कोसी प्रदेशका छैटौँ मुख्यमन्त्री उद्धव थापाले आगामी सोमबार विश्वासको मत लिने भएका छन् । १६ साउनमा दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थापाले ४ भदौमा विश्वासको मत लिने कार्यसूची तय भएको सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
थापाले ३ भदौमा विश्वासको मत लिने व्यवस्थाका लागि प्रदेश सभामा निवेदन दिएका थिए । तर, कार्यवाहक सभामुख सिर्जना दनुवारले उनलाई ४ भदौमा विश्वासको मत लिन समय दिएकी हुन् । सत्तास्वार्थमा दलहरू विभाजित हुँदा १५ असारदेखि अनिश्चितकालका लागि स्थगित भएको कोसी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक १ भदौदेखि सुरु भएको छ । तत्काल एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाएपछि १५ असारदेखि कोसी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

९३ सदस्यीय सभामा बहुमतको सरकारका लागि ४७ सांसद चाहिन्छ । हाल नियुक्त भएका कांग्रेसका मुख्यमन्त्री थापासँग कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका ४७ सांसदको समर्थन छ । यस्तोमा घटनाक्रमले नयाँ मोड नलिए मुख्यमन्त्री थापाले विश्वासको मत पाउनेछन् ।
थापा २१ असारमा पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । तर, त्यसक्रममा संविधानविपरीत सभामुखसमेतको हस्ताक्षर प्रयोग भएको भन्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चको आदेशमा ११ साउनमा थापा पदमुक्त भएका थिए ।
त्यसपछि सभामुखलाई राजीनामा गराई सत्तागठबन्धनले थापालाई दोस्रोपल्ट मुख्यमन्त्रीमा अघि सारेको हो । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम अहिले थापा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनाइएका छन् ।