अँध्यारो कोठामा मुटुको शल्यक्रिया

आइतबार, ११ मंसिर, २०७९
डिजिटल संस्करण

पछिल्लो समय रुसी मिसाइल प्रहारपछि विद्युत् अवरुद्ध भएको राजधानी किभस्थित एउटा अँध्यारो कोठामा युक्रेनी शल्य चिकित्सकको एउटा समूहले एक बालकको मुटुको शल्यक्रिया गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

‘युक्रेनमा रुसीहरूले गरेको मिसाइल आक्रमणको क्रममा आज किभको हार्ट इन्स्टिच्युटमा बिजुली अवरुद्ध भयो । यही समयमा चिकित्सकहरूले एक बालकको मुटुको आकस्मिक शल्यक्रिया गरिरहेका थिए’, सामाजिक सञ्जाल प्रयोगकर्ता इरिना भोचुकले भिडियो ट्विट् गर्दै लेखेका छन् ।

समाचार लेख्दासम्म करिब दुई मिनेट लामो उक्त ट्विट् भिडियोलाई १५ हजारले हेरेका छन् । फुटेजमा चिकित्सकहरूको समूहले सीमित उज्यालोमा शल्यक्रिया गरेको देखाइएको छ । चिकित्सकहरूको टाउकोमा राखिएको हेडलाइटबाहेक कोठालाई अँध्यारोले ढाकेको थियो । शल्यक्रिया कक्षमा सामान्य देखिने ओभरहेड लाइटको उज्यालो पनि जेनेरेटरबाट चलाइएको थिएन ।

न्युज विकका अनुसार भिडियोमा एकजना चिकित्सक भन्छन्, ‘हामी अहिले यसरी नै मुटुको शल्यक्रिया गर्छौँ ।’ चिकित्सकको टोलीले बालकको मुटुको दुईवटा भल्भ प्रतिस्थापन गर्न कार्डियोपल्मोनरी बाइपास गरेको थियो । ‘के भयो कसैलाई थाहा भएन, तर अप्रेसन थिएटर पूरै अँध्यारो भयो’, ती चिकित्सक भन्छन्, ‘आज अप्रेसनको यो टेबुलमा बच्चा छ । शल्यक्रियाको बीचमा बत्ती थिएन । भिडियोको कमेन्ट सेक्सनमा ट्विटरका धेरै प्रयोगकर्ताले चिकित्सकहरूलाई नायकका रूपमा प्रशंसा गरेका छन् ।

सुझावित समाचार