दीपक मलहोत्रा अनुसन्धानमा तानिने चार आधार

शुक्रबार, ५ साउन, २०८०
डिजिटल संस्करण

यी हुन् दीपक मलहोत्रा अनुसन्धानमा तानिने मुख्य चार आधार

१. सुन कारोबारमा बदनाम विगत 
व्यवसायी दीपक मलहोत्रा विगतदेखि नै अवैध सुन कारोबारमा जोडिँदै आएका छन् । ०५६ मा संसदीय विशेष समितिले नै उनीसहितका व्यापारी सुन तस्करीमा संलग्न रहेकाले थप छानबिन गरी कारबाही गर्न सिफारिस गरेको थियो । ०७४ मा गृह मन्त्रालयले गठन गरेको विशेष समितिले पनि अवैध सुन कारोबारमा मलहोत्राको संलग्नता रहेको प्रतिवेदन तयार गरेको थियो । पछिल्लोपटक चूडामणि उप्रेती ‘गोरे’को समूहसहितको संलग्नतामा भएको करिब ३८ सय किलो सुन तस्करीमा पनि मलहोत्राको नाम जोडिएको थियो । 

२. प्रहरीदेखि राजनीतिज्ञसम्म बलियो पहुँच
सानातिना व्यापारीले एकैपटक यति ठूलो परिमाणमा सुन तस्करी गर्न सक्दैनन् । उच्च तहको राजनीतिक पहुँच, प्रहरी र निजामतीमा निकटताका आधारमा सबैतिर सेटिङ मिलाउन सक्ने क्षमता भएकाले पनि मलहोत्रामाथि छानबिन केन्द्रित छ । उनको सबै दलका उच्च तहका नेतृत्वसँग पहुँच छ । कतिसम्म भने गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष समितिले मलहोत्रा पनि तस्करीमा संलग्न रहेको प्रतिवेदन तयार गरेको थियो । तर, उनको पहुँचकै बलमा प्रतिवेदन अहिलेसम्म थन्किएको छ । कतिपय अवस्थामा त मलहोत्राले भन्सारलगायतका कार्यालयमा आफूअनुकूल कर्मचारी पठाउनेसमेत गरेको जानकारहरू बताउँछन् । 

३. यति धेरै सुन ल्याउन सबैले पैसा जोहो गर्न सक्दैनन्
एकैपटकमा त्यति ठूलो परिमाणमा सुन ल्याउन सामान्य व्यवसायीले पैसा जुटाउन सक्दैनन् । राजस्व विभागका एक अनुसन्धान अधिकृतका अनुसार पैसाको जोहो गरिहाले पनि पहुँच नभएको र सेटिङ मिलाउन नसक्ने व्यवसायीले सुन ल्याउने जोखिम मोल्दैनन् । पुराना अनुभवी कारोबारीले मात्रै त्यस्तो आँट गर्छन् । यसकारण पनि मलहोत्रा अनुसन्धानको दायरामा छन् । 

४. अन्तर्राष्ट्रिय विमानस्थलभित्र मलहोत्राको सञ्जाल
विमानस्थलभित्रैसम्म व्यवसायी मलहोत्राको कम्पनीको रजगज छ । उनको कम्पनी आइएमएस एयरपोर्ट सर्भिसले विमानस्थलको नयाँ आगमन कक्ष, पार्किङ नै लिजमा चलाउँदै आएको छ । यसले विमानस्थलको सुरक्षामा जोखिम पुगेको रिपोर्ट विगतदेखि नै सुरक्षा निकायले दिँदै आएका छन् । तर, मलहोत्राको राजनीतिक पहुँचका कारण त्यसमा सुनुवाइ नै हुँदैन । यसबाहेक अन्तर्राष्ट्रिय विमानस्थलको स्टेराइल क्षेत्रमा पनि उनीनिकट व्यवसायीले पहुँचका भरमा पसल चलाउँदै आएका छन् । संवेदनशील क्षेत्र विवादास्पद व्यवसायीलाई लिजमा दिएको विषयमा विगतदेखि नै प्रश्न उठ्दै आएको छ । 

सुझावित समाचार