गीत लेख्नुअघि यी कुरामा ध्यान दिनुस्

आइतबार, १४ फागुन, २०७९
डिजिटल संस्करण

‘सुन साइँली’, ‘के माया लाग्छ र ?’, ‘घुमी–घुमी’, ‘तीनपाते’लगायत चर्चित गीतका लेखक हुन्, हर्क साउद । उनी सामाजिक परिवेशलाई ध्यानमा राखेर मानिसका कथा–व्यथालाई गीतमा उतार्न रुचाउँछन् । नयाँ गीतकारहरूलाई उनको सुझाव यस्तो छ :

  • पहिलो कुरा त लेखकले श्रोतालाई के दिन खोजेको भन्ने कुरामा स्पष्ट हुनुपर्छ । कुनै पनि गीत लेख्नुअघि किन लेख्ने र मैले नै किन लेख्ने भन्ने कुरामा प्रस्ट हुनुपर्छ । 
  • अर्को महत्वपूर्ण विषय सामाजिक परिवेश हो । पात्र, घटना, संस्कृति वा भूगोल पनि समेटिएको हुनुपर्छ । जस्तो– म गीत लेख्दा समाजको परिवेश र प्रकृतिलाई जोड दिन्छु । 
  • गीतको पात्र जुराउँदा चरित्रसुहाउँदो दिनुपर्छ । समाज र पात्रको मनोविज्ञानलाई बुझेर गीत लेख्न जरुरी छ । 
  • कम्तीमा संगीतको सामान्य ज्ञान हुनु जरुरी छ । त्यसले तपाईंलाई लेखाइमा मद्दत गराउँछ । 
  • लेख्नुअघि अनुसन्धान अनिवार्य हुन्छ । समाजको जानकारीविना लेख्न गाह्रो हुन्छ । आफूले लेख्ने विषयवस्तुमा आत्मविश्वासी हुन जरुरी छ ।
  • गीतकारले विभिन्न क्षेत्रका पुस्तक पढ्नुपर्छ । तर, कुनै एक विषयमा भने हस्तक्षेप गर्न सक्ने गरी अध्ययन गर्नुपर्छ । समाज, राजनीति, इतिहास, संस्कृति, दर्शनशास्त्र, अध्यात्म वा विज्ञानजस्ता विषयमा हस्तक्षेप गर्ने गरी दक्षता हासिल गर्दा अझ राम्रो हुन्छ ।
  • नयाँ गीतकारले यसै गर्नुपर्छ भन्ने होइन । यी त मेरा सुझाव भए । गीतकारले आफ्नो क्षमताअनुसार लेख्ने हो । सबैले आफ्नो क्षमता चिन्न जरुरी छ । अध्ययन पनि उत्तिकै जरुरी छ । 
See More On

सुझावित समाचार