सडकमा कुखुरा छाडेर किसान आन्दोलित

किसानले एउटा अन्डामा आठ रुपैयाँ पाउँदा बिचौलियालाई सात रुपैयाँ फाइदा

बुधबार, २५ माघ, २०७९
डिजिटल संस्करण

अन्डा र कुखुरा लिएर झापाका किसान सडकमा उत्रिएका छन् । व्यवसाय धान्नै नसक्ने अवस्थामा पुग्दा पनि राज्यबाट कुनै सहयोग नभएपछि किसानहरू आन्दोलित भएका हुन् ।झापाका किसानले मंगलबार बिर्तामोडको सडकमा अन्डा फुटाएर र कुखुरा सडकमै छाडेर विरोध जनाए । पूर्व–पश्चिम राजमार्गस्थित मुक्तिचोकमा किसानले झन्डै पाँच हजार अन्डा फुटाए भने अन्डा उत्पादन गर्दै गरेका पाँच सय कुखुरा सडकमै छाडे । ‘व्यवसाय धान्नै नसक्ने अवस्था आयो ।

बजार बिचौलियाको हातमा पुग्यो । हाम्रो व्यवसाय धराशायी बन्दा पनि बजारीकरणमा राज्यले ध्यानै दिएन,’ अन्डा उत्पादक संघ झापाका सदस्य चूडामणि मगरले भने, ‘बैंकले दैनिक टर्चर गरेको गर्यै छ । ५ प्रतिशतमा लिएको कृषि लोन १४–१५ प्रतिशत पुगिसक्यो । कतिवेला बैंकले लिलामी निकाल्छ भन्ने टुंगो छैन । अन्डाको मूल्य घट्दै छ । बाध्य भएर सडकमा आयौँ ।’ 

उनले बिचौलियाका कारण कृषक मारमा परेको बताए । बजारमा अन्डाको मूल्य प्रतिगोटा १५ रुपैयाँ छ । यद्यपि, किसानले भने प्रतिगोटा आठ रुपैयाँ मात्र पाउने गरेको मगरले बताए । उनका अनुसार बिचौलियाले एउटा अन्डामा सात रुपैयाँ फाइदा लिँदै आएका छन् । ‘एक कार्टुन अन्डा उत्पादनका लागि दुई हजार ६ सय रुपैयाँ लाग्छ । तर, एक कार्टुन अन्डाले बढीमा दुई हजार एक सय रुपैयाँ मात्र मूल्य पाउँछ,’ उनले भने, ‘दानाको मूल्य बढ्दै छ । 

विगतमा दुई हजार दुई सय पर्ने एक बोरा दाना अहिले तीन हजार ६ सय रुपैयाँसम्म पुगेको छ । अन्डाको दामचाहिँ घटिरहेको छ ।’ गत वर्ष किसानले अन्डामा प्रतिगोटा १३ रुपैयाँसम्म मूल्य पाएका थिए । पछिल्लो ६ महिनायता निरन्तर अन्डाको मूल्य ओरालो लागेको मगरले बताए । ‘कृषक यो पेसाबाट बर्सेनि पलायन हुने अवस्थामा छन्,’ उनले भने, ‘पोल्ट्री व्यवसायमा नेपाल आत्मनिर्भर हुँदै गएको छ । तर, आत्मनिर्भर हुँदै गएको व्यवसाय नै धराशायी बनेको छ । राज्यले चासो दिनै सकेन ।’

अन्डा उत्पादक संघ झापाका अनुसार झापामा दैनिक तीन लाख १५ हजारवटा अन्डा उत्पादन हुन्छ । उक्त अन्डा झापामै खपत हुँदै आएको छ । यद्यपि, मूल्य नहुँदा कृषक अन्डा उत्पादनबाटै पलायन हुनुपर्ने अवस्था आएको दमकको मेघा एग्रो प्रालिका सञ्चालक भरत चम्लागाईंले जानकारी दिए ।

अन्डामा बिचौलिया हाबी भएको र राज्य मूकदर्शक बनेपछि आन्दोलित बन्नुपरेको उनको भनाइ छ । दानाको मूल्य बढ्दै जाँदा पनि अन्डाको मूल्य बढ्न नसकेकाले विरोधस्वरूप सडकमा अन्डा र कुखुरा फालिएको चम्लागाईंले बताए । 

सुझावित समाचार