बालिकालाई यौन शोषण गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

होटेलमा बन्धक बनाइएका चार बालिकाको उद्धार

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण
बालिकालाई यौन शोषण गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

याङ ली मिङ

नाबालिकालाई आर्थिक प्रलोभनमा पारी यौन शोषण गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ परेका छन् । ४९ वर्षीय याङ ली मिङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ललितपुरको बुङमतीबाट शनिबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले चार नाबालिकालाई होटेलमा बन्धक बनाएर राखेका थिए । मिङले दुईजनालाई यौन शोषण गरेको प्रहरीको भनाइ छ ।

मिङ नेपालमा व्यवसायीको आवरणमा बस्दै आएका थिए । बुङमतीमा अपार्टमेन्ट भाडामा लिएर बस्दै आएका उनको न्यु प्युरी एन्ड म्याट्रेस कम्पनी छ । प्रहरीले उनलाई सोही ठाउँबाट पक्राउ गरेको हो । उनले बन्धक बनाएको चार बालिकालाई प्रहरीले ठमेलस्थित होटेलबाट उद्धार गरेको सिआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले बताए ।

‘उसले उमेर नपुगेका बालिकालाई विभिन्न प्रलोभन देखाएर काठमाडौं बोलाउने रहेछ । होटेलमा बन्धक बनाएर यौन शोषण गर्ने रहेछ । अहिलेसम्म उसले ६ बालिकालाई काठमाडौं ल्याएको देखिन्छ । जसमध्ये दुईजनालाई यौन शोषण गरेको उजुरी परेको छ । चारजनालाई ठमेलको एउटा होटेलबाट उद्धार गरेका छौँ,’ उनले भने ।

प्रहरीका अनुसार मिङ सामाजिक सञ्जाल फेसबुकमार्फत एकैपटक विभिन्न युवतीसँग च्याट गर्थे । यसक्रममा उनले च्याटमा आएका युवतीसँग उमेरबारे जानकारी लिन्थे । १८ वर्षभन्दा कम उमेरको बालिका फेला परेपछि उनी च्याटमार्फत नजिकिन्थे । मीठा गफ दिन्थे । विभिन्न प्रलोभन बाँड्थे । जब बालिका नजिकिन्थे उनले काठमाडौं आउन प्रस्ताव गर्थे । आउने–जाने भाडा पनि उनी आफैँ बेहोर्थे । 

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार काठमाडौं आएपछि उनले बालिकालाई होटेलमा भेट्थे । उनीहरूका लागि होटेलमै कोठा बुक गरिदिन्थे । सोही कोठामा बस्न भन्थे । बेलुका विभिन्न डिस्को र पबमा सँगै लिएर जान्थे । खर्च उनकै हुन्थ्यो । मन जितेपछि उनले बालिकालाई एक्लै बुङमतीस्थित आफ्नै अपार्टमेन्ट लैजान्थे । र, यौन शोषण गर्थे । यस क्रममा उनले विभिन्न जिल्लाबाट ६ जना बालिका काठमाडौं बोलाएका थिए । जसमध्ये दुईजनालाई कोठामा लगेर यौन शोषण गरेका थिए भने चारजनालाई ठमेलस्थित होटेलमा कोठा लिएर बन्धक बनाएर राखेका थिए । 

‘फेसबुकमार्फत उनी कम उमेरका बालिकासँग सम्पर्क गर्थे । विभिन्न प्रलोभन दिएर काठमाडौं बोलाउँथे । आउने–जाने खर्च आफैँ दिन्थे । काठमाडौंमा पनि बस्ने र खाने सबै खर्च आफैँ बेहोरेर जब बालिकाको मन जित्थे, त्यसपछि यौन शोषण गर्थे,’ थापाले भने । सिआइबीका अनुसार उनले सम्पर्कमा आएका बालिकामार्फत अन्य बालिकाको खोजी गर्थे । यसक्रममा उनले बालिकाहरूलाई आवश्यकताअनुसार प्रलोभन दिने गर्थे ।

पक्राउ परेका मिङविरुद्ध थप अनुसन्धानका लागि तीन दिनको म्याद थप भएको छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासत कक्षमा राखिएको छ । ‘बालिकालाई प्रलोभनमा पारी यौन शोषण गम्भीर अपराध हो । उनीविरुद्ध पीडित दुई बालिकाले उजुरी दिएका छन् । अनुसन्धान गर्न बाँकी छ । यसका लागि अदालतबाट तीन दिनको म्याद थप भएको छ,’ थापाले भने ।

सुझावित समाचार