पर्साका आधा दर्जनभन्दा बढी पालिका अधिकृतले चढ्छन् महँगाे भाडाका स्कारपियाे

बिहिबार, २१ बैशाख, २०८०
डिजिटल संस्करण
पर्साका आधा दर्जनभन्दा बढी पालिका अधिकृतले चढ्छन् महँगाे भाडाका स्कारपियाे

परवानीपुर गाउँपालिकाका प्रशासकीय अधिकृत मुन्ना रौनियारले प्रयाेग गर्दै आएकाे भाडाको स्कारपियाे। तस्बिर : तिवारी यादव/नयाँ पत्रिका

पर्साका आधा दर्जनभन्दा बढी पालिकाका प्रमुख प्रशासकीय अधिकृतले भाडामा लिएर गाडी प्रयोग गर्दै आएका छन्। १४ वटा पालिका रहेको पर्सामा सातजना प्रमुख प्रशासकीय अधिकृतले भाडामा लिएर गाडी प्रयोग गर्दै आएका छन्।

पर्सामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ वटा पालिका छन्। जसमध्ये वीरगन्ज महानगरपालिका, पोखरीया नगरपालिका, पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिका, बिन्दबासिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका, ठोरी गाउँपालिकाबाहेकका सबै पालिकाका अधिकृत भाडामा लिएर गाडी प्रयोग गर्दै आएको स्थानीय बताउँछन्। 

वीरगन्ज, पोखरीया, बहुदरमाई र पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले पालिकाकै सरकारी र प्राइभेट नम्बरको गाडी प्रयोग गर्छन्।

यीबाहेक ठोरी, विन्दवासिनी र छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले पालिकाको सरकारी मोटरसाइकल प्रयोग गर्छन्।

स्थानीयहरूका अनुसार पालिका प्रशासकीय अधिकृतले बाध्यताले नभई आफ्नो सुविधाका लागि भाडामा लिएर गाडी प्रयोग गर्दै आएका छन् ।

कुन–कुन पालिकाका अधिकृतले प्रयोग गर्छन् भाडाका गाडी ? 

भाडाको गाडी प्रयोग गर्नेमा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अधिकांश छन्।

जिल्लाको कालिकामाई गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत अमित गिरी, पकाहामैनपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज कुसवाह, पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, धोबिनी गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत महम्द नवाज हुसेनले भाडाको गाडी प्रयोग गर्दै आएका छन्।

यस्तै, सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साह, जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले पनि भाडाको गाडी प्रयोग गर्दै आएका छन्। उनीहरूले महँगो भाडाको स्कारपियो गाडी प्रयोग गर्दै आएका छन्। 

भाडामा मात्र मासिक एक लाखभन्दा बढी 

पालिकाका कर्मचारीका अनुसार पालिकाका प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको गाडीको मासिक भाडा एक लाखभन्दा बढी छ। एउटा स्कारपियो गाडीले इन्धनबाहेक साढे चार हजार देखि पाँच हजारसम्म रकम लिने गरेको कर्मचारी बताउँछन्। 

पालिका प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेदेखि नै गाडी भाडामा लिएर प्रयोग गर्दै आएका छन्। उनीहरूले पालिकाको काममा मात्रै नभएर घरायसी प्रयोजनका लागि पनि  गाडी प्रयोग हुँदै आएको कर्मचारीले बताए। 

प्रमुख प्रशासकीय अधिकृतको गाडीको खर्च देखेर स्थानीय चिन्तित ?

बहुदरमाई नगरपालिकानिवासी राकेश पटेलले पालिकालाई बनाउने भनेर आएका जनप्रतिनिधि र कर्मचारीले सोचेअनुसारको काम नगरेकाे गुनासो गरे। उनले प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको गाडीको मासिक भाडा सुनेरै तर्सिएको बताए। 
 
पकाहा मैनपुर गाउँपालिकाका अकलेश साहले एक प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडीको  खर्चले पालिकामा आर्थिक भार थपिएको प्रति चिन्ता व्यक्त गरे। 

उनले एक वर्षमा १५ लाख मात्र भाडाको गाडीमा खर्च गर्दा पालिकाको विकास होइन विनाश हुने बताए। एक पालिका प्रमुखले सरकारी मोटरसाइकल हुँदाहुँदै प्रमुख प्रशासकीय अधिकृतले भाडामा गाडी लिने गरेकोमा दुःख व्यक्त गरे। 

उनले भने, ‘अफिसमा सरकारी मोटरसाइकल छ। तर, हाकिम साबहरूलाई स्कापियाे नै चाहिन्छ। सेवाग्राहीको कामभन्दा आफ्नै सेवा–सुविधामा उहाँहरू बढी केन्द्रित हुनुहन्छ।’

कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले पालिकामा जिम्मेवारी सम्हालेको समयदेखि भाडाको गाडी प्रयोग गर्दै आएको बताए।

उनले पालिकाको कार्यालय टाढा भएकाले निर्णय गराएरै भाडाको गाडी चढ्दै आएको स्विकारे। उनी भाडामा स्कारपियो गाडी चढ्दै आएका छन्।
 

सुझावित समाचार