रासायनिक होइन, प्रांगारिक मलतर्फको यात्रा

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण

अर्थ संवाद

रासायनिक मलले दीर्घकालमा उत्पादन क्षमता घटाउनुका साथै माटो र मानव स्वास्थ्यमा समेत असर पार्छ 

नेपाललाई कृषिप्रधान देश भनिन्छ । जनसंख्याको ठूलो हिस्सा कृषिमा आश्रित छ । घरमा गाई, भैँसीलगायत बस्तुभाउ पालेका छौँ, तर पनि हाम्रो ध्यान रासायनिक मलमै केन्द्रित हुन्छ/छ । हामी रासायनिक मलका लागि घन्टौँ लाइन लागेर बस्नुपर्ने बाध्यात्मक अवस्था छ । 

किसानहरूको मनोविज्ञान नै यस्तो बन्दै गइरहेको छ कि रासायनिक मलविना हाम्रो बाली उत्पादन नै हुन सक्दैन । यद्यपि, अहिलेको सामाजिक चेतको विकास र आधुनिक समयले हामीलाई रासायनिक मलको प्रयोग हानिकार रहेछ भनेर पनि सन्देश दिँदै आइरहेको छ, जुन हाम्रो लागि सकारात्मक संकेत हो । मुख्य कुरा त हाम्रो नीतिले, हाम्रो परम्परागत ढर्राले पनि युरिया मलको आवश्यकतालाई बाध्यात्मक बनाइदिएको छ । जसले गर्दा हामीलाई रासायनिक मलको प्रभाव र प्रांगारिक मलको लाभका बारेमा बुझ्न समय लागेको हो । 

जनताका प्रतिनिधिहरू जनताका आवश्यकता, समस्या तथा चाहनाका विषयमा छलफल गर्ने थलो संसद् हो । हाम्रो संसद्मा रासायनिक मल अभाव भयो, किसानले दुःख पाए भनेर छलफल हुन्छ । तर, प्रांगारिक मललाई कसरी प्राथमिकता दिने, किसानको पहुँचसम्म कसरी पुर्‍याउने, हाम्रो स्रोत साधनको प्रयोग कसरी गर्ने भनेर छलफल किन हुँदैन ? हाम्रो आफ्नै मौलिक वस्तुलाई प्रयोग गर्ने हो भने हामी रासायनिक मलको विकल्पमा आन्तरिक मल नै धान्न सक्ने अवस्थामा पुग्न सक्छौँ । अहिले हामीले अर्गानिक खेतीतर्फ जोड दिने हो भने महत्वपूर्ण ढंगले सरकारको नीतिमा बहस हुन आवश्यक छ । 

हामी एकैपटक प्रांगारिक मलमा जान सक्दैनौँ होला, तर बिस्तारै एकाध वर्षमा लैजान र सिंगो देशलाई नै रासायनिक मलमुक्त देश बनाएर पूरै अर्गानिक खेतीतर्फ लैजान हामीलाई कसले रोेकेको छ ? हरेक वर्ष रासायनिक मलको नाममा हाम्रो अर्बौं रुपैयाँ बाहिरिएको अवस्था छ । त्यो पैसालाई आधा मात्र यस क्षेत्रमा खर्च गर्ने हो भने आज किसानले घन्टौँ लाइन लागेर बस्नुपर्दैन र नेताहरूले पनि मलको राजनीति गर्नैपर्दैन भन्ने मलाई लाग्छ । हामी हाम्रो प्रविधिमार्फत फोहोरमैला व्यवस्थापन तथा स्थानीय सामग्री जस्तै– गोबर, सुली, पातपतिंगर आदिलाई सदुपयोग गरी नेपाल सरकारको मापदण्डअनुरूप प्रांगारिक मल उत्पादन गर्ने लक्ष्य र नीति ल्याउने हो भने स्थानीय रोजगारी, प्रदान गर्न पनि ठूलो भूमिका खेल्छ, साथै नेपाली कृषकलाई दिगो कृषि गर्न टेवा पुर्‍याउन सकिन्छ ।

रासायनिक मल : क्षणिक लाभ, दीर्घकालीन प्रभाव
रासायनिक मलको प्रयोगले उत्पादनमा हुने बेफाइदा र माटोमा ल्याउने ह्रास धेरै छन् । साधारणतः उत्पादन बढाउन रासायनिक मलको प्रयोग गर्ने गरिएको देखिन्छ । तर, सारमा यसले हाम्रो उत्पादन क्षमतामा अझ ह्रास ल्याइरहेको छ । हाम्रो देशमा मात्रै होइन, विश्वभर नै रासायनिक मलको प्रयोगले माटो र उत्पादन हुने वस्तुमै नकारात्मक असर परिरहेको छ । त्यति मात्रै होइन, उत्पादन क्षमतामा समेत ह्रास आइरहेको छ । मानव स्वास्थ्यमै नकारात्मक असर परेको कतिपय रिपोर्टले पुष्टि गरेको अवस्था छ । रासायनिक मलको प्रयोगले क्षणिक उत्पादन बढाउने हो, दीर्घकालीन उत्पादन दिन सक्दैन ।

विशेषगरी, नेपालमा खाद्यान्न बालीको खेती धेरै गरिने हुँदा यहाँ रासायनिक मल पनि खाद्यान्न बालीमा नै बढी प्रयोग भएको देखिन्छ । उखु, आलुलगायत तरकारी खेतीमा पनि अत्यधिक मात्रामा रासायनिक मल प्रयोग गरिन्छ । यसले तत्काललाई हाम्रो उत्पादन बढाएको देखिए पनि दीर्घकालमा उत्पादन क्षमतादेखि माटो र मान्छेकै स्वास्थ्यमा समेत गम्भीर असर पारिरहेको छ । 

स्थानीय तहमा प्रांगारिक मल बनाउने योजना : प्रांगारिक मल प्रयोगको नीति सरकारले बनाउने हो र त्यो तल्लो तहको सरकारदेखि नै सुरु हुन आवश्यक छ । देशभरका ७ सय ५३ वटै स्थानीय तहले प्रांगारिक मल बनाउने योजना ल्याउने र स्थानीय तहलाई क्रमशः ‘रासायनिक मल निषेधित क्षेत्र’ उद्घोष गर्न सक्छन् । पछिल्लो समय काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिकाहरूले यसबारेमा निकै चासो दिनुभएको छ । भक्तपुर र अन्य जिल्लाका केही ठाउँमा व्यक्तिगत तथा व्यावसायिक रूपमा प्रांगारिक मल उत्पादन सुरु गरेका छन् । यसलाई नेपालभर विस्तार गर्न आवश्यक छ । 

तीन तहकै सरकारको जैविक मल प्रवद्र्धनअनुकूल नीति कार्यक्रम लागू नहुनु र किसानले यो मलमा अनुदान नपाउनुको कारण देशभरकै जैविक मल उत्पादक कम्पनीका उत्पादनले पर्याप्त बजार पाएका छैनन् । त्यस्ता उद्योगका जैविक मललाई बजारीकरण गर्न र प्रोत्साहन गर्न आवश्यक छ ।

दीर्घकाललाई निर्विकल्प अर्गानिक मल : अहिले विश्वभरि नै खाद्यसंकट र सुरक्षाको बहस उठेको छ । नेपालमा पनि यस विषयमा बहस हुन थालेको छ । सरकारको आगामी वार्षिक नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत यस विषयको उठान होला । खाद्यसंकटबाट धेरै हदसम्म मुक्त गर्नका लागि पनि रासायनिक मलको विकल्प प्रांगारिक मल बन्न सक्छ । हामी दुईवटा अवस्थामा छौँ, एकातिर दिगोपनका लागि कुरा गर्दै छौँ भने अर्कोपट्टि भोको पेटलाई खुवाउनुपर्ने अवस्थामा छौँ । त्यसैले हामीले उत्पादन बढाउनु छ र त्यसको दिर्घकालीन समाधान पनि खोज्नु छ । यसका लागि अर्गानिक मल निर्विकल्प हो । 

प्रांगारिक मलको प्रयोगले माटोमा ल्याउने दिगोपनको बारेमा थुप्रै अध्ययन भएका छन् । प्रांगारिक मलको प्रयोगले उत्पादन बढ्छ । माटोमा अर्गानिक तत्व छैन भने जतिसुकै मल–पानी हाले पनि त्यसले कुनै काम गर्दैन । अर्गानिक तत्व यस्तो चिज हो, जसले पानीलाई होल्डिङ गर्ने, प्रोटिन होल्डिङ गर्ने क्षमता वृद्धि गर्छ । अर्को, यसले माटोमा अम्लीयपन बढाउँछ । रासायनिक मलले माटोमा अम्लीयपनको मात्रालाई सन्तुलित बनाउँदैन, बढाउने वा घटाउने गर्दछ । हामी धेरैजस्तो त युरिया, फस्फोरस र पोटासियमको प्रयोग गर्छौं, त्यसले अम्लीय वा क्षारीयपनलाई तलमाथि गराउँछ । 

रासायनिक मल कारखानाको सान्दर्भिकता : अहिले रासायनिक मलको कारखाना खोल्ने कुरा चलिरहेको छ । यसको चर्चा भइरहँदा यसको उत्पादन क्षमतादेखि सम्भावनासम्मको बारेमा छलफल तथा अध्ययन गर्न आवश्यक छ । ठूलो लगानी गरेर कारखाना सञ्चालनमा आएपछि त्यसले लाभ दिन्छ कि दिँदैन ? वर्षमा कति समय मेसिन चलाउन सकिन्छ ? लागत उठाउन सकिन्छ कि सकिँदैन ? भन्नेलगायत आर्थिक पाटो पनि हेर्नुपर्छ । 

हाम्रो मल कारखाना खोल्ने विषयमा धेरैपटक अध्ययन भइसकेको छ । कतिपय अध्ययनले नेपालमा मल कारखानाको औचित्य नरहेको पुष्टि गरेको छ । लागतका हिसाबले, उत्पादन र क्षमताका हिसाबले पनि हामीलाई कारखाना नै खोलेर जानुपर्ने अवस्था छैन भन्नेसमेत देखिएको छ । त्यसैले यसको सान्दर्भिकताका विषयमा व्यापक छलफल हुनु आवश्यक छ । 

जैविक मलमा देखिएको आशा : आजको बढ्दो आर्थिक संकटको समयमा रासायनिक मलबाट मात्र कृषि क्षेत्रमा दीर्घकालीन समाधान दिन सकिँदैन । बरु आधुनिक प्रणालीका प्रांगारिक मलहरूको प्रयोगलाई पनि सँगसँगै बढावा दिन सक्नुपर्छ । यी दुवै प्रकारका मल उत्पादनमा नेपालले आफ्नै स्रोत परिचालन गरेर राष्ट्रिय आवश्यकतालाई धान्न सक्छ ।

यसबीचमा जैविक मल उप्तादनमा केही आशा देखिएका छन् । अहिले नेपालमा केही कम्पनीले उल्लेखनीय मात्रामा जैविक मल उत्पादन गर्न काम गरिरहेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा प्रवद्र्धन गरिएका बायोग्यास प्रविधिहरूको स्थानीयकरणसँगै ठूलो मात्रामा बायोग्यासको सह–उत्पादनको रूपमा कम्पोस्ट मलले बजार लिन थालेको छ । 

त्यस्तै, कुखुरा फार्म, उखु–मिलको जैविक फोहोर, नगरपालिकाबाट संकलित जैविक फोहोर आदि प्रयोग गरेर पनि जैविक मल बन्न थालिएको छ । त्यसबाहेक स्थानीय स्तरमा उपलब्ध सबैखाले कच्चा पदार्थलाई सीधै कम्पोस्टिङ वा भर्मी–कम्पोस्टिङ गरेर पनि जैविक मल बनाउने चलन बिस्तारै देशव्यापी हुँदै छ । 

जैविक मललाई प्रोत्साहनको खाँचो : वातावरणीय र दीर्घकालीन माटोको स्वास्थ्यको दृष्टिकोणबाट जैविक मल किसानहरूको पहिलो विकल्प हुनुपर्छ भन्ने कुरा विवादित छैन । यद्यपि, अहिलेको आमचासो भनेको सरकारी नीति, प्रतिबद्धता र कार्यक्रमका आधारमा नेपालमा जैविक मलमा आधारित रहेर कृषि उत्पादकत्व सुधार गर्न लामो समय लाग्न सक्छ भन्ने नै हो । यति हुँदाहुँदै पनि सरकारी पक्षबाट जैविक मल प्रयोगमा सहुलियत कार्यक्रमको निरन्तरताको अभाव, किसानहरूमा जैविक मलको महत्वसम्बन्धी सचेतना र धैर्यको अभावका कारण विभिन्न तहका सरकारका अनेकन् घोषणाका बाबजुद जैविक मलको प्रयोग उत्साहजनक हुन सकेको छैन । 

तीन तहकै सरकारको जैविक मल प्रवद्र्धनअनुकूल नीति कार्यक्रम लागू नहुनु र किसानहरूले यो मलमा अनुदान नपाउनुको कारण देशभरकै जैविक मल उत्पादक कम्पनीका उत्पादनले पर्याप्त बजार पाएका छैनन् । त्यस्ता उद्योगमा खुलेका जैविक मलाई बजारीकरण गर्न र प्रोत्साहन गर्न आवश्यक छ ।

गिरी रिकिशी फर्टिलाइजर एन्ड एग्रो प्रालिका प्रबन्ध निर्देशक हुन् ।

सुझावित समाचार