सुरक्षा अधिकारीको हत्या अभियोगमा साउदी अरबमा तीनजनालाई मृत्युदण्ड

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतंकवादी समूह’ खडा गरेको अभियोगमा आइतबार आफ्ना तीन नागरिकलाई मृत्युदण्ड दिएको छ।

एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन्, जसमा २० जना आतंकवादसँग सम्बन्धित अपराधमा संलग्न रहेको बताइएको छ। साउदी अरबको गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै तीनैजनाले राजधानी रियादमा एक अधिकारीको हत्या गरेको र उनको गाडीमा आगो लगाएर शव जलाएको जनाएको छ।

उनीहरूलाई आतंकवादलाई आर्थिक सहयोग गरेको र हातहतियार, गोलाबारुद र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री राखेको अभियोगमा पनि दोषी ठहर गरिएको मन्त्रालयले जनाएको छ । अधिकारीहरूले आइतबार रियादमा मृत्युदण्डको सजाय सुनाएको मन्त्रालयले जनाएको छ ।

उक्त वक्तव्यमा प्रयोग गरिएको विधिबारे केही उल्लेख गरिएको छैन। तर, राज्यले प्रायजसो टाउको छेदन गरी मृत्युदण्ड दिने गरेको छ । यस वर्ष ‘आतंकवाद’का लागि सबैभन्दा बढी मृत्युदण्ड सुन्नी मुस्लिम राज्यको पूर्वी क्षेत्रमा भएको छ, जहाँ शिया अल्पसंख्यक समुदायको बाहुल्य छ ।

गत महिना साउदी अरबले दुई बहराइनीलाई पनि आतंकवादसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिएको थियो । साउदी अरब विश्वकै सबैभन्दा धेरै मृत्युदण्ड दिने मुलुकमध्ये एक हो । गत वर्ष आतंकवादसँग सम्बन्धित अपराधमा एक सय ४७ जनालाई मृत्युदण्ड दिइएको थियो, जसमध्ये ८१ जना एकै दिन मारिएका थिए । सामूहिक मृत्युदण्डको घटनाले अन्तर्राष्ट्रिय स्तरमा आक्रोश उत्पन्न गरेको थियो ।

सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिइएको बेलायतस्थित रिप्रिभ र युरोपियन साउदी अर्गनाइजेसन फर ह्युमन राइट्सले यसै वर्षको सुरुमा प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

सुझावित समाचार