मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १७ शनिबार
  • Saturday, 03 December, 2022
नगरपालिकाले डोजर लगाएपछि त्यहीँ ठाउँमा टहरा लगाएर बसेको दमक–७ स्थित पञ्चमुखी टोलको सुकुमबासी बस्ती । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका 
२०७९ कार्तिक २५ शुक्रबार १६:४०:००
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

सुकुमबासी बस्तीमा भाेट माग्न डराउँछन् उम्मेदवार

नगरपालिकाले सुकुमबासी बनाएका बस्तीमा भाेट माग्न छिरेनन् उम्मेदवार !

Read Time : > 1 मिनेट
२०७९ कार्तिक २५ शुक्रबार १६:४०:००

दमक– ७ स्थित पञ्चमुखी टोलका सुकुमबासी बालकुमार राईको घरमा ०७७ चैत अन्तिम साता दमक नगरपालिकाले डोजर चलाएपछि सात सदस्यीय उनको परिवार टहरामै छ।

घर भत्काएपछि पनि त्यहाँबाट हटाउन नगरपालिकाले पटक–पटक प्रहरी लगाएर लखेट्न खोज्यो। अन्त कतै बस्ने ठाउँ नभएपछि प्रहरीको लाठी र धम्कीको सामना गरेर उनको परिवार घर भत्काएकै ठाउँमा सानो टहरा बनाएर बसेको छ। 

उनको घर भत्काएपछि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । दमक नगरपालिकाको सत्ता पनि एमालेबाट राप्रपामा आइपुग्यो। तर, सुकुमबासी बस्तीमा जनप्रतिनिधि पुगेनन्। स्थानीय तहको निर्वाचनमा पनि कोही पुगेनन्, अहिले पनि उम्मेदवार पुगेका छैनन्। 

‘हामीसँग धेरै प्रश्न थियो। उम्मेदवारले यसरी टहरामा बसेको देखेका थिए । त्यो प्रश्नको डरले पनि उम्मेदवार यहाँ भोट माग्न आइपुगेनन्,’ बालकुमारले नयाँ पत्रिकासँग भने । बर्खामा खुट्टा डुब्ने पानी र हिउँदको शीतलहरलाई खेप्दै उनीहरूको दैनिकी बितिरहेको छ। 

‘वरिपरि भोट माग्दै आए। नेताको भाषण पनि सुनियो । तर, हाम्रो बस्तीसम्म आइपुगेका छैनन्,’ बालकुमार भन्छन्, ‘निकै अस्ति होम थापा (एमालेबाट झापा–५ (ख) का उम्मेदवार)लाई लिएर राधाकृष्ण आचार्य (स्थानीय तहमा एमालेबाट दमक– ७ का उम्मेदवार) आएका थिए । होम थापालाई  भोट दिनुपर्छ है भने । होम थापा केही बोलेनन्। सत्तामा हुँदा लखेटे । हामीले पनि केही भनेनौँ।’

डेढ वर्षदेखि साना बालबच्चासहित टहरामा बसेका मनीष बराइलीलाई चुनावका वेलामा दलका उम्मेदवारलाई प्रश्न सोध्नु छ। तर, उम्मेदवार बस्तीमा नआउँदा उनले प्रश्न गर्न पाएका छैनन्। 

‘हामी टहरमा कहिलेसम्म बस्नुपर्ने हो ? राज्यलाई हानि हुने गरी हामीले के गर्‍यौँ र सजाय दिएको भनेर उम्मेदवारलाई प्रश्न गर्नुछ,’ उनी भन्छन्, ‘यो चुनावको समयमा त कम्तीमा हाम्रो बिजोग देख्छन् होला नि !’ टोलमा न खानेपानी छ त त शौचालय नै। बिजुली नजिकैका घरबाट तानेका छन् । ट्युबेलको दुषित पानी प्रयोग गर्छन्। 

पञ्चमुखी टोलका बलबहादुर विश्वकर्मालाई अझै आस छ, कतै सरकारले व्यवस्थापन गर्ला कि! नगरपालिकाले घर भत्काएपछि डेढ वर्षदेखि टहरामुनि दैनिकी बिताइरहेका बलबहादुर यसपटकको चुनावमा नेतालाई आफ्ना समस्या राख्न चाहन्छन्।

‘हामीले कसरी कष्टकर जीवन बिताइरहेका छौँ ? त्यो उम्मेदवारलाई देखाउन चाहान्छौँ,’ उनी भन्छन्, ‘हाम्रो कष्ट हेरेर भए पनि सरकारले केही गर्थ्याे कि ! अन्त कतै केही भएभए यस्तो बिजोग भएर किन बस्थ्यौँ । सरकारले यो कुरा किन बुझ्दैन?’

नगरपालिकाले बस्ती भत्काउनुअघि र भत्काएपछि त्यहाँका स्थानीयले सुकुमबासी आयोगले दिएको फर्म बारम्बार भरे । तर, जग्गा पाउने अत्तोपत्तो छैन । ‘जग्गा पाउँछौ फर्म भर भने । फर्म पनि कतिपटक भरियो–भरियो । तर, जग्गा पाइएन,’ उनी भन्छिन्, ‘अरू वेला त यस्ता कुरा सुन्दैनन् । कम्तीमा चुनावमा भन्न पाए त पछिसम्म सम्झिरहन्थे।’

नेताहरू बस्ती नआए पनि चुनाव नजिकिएपछि बस्तीको समस्या समाधान गर्ने आश्वासन आइरहेको सञ्चु बताउँछिन् । ‘हाम्रो गाउँमा त नेताहरू भोट माग्न आइपुगेका छैनन् । तर, बाहिरचाहिँ व्यवस्थापन गर्छौँ। अर्को ठाउँमा भए पनि जग्गा दिएर राख्छौँ भन्छन् रे,’ उनी भन्छिन्, ‘पहिला पनि धनीपुर्जा दिन्छौँ भनेर भोट मागे । तर, जितेर गएपछि हामी गरिबको घर डोजर लगाएर भत्काए । चुनावका वेलामा भनेकाे त खासै विश्वास लाग्ने हुँदैन । तैपनि गरिब भएपछि आस गर्नुबाहेक केही विकल्प रहेनछ।’