तलब–भत्ता हिनामिना गर्ने दुई पूर्वडिएसपीलाई कैद सजाय

बिहिबार, ३० चैत, २०७९
डिजिटल संस्करण

कर्मचारीको तलब–भत्ता अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन दुई डिएसपी दोषी ठहर भएका छन् । हाल अवकाशप्राप्त प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णबहादुर कुँवर र त्रिलोकबहादुर चन्दलाई विशेष अदालतले बुधबार दोषी ठहर गरेको हो । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य यमुना भट्टराईको इजलासले यस्तो फैसला गरेको हो । प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार कुँवरलाई एक वर्ष नौ महिना कैद र लेखापाल रहेका प्रहरी नायब निरीक्षक माधव चन्द ठकुरीलाई एक वर्ष आठ महिना कैद सजाय हुने फैसला सुनाइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तलब तथा भत्ताबापतको रकम हिनामिना गरेको दाबीसहित एकै मितिमा दायर दुई मुद्दा लगाउमा राखेर सुनुवाइ गर्दै आइरहेकामा विशेषले बुधबार फैसला सुनाएको हो । अख्तियारले १३ फागुन ०७६ मा मुद्दा दायर गरेको थियो । एउटा मुद्दामा कृष्णबहादुर कुँवरसमेत नौ र अर्कोमा त्रिलोकबहादुर चन्दसमेत पाँचजनालाई प्रतिवादी कायम भएको थियो । 

कुँवरसमेत नौजना प्रतिवादी रहेको मुद्दामा सजाय सुनाए पनि चन्दसमेत पाँचजना प्रतिवादी रहेको मुद्दामा भने ८ वैशाखमा सजाय निर्धारण हुने प्रवक्ता योगीले बताए । यी दुवै मुद्दामा प्रतिवादी बनाइएका प्रहरी नायब निरीक्षक माधव चन्द ठकुरी दोषी ठहर भएका छन् । ‘बिगो १९ लाख ९५ हजार रुपैयाँ रहेकामा दामासाहीले दुवैजनालाई भराउने र बिगोबमोजिम जरिवाना असुलउपर गर्ने फैसला भएको छ,’ योगीले डिएसपी कुँवरसमेत प्रतिवादी रहेको मुद्दाको फैसलाबारे भने । यस मुद्दाका अन्य सात प्रतिवादीले भने सफाइ पाएका छन् । 

डिएसपीदेखि कोष तथा लेखानियन्त्रक कार्यालय र लेखापरीक्षणमा खटिएका कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा भ्रष्टाचार गरेको ठहर अख्तियारको थियो । जिल्लाको प्रहरी प्रमुख कुँवरसमेतलाई ०७१ भदौदेखि अर्को वर्षको सोही महिनासम्ममा १९ लाख ९५ हजार अनियमितता गरी भ्रष्टाचार गरेको अभियोग लगाइएको थियो । 

सुझावित समाचार