‘स्मार्टफोनका कारण दम्पतीबीचको सम्बन्ध बिग्रँदो’

शुक्रबार, १ पुष, २०७९
डिजिटल संस्करण

स्मार्टफोनको अत्यधिक प्रयोगले भारतमा विवाहित दम्पतीको सम्बन्धमा असर गरिरहेको पछिल्लो एक अध्ययनले देखाएको छ । दिल्ली, मुम्बई, कोलकाता, चेन्नई, हैदराबाद, बेंग्लोर अहमदावाद र पुनेलगायत भारतका प्रमुख सहरहरूमा गरिएको एक अध्ययनले विवाहित दम्पतीको सम्बन्ध बिग्रनुमा स्मार्टफोनको ठूलो हात रहेको देखाएको हो ।

‘स्मार्टफोन र मानव सम्बन्धमा स्मार्टफोनको प्रभाव २०२२’ शीर्षक दिइएको स्मार्टफोन उत्पादक भिभो र साइबरमिडियाले गरेको एक अनुसन्धानका ६७ प्रतिशत उत्तरदाताले आफ्नो जीवनसाथीसँग रहँदा पनि आफू स्मार्टफोनमै बढी व्यस्त रहेको स्वीकार गरेका थिए । 

त्यसैगरी, ८९ प्रतिशत उत्तरदाताले आफ्नो जीवनसाथीसँगको सहज कुराकानीमा आफूले सकिने जति समय पनि नबिताउने गरेको बताएका थिए । ‘८४ प्रतिशत उत्तरदाताले चाहिँ गल्ती महसुस गर्दै आफूले जीवनसाथीसँग अब बढी समय बिताउन चाहेको बताएका थिए । मानिसहरू स्मार्टफोन सिर्जित समस्या स्विकार्न र आफूलाई परिवर्तन गर्न इच्छुक छन् । ८८ प्रतिशत उत्तरदाताहरू स्मार्टफोनको बढ्दो प्रयोगले उनीहरूको जीवनसाथीसँगको सम्बन्धमा असर गरिरहेको कुरामा सहमत छन्,’ अध्ययनले भनेको छ । यही कारण उत्तरदातामध्ये ९० प्रतिशतले आफूले आफ्नो जीवनसाथीसँग अर्थपूर्ण कुराकानी गर्न थप फुर्सदको समय खर्च गर्न चाहेको बताएका थिए । 

यो अध्ययनले ७० प्रतिशत मानिसले आफू फोनमा व्यस्त रहेको बखत आफ्नो जीवनसाथीले केही सोध्दा रिसाउने गरेको पाएको छ । ‘६६ प्रतिशत मानिसले स्मार्टफोनको अतिशय प्रयोगले आफ्नो जीवनसाथीसँगको सम्बन्ध कमजोर भएको महसुस गरेका छन्,’ अध्ययनले भनेको छ ।

अध्ययनअनुसार ६९ प्रतिशत उत्तरदाताले स्मार्टफोनका कारण आफ्नो ध्यान विचलित भएको महसुस गरेको वा आफ्नो जीवनसाथीलाई पर्याप्त ध्यान र समय नदिएको स्विकारेका थिए । ६८ प्रतिशत दम्पतीले चाहिँ जीवनसाथीसँग समय बिताउँदा स्मार्टफोनले भाँजो गरेकोमा पछि पछुतो महसुस भएको बताएका थिए । भिभो इन्डियाका ब्रान्ड स्ट्राटेजीका प्रमुखले आजको जीवनमा स्मार्टफोनको महत्व ‘निर्विवाद’ भए पनि यसको अत्यधिक प्रयोगबाट भने प्रयोगकर्ताहरूले सावधानी अपनाउनुपर्ने बताएका छन् । 

सुझावित समाचार