
किराँत धर्मका महागुरु एवं १६औं राष्ट्रिय विभूति मुहिङ्गुम अङ्सिमाङ् फाल्गुनन्द लिङ्देनको पूर्णकदको सालिक अनावरण गरिएको छ। समाज सुधारक फल्गुनन्दको १३८औं जन्मोत्सवको उपलक्ष्यमा आयोजित भब्य कार्यक्रमबीच सदरमुकाम फुङलिङमा किराँत धर्मगुरु आत्मनन्द लिङ्देन र गुरुआमा पवित्राहाङ् साँवा लिङदेनले सालिक अनावरण गरेका हुन्।
एउटै ढुंगाबाट बनेको १३.५ टन वजन भएको १५ फिट अग्लो सालिक अनावरण गरिएको हो। ईलामको लारुम्बामा हुँदै आएको फल्गुनन्द जन्मोत्सवको केन्द्रीय कार्यक्रम यस वर्ष भने ताप्लेजुङमा गरिएको हो। ताप्लेजुङमा फाल्गुनन्द लिङ्देनको १३८औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रदेश १ का प्रमुख पर्शुराम खापुङकोसमेत उपस्थिती रहेको थियो।
फुङलिङ नगरपालिका ४ तोक्मे क्षेत्रमा सालिक अनावरणसँगै फुङलिङ– ६ काहुलेमा निर्माण भएको किराँत हाङसाम माङहिम तथा किराँत साम्यो माङ्सेवासावा थुम पाञ्जुम्भो भवनको समेत किराँत धर्मका गुरु दम्पती आत्मानन्द र पवित्राले उद्घाटन गरे। सालिक निर्माण समितिका अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूले एउटै ढुंगा कुँदेर महागुरु फाल्गुनन्दको यति धेरै अग्लो र वजनदार सालिक नेपालमा पहिलोपटक निर्माण गरिएको बताए।
सालिक बनाउन करिब एक करोड रुपैयाँ खर्च भएको र अहिलेसम्मको निर्माण लगानीमा धार्मिक व्यत्तित्व र दाताहरुको सहयोग रहेको फेम्बोले बताए। किराँत गुरु फाल्गुनन्दको ईलाम माङ्सेबुङमा वि.स.१९४२ कर्तिक २५ गते जन्म भई वि. सं. २००५ सालमा देहान्त भएको थियो। फाल्गुनन्दले समाज सुधारका निम्ति वि.सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य धर्म मुचुल्का’को नीति विश्व समुदायमा छाएको छ।