प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी ओलीमाथि निरन्तर आक्रमणको प्रयास हुँदा पनि सरकार मौन रहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
उपाध्यक्ष पौडेलले बिहीबार (हिजो) इलामको कार्यक्रमबाट फर्कने क्रममा पनि अध्यक्ष ओलीसहितका नेताहरूलाई एम्बुस थापेर आक्रमणको प्रयास गरिएको भन्दै आपत्ति जनाएका हुन्।
उनले सत्तापक्षकै कार्यकर्ताहरू पनि सो आक्रमणको घटनामा सामेल भइरहेको सूचना आफ्नो पार्टीले पाएको जिकिर गर्दै यथार्थ जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे।
उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्नेहरूलाई कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए। उनले सरकारले शान्तिसुरक्षाको व्यवस्था गर्न लाचारी र कायरता प्रदर्शन गरिरहेको भन्दै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए।
उनले भने, ‘हिजो इलामको पशुपति नगरबाट फर्कने क्रममा बाटोमा एम्बुस थापेर हाम्रा पार्टीका श्रद्धेय अध्यक्ष केपी ओलीसहितका नेताहरूमाथि एम्बुस थापेर आक्रमण गर्ने, आज पनि खुलेआम विरोध प्रदर्शन गर्दै तोडफोड गर्ने काम भइरहेको छ । हाम्रो देशमा सरकार छ कि छैन ? यो अत्यन्तै चिन्ताको विषय हो कि सरकारले अकर्मण्यता प्रदर्शन गरिरहेको छ । एक प्रकारले भन्ने हो भने लाचारीपन प्रदर्शित गरिरहेको छ । म यो कायरताको, लाचारीपनको घोर निन्दा र भर्त्सना गर्न चाहन्छु । खेद व्यक्त गर्न चाहन्छु । म भन्न चाहन्छु, यो आक्रमणमा सरकार आफैँ संलग्न भएको छ । यो विषय सम्मानित सदन उठ्यो । गृहमन्त्रीले आएर जवाफ पनि दिनुभयो । गृहमन्त्रीले जवाफ त दिनुभयो । तर, आक्रमण प्रयास रोकिँदैन । यो सरकारले चाहेको के हो ? हामीले गृहमन्त्रीको कुनै मिठो प्रवचन होइन । शान्तिसुरक्षाको व्यवस्था हुनुपर्याे । यहाँले नेताको मात्रै होइन, आज नागरिकको शान्तिसुरक्षाको सुनिश्चित गर्नुपर्याे । गृहमन्त्रीले दिएको जवाफले अब पुगेन । यस प्रश्नमा सरकारले सदनलाई जानकारी दिनुपर्याे । सम्माननीय प्रधानमन्त्री आफैँले आएर संसदमा जवाफ दिनुपर्छ।’