पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीहरूले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लातर्फ दैनिक चार दर्जनभन्दा बढी उडान गर्दै आइरहेका छन् । तारा एयरले मन्थली–लुक्ला दैनिक १० देखि १५ वटा फ्लाइट गर्दै आइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा अत्यधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरूले रामेछापको मन्थलीलाई आधार (बेस) बनाई लुक्ला उडान गर्छन् । यो विमानस्थलबाट तारा एयससहित समिट र सीता एयरले पनि उडान गर्दै आएका छन् । टिआइएबाट ट्राफिक बढेपछि लुक्लाका लागि एउटा जहाजले दैनिक दुई–तीनवटा मात्रै उडान गर्न पाउँथे । तर, मन्थलीबाट लुक्ला उडाउन सुरु गर्न थालेपछि दैनिक एउटै जहाजले आठ–दशवटासम्म उडान गर्न थालेका छन् ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले पछिल्लो समय ताराको एउटै जहाजले मन्थलीबाट लुक्लामा दैनिक पाँचदेखि आठवटासम्म उडान गर्दै आएको बताए । अहिले रामेछापको मन्थली विमानस्थलमा ताराका दुईवटा जहाज रहेका छन् । ‘बिहानै काठमाडौंबाट गाडीमा मन्थलीसम्म आएर मन्थलीबाट विमान चढेर एकै दिनमा लुक्ला पुगिने भएपछि विदेशी पर्यटकलाई सजिलो भएको छ,’ उनले भने । ताराले मन्थलीदेखि लुक्ला मात्र नभएर पोखराबाट जोमसोम तथा नेपालगन्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पालगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिँदै आएको छ ।