सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ। सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी र कांग्रेसबाट मानबहादुर रावलले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन्। सभामुख चयनका लागि भोलि निर्वाचन हुनेछ।
भण्डारीको प्रस्तावकमा एमालेका जानकी बम ऐर र समर्थकमा माओवादीका गीतादेवी माल छन्। भण्डारी बझाङको प्रदेश सभा क्षेत्र २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। गठबन्धनबीच केन्द्रमा भएको सहमतिअनुसार माओवादीले सभामुखमा उम्मेदवारी दिएको हो।
कांग्रेसले प्रदेश सभाका ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको हो। आफ्नो पार्टीका प्रदेश सभा सदस्य मेघराज खड्काको प्रस्ताव र पृथ्वीबहादुर सिंहको समर्थनमा रावलले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी अछाम क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट निर्वाचित भएका हुन्।