पेरिस सेन्ट जर्मेन (पिएसजी)को कारबाहीमा परेका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी सोमबारदेखि प्रशिक्षणमा फर्किएका छन् । मेसीले पिएसजीका सीमित खेलाडीसँग प्रशिक्षण गरेका छन् । यति वेला मेसी पिएसजीको कारबाहीमा छन् । आफूआबद्ध क्लब पिएसजीलाई जानकारी नदिई साउदी अरेबियामा बिदा मनाउन पुगेपछि मेसी कारबाहीमा परेका हुन् । पिएसजीले मेसीलाई दुई साता प्रशिक्षण गर्न नपाउने भनी कारबाही गरेको छ । गत शुक्रबार मेसीले आत्मालोचना गर्दै क्लब र समर्थकसँग माफी मागेका थिए ।
मेसीले आफूबाट गल्ती भएको र आउँदा दिनमा यस्ता गतिविधि नहुने विश्वास दिलाएपछि पिएसजी लचिलो भएको हो । पिएसजीले सोमबार दिउँसोदेखि नै मेसीलाई अन्य खेलाडीसँगै प्रशिक्षण गर्न अनुमति दिएको छ । पिएसजीले आइतबार राति फ्रेन्च लिग वानमा ट्रोयसलाई ३–१ ले हराउँदा मेसीले प्रतिस्पर्धा गरेका थिएनन् । ३५ वर्षीय मेसी छिटै खेलमा फर्किने विश्वास गरिएको छ ।
अहिले पिएसजीले शीर्ष स्थानमा लेन्समाथि ६ अंकको अग्रता लिएको छ । लिग वानमा पिएसजीले चार खेल खेल्न बाँकी छ । साउदी अरेबियाको पयर्टक सद्भाव राजदूत भएबापत मेसीले प्रतिवर्ष २५ लाख मिलियन पाउन्ड पाउँछन् । साउदी अरेबियाले कुनै पनि समयमा पर्यटनसम्बन्धी प्रचार प्रसार गर्न मेसीलाई बोलाउन सक्ने सम्झौता गरेको छ । गत साता मेसीले आफ्नी श्रीमती रोकुजासाथै बच्चाहरू सिरो तथा माटेओसँगै साउदी अरेबिया भ्रमण गरेका थिए ।
मेसीले साउदी अरेबिया पुगेलगत्तै परिवारसँगै राजधानी रियादको फोटो सोसल मिडियामा पोस्ट गरे । त्यसपछि मात्र पिएसजीले मेसी साउदी अरेबिया पुगेको थाहा पाएको थियो । मेसी अनधिकृत रूपमा साउदी अरेबिया पुगेको र क्लबको प्रोटोकल तोडेको ठहर पिएसजीको छ । मेसीले आफ्ना बुबासँग कुराकानी गर्दै क्लबसँग माफी मागेको एजेन्सीले जनाएको छ ।