१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:४८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चौधरी र त्रिपाठीबीच रोचक भिडन्त

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:४८:oo

गठबन्धनका दल मिलाए चौधरीलाई सहज 
उद्योगपति विनोद चौधरी पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएका हुन् । गत स्थानीय तह निर्वाचनको परिणामअनुसार उनी बलिया देखिन्छन् । यद्यपि, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा गठबन्धनबीचको तालमेल पूर्ण रूपमा मिलिनसकेकाले केही चुनौती भने छन् । प्रदेश सभा (ख)मा माओवादीका रामानन्द यादवविरुद्ध कांग्रेसबाट देवकरण कलवारले बागी उम्मेदवारी दिएका छन् । कलवारले उम्मेदवारी निष्क्रिय पारेर गठबन्धन एकढिक्का भए चौधरी थप बलियो बन्नेछन् । 

एमालेको मत तान्न नसके त्रिपाठीलाई हम्मे
पाँचपटक सांसद भइसकेका हृदयेश त्रिपाठी पहिलोपटक ०७० को संविधानसभाको निर्वाचनमा कांग्रेस उम्मेदवार देवकरण कलवारसँग पराजित भएका थिए । ०७४ को निर्वाचनमा एमालेकै चुनाव चिह्न लिएर निर्वाचन जितेका कारण उनको वास्तविक मत आकलन गर्न कठिन छ । त्रिपाठीलाई चुनाव जित्न एमाले कार्यकर्तालाई रिझाउनुपर्ने देखिएको छ । एमालेको समर्थन हुँदैमा सो दलका कार्यकर्ता सबैले त्रिपाठीलाई नै मत दिन्छन् भन्न सकिने अवस्था छैन ।

...                                 ...

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कांग्रेस उम्मेदवार विनोद चौधरी र पाँचपटक चुनाव जितेका हृदयेश त्रिपाठीबीचको भिडन्त रोचक हुने भएको छ । चौधरीलाई वाम–लोकतान्त्रिक गठबन्धनको साथ छ । जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठी एमालेको सहयोगमा चुनावी मैदानमा भएकाले प्रतिस्पर्धा रोचक बनेको हो ।  

उद्योगपति एवं कांग्रेस केन्द्रीय सदस्य चौधरी सांसद बन्न पहिलोपटक प्रत्यक्ष रूपमा निर्वाचनमा होमिएका छन् । उनी यसअधि समानुपातिकतर्फबाट सांसद भएका थिए । अघिल्लोपटक एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका त्रिपाठी अहिले एमालेको समर्थन भए पनि आफ्नै पार्टीको चुनाव चिह्नबाट मैदानमा छन् । अहिलेसम्म ६ पटक निर्वाचन लड्दा त्रिपाठीले ०७० को संविधानसभाको निर्वाचनमा मात्र पराजय बेहोरेका थिए । 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत र स्वतन्त्र गरी १६ जना प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । तर, यस क्षेत्रमा प्रमुख प्रतिस्पर्धा चौधरी र त्रिपाठीबीच नै हुने देखिएको छ । त्रिपाठी यस क्षेत्रमा लामो समयदेखि राजनीतिमा पकड जमाएका मधेसका नेता हुन् । चौधरी एकपटक एमालेबाट र एकपटक कांग्रेसको समानुपातिकबाट गरी दुईपटक प्रतिनिधिसभाका सांसद हुँदै तेस्रो कार्यकालका लागि प्रत्यक्ष रूपमा जनतामाझ मत माग्न हिँडेका छन् । 

‘३५ वर्षसम्म यस क्षेत्रलाई विकासबाट पछाडि राखिएको रहेछ । मैले पाँच वर्षभित्र जति गर्न सक्छु त्यति मात्र वाचा गर्छु । यहाँ कृषिलाई आधुनिकीकरण गर्न, यहाँको केरा, तोरी, उखुजस्ता उत्पादनलाई उद्योगसँग जोडेर यस क्षेत्रलाई समृद्ध गराउन सकिन्छ,’ चौधरीले भने ।

देशको आर्थिक विकास तीव्र गतिमा अघि बढाउन, नवलपरासीलाई विकासका दृष्टिले देशकै नमुना बनाउन, राजनीतिक नेतृत्व र व्यवस्थापकीय कौशलताको संयोजन गर्न, लगानीमैत्री वातावरण बनाउन, युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गरी देशमै रोजगारीका लागि भन्दै चौधरीले मत मागेका छन् । 
त्रिपाठीले थप धेरै काम गर्नका लागि आफ्नो जित आवश्यक भएको बताए । ‘मैले सुरु गरेका अधुरा योजना पूरा गर्न म पुनः उम्मेदवार बनेको छु । मेरो कारण वा जनप्रतिनिधिका कारण मतदाताको शिर झुक्न दिन्नँ,’ उनले भने ।

चौधरी र त्रिपाठी दुवै उम्मेदवार अहिले मतदाताको मन जित्ने अभियानमा घरदैलो गरिरहेका छन् । कतिपय विषयमा उनीहरूले एक–अर्कालाई आरोप लगाउँदै आफूलाई भोट माग्ने गरेका छन् । चौधरीले पटक–पटक यस क्षेत्रबाट निर्वाचन जितेर पनि त्रिपाठीले केही गर्न नसकेको भन्दै आफू विकासको एजेन्डा बोकेर मत माग्दै आएको बताउने गरेका छन् । त्रिपाठीले विगतमा आफूले गरेको कामको जस लिने र गर्न नसकेका कामहरू पूरा गर्ने प्रतिबद्धताका साथ घरदैलोमा पुगेका छन् । 

स्वतन्त्र उम्मेदवारको चुनौती 
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरूसमेत उत्साहित देखिएका छन् । लौरो चुनाव चिह्न लिएर चुनावमा होमिएको नेपाली जनता पार्टी, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरूका कारण कांग्रेसका चौधरी र जनता प्रगतिशीलका त्रिपाठी दुवैका लागि चुनौती बनेको छ । चुनावमा अरू दल तथा स्वतन्त्र उम्मेदवारले ठूला दलको मत घटाउने भएकाले चौधरी र त्रिपाठी दुवैलाई चुनौती थपिएको हो ।

यस्तो छ स्थानीय तह निर्वाचनको अंकगणित
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा वडाध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा गठबन्धनमा आबद्ध दलको मत बढी देखिन्छ । कांग्रेसको ३० हजार ३४२, एमालेको २६ हजार ७७९, राप्रपाको ६ हजार ६८७, माओवादीको पाँच हजार ३४७, जसपाको तीन हजार ५५९, एकीकृत समाजवादीको एक हजार १४१, लोसपाको सय मत छ । त्रिपाठीको दल जनता प्रगतिशील पार्टीले स्थानीय चुनावमा प्रतापपुर गाउँपालिकाबाहेक अन्यत्र उम्मेदवारी दिएको थिएन । प्रतापपुर गाउँपालिका अध्यक्षमा सो पार्टीका उम्मेदवारले तीन हजार ८०८ मत पाएका थिए । यही मतलाई आधार मानेर एमालेसँग जोड्दा त्रिपाठीभन्दा चौधरी अगाडि देखिन्छन् । सुस्ता, प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिका स्थानीय चुनावमा कांग्रेसले जितेको थियो भने सरावल गाउँपालिका एमालेले जितेको थियो ।

ad
ad