प्रमाण नष्ट गर्न धमाधम क्वार्टरमा रंगरोगन गर्दै दमकका प्रमुख प्रशासकीय अधिकृत

आइतबार, १४ साउन, २०८०
डिजिटल संस्करण

नगरपालिकाले उपलब्ध गराएको क्वार्टरमै अनैतिक गतिविधि गर्ने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन् । क्वार्टरमै एक महिलासँग अनैतिक गतिविधि गरेको भिडियो बाहिरिएपछि नयाँ पत्रिका दैनिकले समाचार प्रकाशन गरेको थियो । 

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला

उक्त समाचारपछि निरौलाले नगरपालिका परिसरमा रहेको क्वार्टरमा आइतबार बिहानैबाट रंगरोगन सुरु गरेका छन् । घटना बाहिरिएपछि छानबिन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वार्टरस्थित बेडरुमको रंग परिवर्तन गरेका हुन् । 

प्रमुख प्रशासकीय अधिकृतको निर्देशनपछि प्रमाण नष्ट गर्न क्वार्टरमा धमाधम रंगरोगन गरिँदै ।

विगतमा रहेको हरियो रंग बदलेर उनले पहेँलो रंग लगाएका हुन् । उक्त कोठमा देखिएको एसीले भने ती महिलासँग अश्लील हर्कत गरेको कोठा नगरपालिकाकै क्वार्टर भएको पुष्टि हुन्छ । 

सार्वजनिक भएको भिडियोमा प्रमुख प्रशासकीय अधिकृतले एक महिलासँग मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गरेको भिडियोमा देखिन्छ । महिलाले भिडियो टिकटकमार्फत लाइभ गरेकी थिइन् । 

मदिराले लठ्ठ भएका निरौलाले लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । क्वार्टरबाटै अश्लील हर्कत बाहिरिएपछि उनको विरोध सुरु भएको छ । 

निरौलाले भने क्वार्टरमा नभई उक्त गतिविधि काठमाडौंको एक होटेलमा गरेको दाबी गर्दै आएका छन् । यद्यपि, क्वार्टरभित्र बेडरुमको रंग परिवर्तन संयोग मात्र भएको उनले बताए । ‘रंग परिवर्तन संयोग मात्र हो । अरू केही हाेइन । यो नियमित काम हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘रुममा मुसा गएर हैरान भएको थियो । त्यही भएर रंगरोगन गरेका हौँ । यसलाई अन्यथा नलिनुहोला ।’

रंगरोगन गर्नुअघि प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको क्वार्टर

यसबारे दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले यस विषयमा आफूलाई धेरै बोल्न नलगाउन भन्दै पन्छिए । मेयर थापाले कुरै नसुनी फोन काटेर सम्पर्क गर्न खोजेनन् । दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले क्वार्टरमा रंगरोगन गर्दै गरेको हल्ला सुन्नमा आएको र यसबारेमा सत्यतथ्य छानबिन गरेर दोषी देखिए कारबाही गरिने बताए । दमक नगरपालिकाले यसअघि प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा रंगरोगन गर्ने कुनै पनि निर्णय नगरेको प्रवक्ता दाहालले जानकारी दिए । 

सुझावित समाचार