अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा बिहीबार तिलौराकोटदेखि लुम्बिनीसम्म अन्तर्राष्ट्रिय पिस म्याराथनको आयोजना हुने भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै कपिलवस्तुको तिलौराकोटदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म अन्तर्राष्ट्रिय पिस म्याराथन हुन लागेको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।
म्याराथनसम्बन्धी बुटवलमा बुधबार आयोजना भएको पत्रकार सम्मेलनमा ओलम्पिकका महासचिव श्रेष्ठले म्याराथनमा २०७ राष्ट्रका खेलाडीलाई निमन्त्रणा गरिएको जनाए । ‘सबै देशबाट सहभागी भए, यो हालसम्मकै ठूलो म्याराथन हुनेछ,’ श्रेष्ठले भने । यद्यपि, प्रतियोगितामा ५० भन्दा बढी देशका धावक सहभागी हुने अपेक्षा गरिएको उनले बताए ।
प्रतियोगितामा पहिलो हुनेले एक लाख, उपविजेताले ५० हजार र तेस्रो स्थानमा रहने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने लुम्बिनी खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले जानकारी दिए । उत्कृष्ट १०औँ स्थानसम्मका खेलाडीलाई पनि पुरस्कारको व्यवस्था छ ।