घोप्टेभिरपछि तुइनखोलामा पनि पहिरो न्यूनीकरणको काम गरिने, नारायणगढ–मुग्लिन सडक फेरि दैनिक पाँच घण्टा बन्द

शुक्रबार, ११ मंसिर, २०८३
डिजिटल संस्करण

मकवानपुर । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोको जोखिम एकपछि अर्को स्थानमा देखिन थालेपछि सवारी आवागमन प्रभावित हुने भएको छ ।

यसअघि घोप्टेभिरमा लगातार सुक्खा पहिरो खसेपछि जोखिम न्यूनीकरणका लागि दैनिक पाँच घण्टा सडक बन्द गरिएको थियो । 

अहिले तुइनखोला सडकखण्डमा पहिरो रोकथामको काम गर्न फेरि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै मंसिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म नारायणगढ-मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरेको हो ।

यसअघि घोप्टेभिरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि जोखिम न्यूनीकरणका लागि भन्दै मंसिर ५ गतेदेखि सडक बन्द गर्ने निर्णय गरिएको थियो ।

जोखिमयुक्त ढुंगा तथा माटो हटाउन भन्दै प्रशासनले दैनिक पाँच घण्टा सवारी आवागमन रोकेको थियो । घोप्टेभिरमा पहिरो खस्दा सडक आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको थियो ।

घोप्टेभिरको समस्या कायमै रहेको अवस्थामा अहिले तुइनखोला सडकखण्डमा पनि पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएपछि नारायणगढ-मुग्लिन सडकमा पुनः आवागमन बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार केही समयदेखि स्थगित भएको नारायणगढ-मुग्लिन सडक आयोजनाअन्तर्गत तुइनखोलाखण्डमा पहिरो रोकथामको काम पुनः सुरु गर्न लागिएको छ । कामका क्रममा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।

यस व्यवस्थाअनुसार मंसिर १३ गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न पाइनेछैन । प्रशासनले सवारीचालक, यातायात व्यवसायी तथा यात्रुलाई समय व्यवस्थापन गरेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

यसैगरी, काठमाडौंबाट मुग्लिन हुँदै आँबुखैरेनी र पोखराखण्डमा चल्ने सवारीसाधनको आवागमन भने नियमित रहने प्रशासनले जनाएको छ ।

सुझावित समाचार