रैथाने विश्वविद्यालय सञ्चालनको तयारी

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण
रैथाने विश्वविद्यालय सञ्चालनको तयारी

पर्यटनमन्त्री सुदन किराँतीलाई रैथाने विश्वविद्यालय सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन बुझाउँदै रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठानका पदाधिकारी ।

रैथाने संस्कृति र सभ्यतालाई सम्बोधन गर्न अघि बढाइयो मौलिक सीप र कलामा आधारित विश्वविद्यालयको योजना

रैथाने सीप र प्रविधिको सस्ंथागत विकासका लागि सरकारले रैथाने विश्वविद्यालय सञ्चालनको तयारी गरेको छ । हाल मुलुकमा स्थापित विश्वविद्यालयले रैथाने सीप, कला र संस्कृतिलाई सम्बोधन गर्न नसकेको भन्दै मौलिक ज्ञान, कला, सीप, संस्कृति र सम्पदा जगेर्ना गर्न यस्तो विश्वविद्यालय सञ्चालनको तयारी गरिएको हो । 

विश्वका धेरै देशले आफ्नो देशको मौलिकता र रैथाने संस्कृतिमा आधारित विश्वविद्यालय सञ्चालन गरिरहेका छन् । तर, नेपालमा भने त्यसको अभ्यास सुरु भएको छैन । हाल अमेरिका, युरोपेली मुलुक र छिमेकी देश भारतमा पनि रैथाने सीपसँग सम्बन्धित विश्वविद्यालय सञ्चालनमा छन् । सोही विषयलाई आत्मसात् गर्दै नेपालका रैथाने विषयको प्रवद्र्धन र जगेर्ना गर्न सरकारले रैथाने विश्वविद्यालयको अवधारणा अघि सारेको हो । 

नेपाल हाल स्वदेशी ज्ञान, सीप, संस्कृति र समग्र सम्पदामा धनी मानिए पनि यसमा केन्द्रित प्राज्ञिक संस्था स्थापना हुन सकेका छैनन् । अहिले नेपालमा भइरहेको आधारभूत र उच्च शिक्षा आयातीत ज्ञानबाट सुरु भएको पाइन्छ । यी विश्वविद्यालयले रैथाने संस्कृति र सभ्यतालाई सम्बोधन गरेको पाइन्न । सोहीकारण रैथाने सीप र कलामा आधारित विश्वविद्यालयको योजना अघि बढाइएको हो । नेपालमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बालबालिकालाई अंग्रेजी पढाउने उद्देश्यले औपचारिक रूपमा प्राथमिक शिक्षाको सुरुवात गरेका थिए । नेपालमा पहिलो उच्च शैक्षिक संस्था त्रिचन्द्र कलेजमा सन् १९१९ मा कोलकाता र पटना विश्वविश्वविद्यालयका पाठ्यक्रम निर्धारण गरिएका थिए । त्यसपछि त्रिभुवन विश्वविद्यालयको स्थापनापछि आधुनिक शिक्षा दिन थालिएको हो । बाह्य शिक्षाको क्रेज बढ्दै गइरहे पनि नेपालकै आफ्नै मौलिक कला, संस्कृति र सीपलाई शिक्षामा समेट्न सकिएको छैन । 

रैथाने विश्वविद्यालय सञ्चालनका सम्बन्धमा गत ९ चैतमा रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठानकै पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्रीस्तरीय बैठक बसेको थियो । बैठकले रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना सम्भाव्यता अध्ययनका लागि २० चैतमा पाँच सदस्यीय ‘रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय अध्ययन समिति गठन गरेको थियो । पूर्वसचिव तथा प्रतिष्ठानका अध्यक्ष डा. मानबहादुर विश्वकर्माको संयोजकत्वमा बनेको समितिमा राजन मुकारुङ, भोगीराज गिरी, गीता चौधरी, डा. सुरेश श्रेष्ठ सदस्य छन् । अध्ययन समितिका संयोजक विश्वकर्माका अनुसार यो विश्वविद्यालय सबै जातजाति, समुदायका आफ्नो मौलिकता र रैथाने वस्तु खोज्ने, त्यसमा रोजगार दिने र जगेर्ना गर्ने विश्वविद्यालयका रूपमा रहनेछ । ‘नेपालमा छरिएर रहेका संस्कृति र मौलिकतालाई यो विश्वविद्यालयले एकीकृत गर्छ,’ विश्वकर्माले भने, ‘यो बहुसांस्कृतिक विश्वविद्यालयका रूपमा रहनेछ ।’ उनले यो विश्वविद्यालयले रोजगार सिर्जना गर्ने भएकाले वैदेशिक रोजगारमा जानेहरूको संख्या पनि घट्न सक्ने दाबी गरे ।

समितिले २९ जेठमै त्यसबारे अध्ययन गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई प्रतिवेदन बुझाइसकेको छ । अध्ययन प्रतिवेदनले ‘आफ्नो माटो चिनौँ, रैथानेमा गर्व गरौँ’ भन्ने नारासहित विश्वविद्यालयको आवश्यकता, औचित्यता र महत्वबारे अध्ययन गर्दै स्थापना गर्नुको औचित्यसमेत रहेको निष्कर्ष निकालेको छ । ‘यस्तो प्रकारको विश्वविद्यालयले मानव विकासको नोक्सानीलाई दिगो रूपमा अन्त्य गर्ने तथा मुलुकको मौलिक सीप, कला, ज्ञान, संस्कृति र सम्पदाको जगेर्ना गर्ने शिक्षा प्रणालीको खाँचो पूरा गर्नेछ,’ समितिले तयार पारेको अध्ययन प्रतिवेदनको निष्कर्षमा भनिएको छ,’ यसले विभिन्न समुदायगत तथा विधागत रूपमा माग गरिएका विश्वविद्यालयहरूको एकमुस्ट सम्बोधन गर्नेछ ।’ 

यसरी सञ्चालन हुनेछ विश्वविद्यालय 
रैथाने विश्वविद्यालय समुदायमा आधारित गुठियारी ढाँचामा स्थापना हुनेछ । जसमा केन्द्र, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न सामुदायिक संघसंस्था, व्यक्ति र व्यावसायिक प्रतिष्ठानहरूले यसलाई चलाउन सक्नेछन् । यो विश्वविद्यालयअन्तर्गत हरेक प्रदेशमा एक विभाग वा महाविद्यालय सञ्चालन गरिनेछ । त्यस्तै, स्थानीय तहमा रैथाने शिल्पकला तथा संस्कृति सिकाइ केन्द्रहरू स्थापना हुनेछन् । त्यहाँ सम्बन्धित रैथाने समुदाय सिकाइको मुख्य स्रोत हुनेछन् । ती समुदायका अगुवा वा अभ्यासकर्ता यसको आधारभूत स्रोतव्यक्ति पनि हुनेछन् । यो विश्वविद्यालय स्थापना भएर शिक्षण सिकाइ कार्य सुरु भएपछि ‘रमाउँदै सिक्दै, सिक्दै कमाउँदै’को अवधारणा अबलम्वन गरिनेछ । यो विश्वविद्यालयले अन्य विश्वविद्यालयले जसरी सैद्धान्तिक ज्ञानभन्दा पनि नियमित कार्यशाला र मूल्यांकन विधिबाट पढाउनेछ । यसमा सीप तथा सामथ्र्यका आधारमा विद्यार्थीको मूल्यांकन हुनेछ । 

राष्ट्रिय सभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित
राष्ट्रिय सभाले ‘नेपाल विश्वविद्यालय विधेयक– २०७९’ पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सोमबार सो विधेयक पारित गरियोस् भनी राखेका प्रस्ताव बहुमतले पारित गरेको हो । बैठकमा सांसदहरूले आवश्यकता र औचित्यका आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका छन् ।

के हो रैथाने विश्वविद्यालय ?
रैथाने विश्वविद्यालय नेपाली मौलिकता खोज्ने र त्यसमै आत्मनिर्भर गराउने विश्वविद्यालय हो । कुनै पनि ठाउँको पहिलेदेखिको वा पुरानो वस्तु वा बासिन्दालाई रैथाने भनिन्छ । नेपालमा आदिमकालमा विकास भएका मानव समूह, पशुपक्षी तथा वनस्पति र सभ्यता विकासका क्रममा सिर्जित भएका ज्ञान, कला, सीप, संस्कृति र प्रणालीलाई यस्तो विश्वविद्यालयले अध्ययन तथा पठनपाठनको विषय र क्षेत्र बनाउनेछ । साथै, नेपालको विभिन्न क्षेत्रमा बसोवास गर्ने जातजाति, समुदाय र उनीहरूसित सम्बन्धित मौलिक, ज्ञान, कला, सीप, संस्कृति, भाषा, सभ्यता आदि विषयलाई विश्वविद्यालयमा अध्ययन तथा अनुसन्धानको विषय बनाइनेछ । सरकारले यसअघि ०६७ मा राष्ट्रिय संस्कृति नीति, २०७५ मा उच्च शिक्षा आयोगको प्रतिवेदन र राष्ट्रिय शिक्षा नीति ०७६ मा रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना गर्ने व्यवस्था गरिएको छ । त्यसलगत्तै सरकारी निकायले त्यससँग सम्बन्धित विश्वविद्यालय सञ्चालनका लागि जानकार तथा सरोकारवालाहरूसँगको छलफल र बैठकपछि रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नाम राखी विश्वविद्यालय स्थापानका लागि दबाब दिँदै आएका थिए । 

सुझावित समाचार