पनि आफूले कमाएको केही प्रतिशत गरिब दीनदुःखी र पीडितलाई सहयोग गर्न सिकाएकै हुन्छ ।
भूकम्प प्रभावितलाई गाँस, वास र कपास, घाइतेको प्रभावकारी उपचार र विस्थापितको पुनर्स्थापना हुनुपर्छ । यस्तो वेला व्यक्ति, व्यापारी, संघसंस्था सबैले कुनै कन्जुस्याइँ नगरी मन फुकाएर सहयोग गर्नुपर्छ ।
यति वेला देश–विदेशमा रहेका नेपालीहरूको ध्यान भूकम्पपीडितमा छ । राज्यका विभिन्न निकायदेखि विभिन्न व्यक्ति तथा संघ–संस्थाले आ–आफ्नो गच्छेअनुसारको साथसहयोगको घोषणा गरिरहेका छन् । मित्रराष्ट्र चीनले १० करोडबराबरको राहत सामग्री, भाटभटेनी सुपरमार्केटले १ करोड ११ लाख ११ हजार १ सय ११, विभिन्न बैंकले लाखौँ, नेपाल क्रिकेट संघले फाइनल खेलको टिकट बिक्रीबाट आएको रकमको ५० प्रतिशत, कलाकार पल शाहले ५० हजार, एमालेले १ करोड, नेपाली कांग्रेसले १० करोड, बाबुराम भट्टराईको समाजवादी पार्टीले १० लाख, बुद्ध एयरले १ करोड र राहत ढुवानी, गैरआवासीय नेपाली आरके शर्मा समूहले २१ लाख, बद्री केसी समूहले १० लाख, एनसेलले ५० लाख, एनटिसीले प्रभावित क्षेत्रमा २५ लाख, यती ब्रुअरीले २५ लाख, चौधरी समूहको फाउन्डेसनले तत्काल राहतको घोषणा गरेका छन् ।
त्यस्तै, अमेरिका, भारत, पाकिस्तान, रुसले यो विपत्को समयमा हामी नेपालीको साथमै छौँ भन्नु, भारतीय क्रिकेटरहरूले भूकम्पपीडितको सहयोगार्थ गरेको अपिललाई मानवीयता अनि छिमेकी मित्रराष्ट्रको एक सभ्य नागरिकको उदाहरणमा लिन सकिन्छ । रास्वपाका अध्यक्ष रवि लामिछानेले पनि तानसेन पाल्पाको पूर्वघोषित कार्यक्रम रद्द गरी भूकम्प प्रभावित क्षेत्रमै गई स्थानीय रेडियोमार्फत सूचना संकलन र व्यवस्थापनको कार्यमा अहोरात्र खटिरहँदा पनि देशप्रतिको दायित्व मज्जाले झल्किन्छ ।
हुन त प्रधानमन्त्री पुष्पकमल दाहाल पनि तत्काल उक्त क्षेत्रको भ्रमण गरी वस्तुस्थिति बुझी पीडित जनतामा अलिकति भए पनि राज्य भएको आभास दिलाउँदै सरकारको दायित्व पूरा गर्दै हुनुहुन्छ । मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलार्ई तत्काल २ लाख, घाइतेहरूलाई निःशुल्क उपचार अनि विपत् व्यवस्थापन कोषमा ११ करोड जम्मा गर्ने निर्णय गरेको छ । जुम्लाजस्तो विकट जिल्लाकै गाउँपालिकाले १० लाख, कांग्रेस सांसद प्रदीप पौडेलले १ महिनाको तलब, एलए एजुकेसन गु्रपका संस्थापक उमेश श्रेष्ठले मृतकका बालबालिकालाई २ करोडबराबरको १० जनालाई छात्रवृत्ति दिइने प्रतिबद्धता जनाउनुभएको छ ।
अर्थतन्त्र संकटको वर्तमान अवस्थामा पनि निजी क्षेत्रका उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स तथा नेपाल व्यावसायिक पहल एनबिआई आदिले सक्दो साथसहयोग गर्ने वाचा गरेका छन् । माधव नेपालको समाजवादी पार्टीको कामनपा वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले व्यक्तिगत ५० हजारको घोषणा गर्नुभएको छ ।
यी त भए विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट तत्काल थाहा भएको साथसहयोगको सूची । तर, जे–जति भएको छ, पर्याप्त अवश्य छैन । मृतकका परिवारलाई, प्रभावितलाई गाँस, वास र कपास, घाइतेको प्रभावकारी उपचार, विस्थापितको पुनस्र्थापनालगायतमा प्रत्येक व्यक्ति, संघसंस्था र अझै राज्यको दायित्व अहम् हुन्छ । अतः गाह्रोसाह्रोमा व्यक्ति, व्यापारी, संघ, संस्थाले मन फुकाएर सहयोग गर्नुपर्छ, नत्र त्यस्तो धनको के काम ?
सन् २०११ मा दिल्लीमा भएको विज्ञापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई की नोट स्पिकरका रूपमा तत्कालीन पेप्सीकोला कम्पनीका ग्लोबल सिइओ इन्द्रा नोयले सम्बोधन गर्दा संस्थागत सामाजिक उत्तरदायित्वलाई जोड दिनुभएको थियो । त्यतिवेला उहाँले अब कुनै पनि व्यापार व्यवसायले नाफाभन्दा पनि समाजलाई केन्द्रबिन्दुमा राखेर आफ्नो समाजप्रति गर्नुपर्ने दायित्व पूरा नगरे चाँडै नै बन्द हुने बताउनुभएको थियो । साथै, उपभोक्ता धेरै जागरुक भइसकेका र उनीहरूले एक–एक हिसाबकिताब राखिरहेको पनि उहाँको भनाइ थियो । यही कुरा विभिन्न अन्य व्यक्ति तथा संघ, संस्था वा पार्टी तथा सरकारमा पनि उत्तिकै लागू हुन्छ । जसरी जागरुक उपभोक्ताले समाजप्रति उत्तरदायी व्यवसायीलाई उनीहरूका वस्तु तथा सेवा उपभोग गरी साथ दिन्छन्, जागरुक जनताले पनि देशप्रति उत्तरदायी नेता तथा पार्टीलाई चुनावमा आफ्नो अमूल्य मत दिन्छन् ।
उपभोक्ताविनाको व्यवसाय अनि जनताविनाको नेता कल्पना गर्न सक्ने कुरा पनि भएन । विपत् आइलाग्दा अनि गाह्रोसाह्रो पर्दा सहयोग गर्न नसक्ने वा नचाहने ती व्यक्ति, व्यवसायी, नेता, सरकार जो भए नि वेलैमा चिनेर तिनीहरूका वस्तु तथा सेवा रामै्र भए पनि उपभोग नगर्ने, राम्रा भाषण गरे पनि चुनावमा भोट नदिने, छिमेककै व्यक्ति धनी भए पनि सोहीअनुसारको इज्जत नदिने हो भने सभ्य समाज अनि समृद्ध देश हाम्रै पालामा सम्भव छ । धन भएका र समाजमा ठूला अनि महानायक कहलिएका तर परेको वेला सिन्का नभाँच्नेलाई नायकबाट नालायकमा परिणत गर्न धेरै ढिला भइसकेको छ । आफूलाई आपत् पर्दा कसैले म छु है भने मात्र पनि कत्रो साहस अनि हिम्मत आउँछ । मन हुनुपर्छ केही गर्न नसके पनि पीडितहरूका लागि प्रार्थना भने पनि गर्न सकिन्छ, स्वयंसेवकका रूपमा आफैँ उद्धार र व्यवस्थापनमा खटिन सकिन्छ ।
(श्रेष्ठ नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष हुन्)