Skip This
बुद्ध एयरले उद्घाटनकै दिन पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Tuesday, 13 May, 2025
नवीन अर्याल काठमाडौं
२o७९ कार्तिक २८ सोमबार १६:४o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बुद्ध एयरले उद्घाटनकै दिन पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने 

भारतको बनारससँगै दिल्ली र देहरादुनमा नियमित उडान गर्ने तयारी

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार १६:४o:oo

पर्यटकीय नगरी पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले उद्घाटनकै दिन पहिलो उडान गर्ने भएको छ । बुद्धले पोखरा विमानस्थल सञ्चालनमा आउनेबित्तिकै प्रथम अन्तर्राष्ट्रिय उडानको रूपमा पोखरा–बनारस उडान गर्ने भएको हो।

नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले १ जनवरी २०२३ देखि पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने मिति तय गरेको छ। ‘जनवरी २०२३ देखि अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार हुने जानकारी प्राप्त भएको छ,’ बुद्ध एयरले भनेको छ, ‘त्यहाँबाट हुने प्रथम अन्तर्राष्ट्रिय उडानको रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा हप्तामा तीन दिन उडान सुरु गर्ने योजना प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस गरेका छौँ।’

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बनारसमा नियमित उडान गर्दै आइरहेको बुद्ध एयरले पोखराबाट सातामा तीन दिन आइतबार, मंगलबार र बिहीबार बनारस उडान गर्ने भएको हो। यस्तै, एयर ट्राफिक सर्भिस (एटिएस) रुटका लागि नेपाल सरकारले भारतसँग पहल गरिरहेको हुँदा भारतबाट रुट र स्लट स्वीकृति प्राप्त हुना साथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुई उडान र पोखरा–देहरादुन–पोखरा हप्तामा तीन उडानका लागि प्रक्रिया यथाशीघ्र अगाडि बढाउने बुद्धले जनाएको छ।
 
निजी क्षेत्रबाट स्थापित बुद्ध एयर आन्तरिक उडानमा अग्रणी रहँदै आएको छ। आन्तरिक उडानका लागि बुद्धसँग १६ वटा जहाज छन्। देशका विभिन्न गन्तव्यहरूमा दैनिक एक सय ४० भन्दा बढी उडान अवतरण गर्दै आइरहेको बुद्धको आन्तरिक हवाई सेवामा ५६ प्रतिशत हिस्सा रहेको छ।

३० नोभेम्बरदेखि क्यालिब्रेसन फ्लाइट
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ३० नोभेम्बरमा क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान गर्ने क्यानको तयारी छ । एरोथाईको विशेष उपकरणजडित विमानले विमानस्थलमा जडान गरिएका सञ्चारका यन्त्र उपकरणको परीक्षण गर्नेछ।

विमानस्थल सञ्चालनका लागि मुख्य अवरोधक ठानिएको रिट्ठेपानी डाँडा पनि कटान सुरु भइसकेको क्यानले जनाएको छ। रिट्ठेपानी डाँडो १४ मिटर कटान गरेपछि यान्त्रिक परीक्षण उडान गर्न मिल्नेछ। क्यानले उमा–गल्वा जोयन्ट भेन्चर कम्पनीलाई छनोट गरी करसहित ३२ करोड ३० लाख ४४ हजार रुपैयाँमा डाँडा कटानीको जिम्मेवारी दिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि रिट्ठेपानी डाँडो ४० मिटर काट्नुपर्ने क्यानको प्राविधिक अध्ययनले देखाएको छ। डाँडो एउटा चुच्चोबाट ४० मिटर र अर्को चुच्चोबाट साढे १२ मिटर कटान गर्नुपर्ने हुन्छ। ‘डाँडो कटान सुरु भइसकेको छ, लगत्तै क्यालिब्रेसन फ्लाइट सुरु गर्छौँ,’ क्यानका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘१ जनवरी २०२३ देखि विमानस्थलमा नियमित उडान सुरु गर्ने अधिकतम प्रयास गर्छौँ।’

विमानस्थल सञ्चालनका लागि अर्को अवरोधक भनेको नजिकै रहेको ल्यान्डफिल साइट हो। ल्यान्डफिल साइटमा चराहरूको भिडभाड हुने हुनाले ल्यान्डफिल नहटाई उडान अवतरण सम्भव छैन। पोखरा महानगरका मेयर धनराज आचार्यले १ जनवरीसम्म ल्यान्डफिल साइट सारिसक्ने प्रतिबद्धता जनाएका महानिर्देशक अधिकारीले बताए। तर, क्यानले नियमित उडानका लागि तय गरेको मितिसम्म महानगरले ल्यान्डफिल साइट सार्नेमा शंका गर्ने ठाउँ भने प्रशस्त छ।

चिनियाँ निर्माण कम्पनी सिएएमसी इन्जिनियरिङले असार ०७४ देखि निर्माण सुरु गरेको विमानस्थलको काम करिब सम्पन्न भएको छ । २१ अर्ब ६० करोड रुपैयाँ अनुमानित लागत रहेको यस विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडेलमा निर्माण गरिएको हो।

यस विमानस्थलबाट पर्यटक आउने अन्तर्राष्ट्रिय गन्तव्यहरू चीन र भारतका विभिन्न सहर, बंगलादेश, श्रीलंकालगायत देशहरूमा नियमित उडान गरी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।