नेपाली युवाहरूको अस्वाभाविक मृत्युको कारणमध्ये मोटरसाइकल दुर्घटना प्रमुख बनिरहेको एक अध्ययनले देखाएको छ । ०७९ वैशाखदेखि ३१ असार (तीन महिना)सम्म डा. पुष्पराज पन्त, डा. सामना अर्याल, इन्जिनियर सुयोग खनाल, सुवास भट्टराई र ईश्वरबल्लभ उप्रेतीको टोलीले गरेको अध्ययनले यस अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेको उल्लेख छ । दुर्घटनमा घाइते हुनेमा पनि युवाहरू नै धेरै रहेको पाइएको छ ।
अध्ययन प्रतिवेदनअनुसार मोटरसाइकल दुर्घटनामा भएको मानवीय हताहत र भौतिक क्षति डरलाग्दो छ । मोटरसाइकल दुर्घटनामा पर्नेमध्ये १८ देखि २५ वर्ष उमेरसमूहका धेरै रहेका छन् । उनीहरूमध्ये अधिकांशको टाउकोमा गहिरो चोट लाग्ने गरेको अध्ययनले देखाएको छ । नासा नेपाल नामक संस्थाले विज्ञहरूलाई खटाएर गरेको अध्ययनअनुसार हेलमेटको सही प्रयोग नगर्नु, गुणस्तरहीन हेलमेट प्रयोग, तीव्र गति, सडकको अवस्थालगायतले धेरै दुर्घटना हुने गरेको देखाएको छ ।
यसरी गरिएको थियो अध्ययन
अध्ययन टोलीले काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर, सहिद स्मारक र मनमोहन मेमोरियल अस्पतालमा दुर्घटनापश्चात् उपचारका लागि पुगेका बिरामीहरूको रेकर्ड र विवरणलाई आधार मानेर अध्ययन गरेको थियो । अध्ययन अवधि तीन महिनामा उपचाररत बिरामी, पुरानो रेकर्ड र दैनिक तथ्यांक हेरिएको थियो । यस अवधिमा ट्रमा सेन्टरमा मोटरसाइकल दुर्घटनाबाट घाइते भएका दुई सय चार पुरुष, ५४ जना महिला गरी कुल दुई सय ५८ जना उपचारका लागि पुगेका थिए । सोही अवधिमा सहिद मेमोरियल अस्पतालमा एक सय २७ पुरुष र २१ जना महिला गरी एक सय ४८ जना उपचारका लागि भर्ना भएका थिए ।
यस्तै, मनमोहन अस्पतालमा ११ जना पुरुष र दुईजना महिला गरी १३ जना मोटरसाइकल दुर्घटनाबाट घाइते भएका बिरामी उपचार गर्न पुगेका थिए । दुर्घटनामा घाइते भई उपचारका लागि अस्पताल भर्ना भएका चार सय १९ मध्ये तीन सय ४९ जना मोटरसाइकलचालक थिए भने ४४ जना बटुवा र २६ जना पछाडि सवार यात्रु थिए । अध्ययनकर्ता पुष्पराज पन्तका अनुसार यीमध्ये अघिकांशको टाउकोमा चोट लागेको थियो । उनका अनुसार चार सय १९ मध्ये ६७ जनाको टाउकोमा गम्भीर चोट लागेको थियो ।
६७ जनामध्ये २७ जना मोटरसाइकलको पछाडि बस्नेहरू थिए । जसले हेलमेट प्रयोग गरेका थिएनन् । ‘मोटरसाइकल दुर्घटनामा सबैभन्दा बढी चोटपटक टाउकोसँग सम्बन्धित नै हुने गरेको छ, अध्ययनले पनि त्यही देखाएको छ,’ अध्ययनकर्ता पन्तले भने, ‘कतिपय चालकले प्रयोग गरेको हेलमेट गुणस्तरीय नहुँदा पनि दुर्घटनामा धेरै चोटपटक लाग्ने गरेको छ ।’ उनका अनुसार चोटपटकका चार सय १९ जनामध्ये पाँचजना बालबालिकासमेत थिए ।
अध्ययनले पछाडि बस्नेहरूले समाउन मिल्ने गरी मोटरसाइकलको बनावट हुनुपर्ने सुझाव दिएको छ । पछाडि बस्ने २७ यात्रुमध्ये १५ जनामा टाउको भित्री समस्या देखिएको छ । उनीहरूमा मस्तिष्कघात वा भित्री चोट लागेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । अध्ययनमा ९१.७ प्रतिशत १८ देखि २५ वर्ष उमेरसमूहका युवाहरू रहेको र हेलमेट गुणस्तर नहुँदा टाउकोमा चोटपटक लागेको देखिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को ०१८ को प्रतिवेदनअनुसार विश्वमा प्रतिवर्ष १.३५ प्रतिशतको मोटरसाइकल दुर्घटनाका कारण मृत्यु हुने गरेको छ । अध्ययनअनुसार विश्वमा प्रत्येक वर्ष सवारीसाधन दुर्घटनाबाट ५० लाखभन्दा बढी चोटपटकसम्बन्धी घटना हुने गरेका छन् । तर, सबैभन्दा बढी मोटरसाइकल चल्ने र नेपालजस्ता देशमा मोटरसाइकल सवारी दुर्घटना बढी भएको पाइएको छ ।
सवारीसाधन दुर्घटनामा मोटरसाइकलको हिस्सा ६५ प्रतिशत
नेपाल प्रहरीको तथ्यांकअनुसार कुल सवारी दुर्घटनामध्ये ६५ प्रतिशत मोटरसाइकलबाट हुने दुर्घटना छ । नेपालमा यातायातको प्रमुख माध्यम मानिएको मोटरसाइकल दुर्घटनाका कारण सबैभन्दा धेरै युवा पर्ने गरेका छन् । सार्वजनिक यातायात भरपर्दो नहुँदा नेपालमा मोटरसाइकल प्रमुख विकल्प बनिरहेको छ । यातायात व्यवस्था विभागका अनुसार वार्षिक तीन लाख नयाँ मोटरसाइकल दर्ता हुने गरेका छन् । तर, अध्ययनअनुसार नेपालमा मोटरसाइकलको यात्रा दक्षिण एसियामै सबैभन्दा असुरक्षित मानिएको छ । यही कारण हरेक वर्ष कैयौँ नेपाली युवाले अस्वाभाविक मृत्युवरण गरिरहेका छन् ।
पछाडि बस्नेले पनि हेलमेट लगाउन सुझाव
अध्ययनले मोटरसाइकलको पछाडि बस्नेले पनि हेलमेटको प्रयोग गर्नुपर्ने निष्कर्ष निकालेको छ । अध्ययन टोलीका सदस्यले अस्पतालमा पुगेर बिरामीलाई प्रश्न गरेका थिए । गम्भीर तथा बोल्न नसक्ने बिरामीको विवरण अस्पताल प्रशासनसँग लिएको थियो । यसबाहेक नेपालमा पाइने अधिकांश हेलमेट नक्कली भएकाले त्यसले दुर्घटनामा टाउकाका लागि थप असर पार्ने अध्ययनकर्ता पन्तको भनाइ छ । उनले बलियो र गुणस्तर हेलमेट प्रयोग गर्दा दुर्घटनाबाट जोगिन सक्ने सम्भावना बढी हुने बताए । ‘हाल नेपालमा नक्कली हेलमेट बढी छन्, तर यसले टाउकोलाई सुरक्षित गर्दैन,’ उनले भने, ‘त्यसकारण गुणस्तर हेलमेटको प्रयोग गर्नुपर्छ, यसो गर्दा टाउको सुरक्षित हुन्छ ।’
यसकारण मोटरसाइकल दुर्घटना धेरै
अध्ययनकर्ता पन्तका अनुसार मोटरसाइकल दुर्घटना कम गर्नका लागि ‘एन्टी लक ब्रेकिङ सिस्टम’ (एबिएस) प्रयोग गर्नुपर्छ । यस्तो प्रकारको ब्रेकले मोटरसाइकल तीव्र गतिमा भए पनि एक्कासि लड्न दिँदैन । बिस्तारै मोटरसाइकल रोकिन्छ । तर, नेपालमा गुड्ने अधिकांश मोटरसाइकलमा यस्तो प्रकारको ब्रेकिङ सिस्टम छैन । जसका कारण इमर्जेन्सी ब्रेक लगाउँदा मोटरसाइकल गम्भीर दुर्घटनामा पर्छ ।
यस्तै, मोटरसाइकलको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने तथ्य अध्ययनले देखाएको छ । पछाडि बस्नेले हेलमेट नलगाउँदा टाउकोमा चोट लागेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर मोटरसाइकलको संख्या २५ लाख छ । यो कुल सवारीसाधनको ७० प्रतिशतभन्दा बढी हो । यसमध्ये करिब सात लाख हाराहारी मोटरसाइकल काठमाडौं उपत्यकामा गुड्छन् ।
उपत्यका ट्राफिक प्रहरीका अनुसार उपत्यकामा जाम र दुर्घटनाको मुख्य कारण पनि मोटरसाइकल नै हो । आर्थिक वर्ष ०७९/८० मा उपत्यकामा चार सयभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् भने त्यसबाट २४ जनाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरीका अनुसार मोटरसाइकल तथा अन्य सवारी दुर्घटना उपत्यकाबाहिर अझ बढी हुने गरेको छ ।