अघिल्लो महिना रातको समयमा हिँड्दाहिँड्दै खाल्टोमा देब्रे खुट्टा पर्यो । म त्यहीँ बेहोस भएछु । साथीहरूले नजिकै रहेको सिभिल अस्पताल पुर्याएछन् । खाल्टोमा पर्दा शरीरको असन्तुलनले मेरो खुट्टा भाँचिएछ । घुँडाको तल हड्डी धसिएकाले अप्रेसन गर्नुपर्ने भयो । अप्रेसन पनि भयो । जीवनमा भगवान्को कृपाले कहिल्यै अस्पताल नबसेको म २३ दिन अस्पताल बस्नुपर्यो । अस्पताल बस्नुको कारण खुट्टा भाँचिनु मात्र थिएन, एकदमै कम बिरामीमा देखिने ‘कम्पार्टमेन्ट सिन्ड्रोम’समेत मलाई भएछ । घुँडा भाँचिँदा त्यसभन्दा तलको मासुमा धेरै चाप भएर, चाप घटाउन फेरि अप्रेसन गरियो ।
चारचोटि अप्रेसन गरेर म २३ दिनपछि अस्पतालबाट फर्किएँ । अब केही महिना आराम गर्नुपर्छ र खुट्टा पहिलेजस्तै हुन अभैm केही समय लाग्छ । तर, ती २३ दिनमा स्वास्थ्य अवस्थाबाहेक पनि मेरा मनमा धेरै प्रश्न उठे । यो लेख एउटा साधारण लेख मात्र होइन, एउटा आमनागरिकले अस्पतालबाट गरेको प्रश्न पनि हो ।मेरो जस्तो दुर्घटना जसलाई जुनसुकै वेला पनि हुन सक्छ ।
यदि एउटा आमनागरिक दुर्घटना भएर ६ महिना आराम गर्नुपर्ने भयो भने उसको गुजारा कसरी चल्ला ? घरमा एकजना बिरामी हुँदा पूरै परिवारको जीवन, व्यवसाय र अफिस डामाडोल हुन्छ । एउटा आममानिस अस्पताल बस्दा लाग्ने लाखौँ खर्च उसले कसरी जुटाउँछ ? अहिले अस्पतालको विश्वसनीयतामै आमनागरिकमा ठूलो प्रश्न छ । झन् सरकारी अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीको व्यवहारले पनि आमनागरिकमा सरकारी अस्पतालप्रति विश्वास छैन । यही सिलसिलामा एउटा ठिक्कको निजी अस्पतालमा एउटा सामान्य अप्रेसन गर्नुपर्यो भने दुई–तीन लाखभन्दा घटीले पुग्दैन ।
१०–१५ दिन अस्पताल बस्दा आठ–दश लाख सकिनु सामान्य भइसकेको छ । यस्तो अवस्थामा एउटा नागरिकले कसरी खर्च गर्न सक्छ । ४० हजार महिनाको कमाउने (नेपालको प्रतिव्यक्ति आय महिनाको १५ हजार हाराहारी छ) आमनागरिकले कसरी कोठाभाडा तिरेर, दुईजना बच्चालाई स्कुल पठाएर, यो महँगीमा गुजारा चलाउन सक्छ ?
दोस्रो कुरा, यदि ६ महिना अफिस जान सकेन भने उसको परिवारको अवस्था के होला ? अस्पतालमै छोराछोरीको स्कुलबाट आएको दसौँ हजारको बिल महिनाको अन्तिमसम्म तिर्न गरिएको धम्कीपूर्ण नोटिस, घरबेटीले घरभाडा मागेको श्रीमतीको सन्देश र औषधि उपचारको एउटा साधारण मानिसले कसरी व्यवस्थापन गर्न सक्छ ? निजी संस्थाहरूले कर्मचारीको जिम्मेवारी लिँदैनन् र राज्यले समेत वास्ता नगर्ने हुँदा उसको जीवन कसरी अगाडि बढ्ला ?
यदि दिनको दश–बाह्र घन्टा काम गरेर आफ्नो उपचार पनि गर्न सकिँदैन, परेको खण्डमा ६ महिना आराम गर्दा पनि आफ्नो पेसागत र आर्थिक रूपमा ग्यारेन्टी हुन्न भने हामी कस्तो जीवन बाँच्न बाध्य छौँ ? यहीँनेर अर्को महत्वपूर्ण प्रश्न उठ्छ, यदि मेरो स्वास्थ्य र मेरा छोराछोरीको जिम्मा लिने अरू कुनै देश छ भने म यो देशमै किन बस्ने ? धेरै राष्ट्रवादी हामी कोही पनि बन्न आवश्यक छैन । यहाँ उल्लेख गरिएको ‘म’ पात्र अधिकांश नेपालीको प्रतिनिधि हो ।
मेरो एकजना पार्टीकै साथी हाल बेलायतमा छिन् । उनी त्यहाँ किन छिन्, थाहा छ ? किनकि, त्यहाँको स्वास्थ्य सेवा राम्रो छ र उनी आफ्नो परिवारको बिरामी सदस्यलाई राम्रो स्वास्थ्य सेवा दिन मन मारेर त्यहाँ बसेकी छिन् । म विभिन्न देशमा जाँदा त्यहाँका नेपालीलाई सोध्ने गर्छु, नेपाल फर्कने होइन ? लगभग सबैको उत्तर हुन्छ, नेपालमा राम्रो शिक्षा छैन । छोराछोरी यतै पढून् । नेपालमा राम्रो स्वास्थ्य सेवा छैन, बरु आमाबुबालाई पनि यतै ल्याउनुपर्ला ।
सामान्य भाषामा समाजवादले सक्ने अनि हुनेले मात्र होइन, सबैले बाँच्न पाउनुपर्छ भन्छ । राज्यले सबैलाई गरिखान सक्ने बनाउनुपर्छ भन्छ । यत्ति पनि नबुझ्ने नेताहरू कसरी समाजवादी हुन सक्छन् ? यदि बुझेका छन् भने यत्तिका वर्षमा समाजवादका निम्ति के गरे ?
चर्चित पत्रकार सुमन खरेलले आफ्नो कार्यक्रममै नेपाल छाडेर बेलायत फर्किन लागेको बताउनुभएको थियो । उहाँले दिएको कारण थियो– ‘मेरी छोरी फरक क्षमताकी हुनुहुन्छ । छोरीलाई काठमाडौंमै पढाउन राम्रो स्कुल छैन । बेलायतमा त्यो सबै सुविधा छ । शिक्षा र स्वास्थ्य राज्यको दायित्व रहन्छ । यदि अभिभावकलाई केही भयो भने पनि मेरो सन्तानलाई राज्यले हेर्छ भन्ने विश्वास हुन्छ । मेरी छोरीलाई न्याय गर्न पनि म फर्कनुपर्नेछ ।’
आज वा भोलि यो हरेक नेपालीको बाध्यता बन्दै गएको छ । देशको माया छ, तर राष्ट्रियतासँगै हरेक नागरिकका परिवारप्रति दायित्व पनि त छ । आज व्यक्तिगत र पारिवारिक दायित्वले नागरिक थिचिएका छन् । बाध्य छन् । राज्यले नागरिकको आधारभूत आवश्यकतालाई बुझ्दैन भने त्यो राज्य किन चाहियो ? एउटा ओपन सिक्रेटबारे पनि यहीँ बहस गरौँ ।
एउटा माथिल्लो तहको सरकारी कर्मचारी, जसले महिनाको ५० हजार कमाउँछ, उसले घरभडा तिरेर, दुई बच्चालाई ठिकठाकको स्कुलमा पढाएर, यो महँगीमा दुई छाक खाएर बाँच्न कसरी सम्भव छ ? यहाँ दुईवटा दृश्य छ, पहिलो यदि ऊ इमानदार छ भने उसले निकै कष्टकर जीवन बिताउँदै छ, जसको ऊ हकदार छैन । यदि ऊ इमानदार छैन भने उसले सीधा वा घुमाएर भ्रष्टाचार गर्दै छ । सरकारी अस्पतालको झ्यालबाट २३ दिनमा मैले धेरै कुरा देखेँ । मनमा धेरै कुरा खेल्यो । आफ्ना चार वर्षीय छोरा गुमाएर रातभरि रोइरहेकी आमाको पीडाले अस्पतालमा क–कसलाई छोयो थाहा छैन । तर, मलाई भने पिरोल्यो ।
अस्पतालमा मलाई भेट्न आउने मानिस प्रायः म सरकारी अस्पताल बसेकाले पो समस्या देखिएको हो कि भनेर मेरो सरकारी अस्पतालको बसाइप्रति असन्तुष्टि र सरकारी अस्पतालप्रति अविश्वास व्यक्त गर्थे । रौतहटबाट उपचार गर्न आएका नागरिकको कथा होस् वा अस्पतालकै अधिकांश नयाँ नर्स र डाक्टर नेपाल बस्न नचाहेको व्यथा, मेरा लागि अस्पताल बसाइ मेरो स्वास्थ्यसँग मात्र जोडिएको थिएन ।
तर, मैले त्यो २३ दिनमा अस्पतालमा सबैभन्दा बढी खोजेको भनेको समाजवाद हो । म समाजवादी हो वा होइन, मलाई थाहा छैन । यहाँ विभिन्न टोपी लगाएर समाजवादी कहलिएकाबीच मलाई धेरै खरानी घस्नु पनि छैन । तर, अस्पताल बस्दा मैले आफूलाई समाजवादी भन्ने नेताहरूलाई खुब सम्झिएँ । जसले संविधानमा समाजवाद लेखे । पार्टीको दस्ताबेज र घोषणापत्रमा समाजवाद लेखे । कार्यकर्ता उचालेर आन्दोलन गरे । युद्ध लडे । तर, समाजवाद ल्याउन सकेनन् । ल्याउन त परैको कुरा, आफूले के भन्न खोजेको हो, आफ्नालाई नै बुझाउनसमेत सकेनन् । बरु के बुझाए भने समाजवाद भनेको ‘चर्को नारा दिने, भोट ल्याउने, सत्तामा पुग्ने, जीवनभर कुनै रोजगारी नगर्ने, आफ्ना छोराछोरीलाई काठमाडौंकै महँगा स्कुलमा पढाउने अनि स्वास्थ्यमा केही समस्या आए भारत, चीन वा सिंगापुर जाने’ भन्ने बुझाए र समाजवादको हत्या गरे ।
आज हाम्रो देशमा भ्रष्टाचार मौलाउनु, बेरोजगारी बढ्नु, बिदेसिनु आदिको कारण खोज्दै जाने हो भने अन्तिममा गएर शिक्षा अनि स्वास्थ्यमै ठोकिन्छ । नेपालको संविधानमै समाजवादउन्मुख भनेर उल्लेख त गरिएको छ, तर संविधानमा समाजवाद लेख्दा नेताहरूले कि समाजवादको अर्थ बुझेका थिएनन्, कि उनीहरू नागरिकलाई ढाँटिरहेका थिए । कि उनीहरू समाजवाद ल्याउन अक्षम छन्, कि उनीहरू समाजवादबारे बोल्दा र लेख्दा ‘झ्याप’ थिए । यीबाहेक अर्को पाँचौँ अवस्था हुनै सक्दैन । त्यसैले कि समाजवाद गलत हो, कि यी समाजवादी कहलिएका नेता गलत हुन् ।
सामान्य भाषामा समाजवादले सक्ने अनि हुनेले मात्र होइन, सबैले बाँच्न पाउनुपर्छ भन्छ । राज्यले सबैलाई गरिखान सक्ने बनाउनुपर्छ भन्छ । यत्ति पनि नबुझ्ने नेताहरू कसरी समाजवादी हुन सक्छन् ? यदि बुझेका छन् भने यत्तिका वर्षमा समाजवादका निम्ति के गरे ? यदि बुझेका छन् अनि केही गर्न सकेनन् भने अक्षम भए कि भएनन् ? अक्षम हुन् भने उनीहरूलाई अब बिदा गर्ने कि नाइँ ? बिदा हुन मानेनन् भने लखेट्ने वेला अझै भएको छैन र ? समाजवाद सबैलाई शिक्षा अनि स्वास्थ्यमा समान पहुँच दिएर मात्र प्राप्त गर्न सकिन्छ । समाजवाद शिक्षा अनि स्वास्थ्यमा समेत लागू भएको छैन भने केमा चाहिँ लागू गर्न खोजिएको हो त ? शिक्षा अनि स्वास्थ्यको समेत दलाली गर्ने कस्तो समाजवादको परिकल्पना हो यो ? साम्यवाद अनि समाजवादकै नारा बोकेर हिँड्ने नेताहरूसँग आज त्यही समाजवादका न्यूनतम आधारका लागि जनता नै लड्नुपर्ने दिन आउनु हालको राजनीतिको अन्त्येष्टि भएबराबर हो । यो ओली, प्रचण्ड र देउवा युगको अन्त्य पनि हो ।
विश्व बैंकको सन् २०२० को तथ्यांकअनुसार स्वास्थ्यका निम्ति हुने कुल खर्चमध्ये नेपालीले आफ्नो खल्तीबाट ५४ दशमलव १७ प्रतिशत तिर्छन् । त्यही तथ्यांकअनुरूप विश्वका मानिसले औसत १६ दशमलव ३६ प्रतिशत मात्र खर्च गर्छन् । यो खर्च संसारभर घट्दो छ, तर नेपालमा भने बढ्दो छ । त्यस्तै, शिक्षातर्फ हुने कुल खर्चको झन्डै ५७ प्रतिशत रकम नेपाली जनताले आफ्नो खल्तीबाट तिर्ने गरेको विभिन्न तथ्यांकले देखाउँछन् । कमाएकोजति सबै शिक्षा अनि स्वास्थ्यमा खर्च गर्नुपरेपछि अब एउटा नागरिकले किन कर तिर्ने भन्ने प्रश्न उठ्न थालेको छ । नेतालाई पाल्न मात्र त अब नागरिक कर तिर्न राजी छैनन् । त्यसैले, बिदेसिँदै छन् । अब, कि बिदेसिनेको संख्या बढ्छ, कि देशमा विद्रोह हुन्छ ।
मेरो परिवार र आफन्तमध्ये आधा अब नेपालमा छैनन् । १२ सकेका युवासँग कुराकानी गर्छु, अधिकांश बाहिर जान चाहन्छन् । लाग्छ, अब कुनै दिन समाजवाद आयो भने पनि त्यो उपभोग गर्न कोही बाँकी हुन्नन् यहाँ । म भने अस्पतालको झ्यालबाट समाजवाद खोज्दाखोज्दै नपाएपछि बेड रेस्ट गर्न घर फर्किएँ । तर, मन र मस्तिष्कमा भने कुनै पनि नेपालीले शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपर्ने राजनीति गर्छु भन्ने थप अठोट बोकेर आएँ । अहिले भने बिदेसिनेको लर्कोमा होइन, विद्रोह गर्ने लर्कोमा उभिन आफ्नो खुट्टा दह्रो बनाउन घरमै आराम गर्दै छु ।
(पाण्डे विवेकशील साझा पार्टीका नेता हुन्)