१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार ११:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विकासको भोकले अत्तालिएको गँगटेमा नेताहरू भोट माग्छन् अनि फर्किँदैनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:४६:oo

दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा एमालेबाट उम्मेदवार बनेकी कोमल वली गएको कात्तिक १५ गते दाङको विकट क्षेत्र  गँगटे पुगिन् ।  बबई गाउँपालिका– १ मा पर्ने त्यहाँ वली पुगेको केही दिनमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दीपक गिरी  पुगे । 

बबई गाउँपालिकाको केन्द्र हापुरेबाट गँगटेको दुरी २४ किलोमिटर मात्रै छ । तर, त्यहाँ पुग्न यी दुवै उम्मेदवारलाई करिब साढे दुई घन्टा लाग्यो । किनकि त्यहाँको सडकको अवस्था निकै दयनीय छ ।  एकपटक उम्मेदवार जितेपछि होस् वा हारेपछि अर्कोपटक त्यहाँ फर्केर जाँदैनन् नेता । 

चुनावको वेला पुग्ने, तर अन्य समयमा चासो नदिने भएपछि त्यहाँका नागरिकले असन्तुष्टि व्यक्त गरेका छन् । ‘चुनावको वेला नेताहरू आउनुहुन्छ, भोट हाल्न भन्नुहुन्छ,’ स्थानीय उषा मगरले भनिन्, ‘हामी भोट हाल्छौँ, तर जितेपछि फर्केर पनि आउनुहुन्न । ’ 

यी दुवै उम्मेदवारले अहिले भने गँगटेको विकासका लागि दत्तचित्त भएर लाग्ने र जितहार जे भए पनि समयसमयमा गँगटे आउने प्रतिबद्धता जनाए । 

विकट क्षेत्रको रूपमा रहेको गँगटेलाई दाङको कर्णालीका रूपमा पनि लिइन्छ । नाजुक सडक सञ्जालले आधा घन्टाको बाटो साढे दुई घन्टा लाग्छ । सोही गाउँ जाने सडकको ट्रयाक खोलेको १० वर्ष पुगिसक्दा पनि स्तराेन्नतिमा वृद्धि हुन नसक्दा वर्षातको समयमा आवतजावत ठप्प हुन्छ भने अन्य समयमा धुलाम्मे हुने गरेको छ । 

गँगटेमा कक्षा १० सम्म पढाइ हुने एउटा विद्यालय छ । त्यसभन्दा माथिको शिक्षा लिन कि त तुलसीपुर कि त नेपालगन्ज जानुपर्ने बाध्यता छ।  ‘यहाँ उच्च शिक्षाका लागि एउटा क्याम्पस पनि छैन,’ स्थानीय गम्बर रोकाले भने, ‘यहाँ क्याम्पस नहुँदा धेरैजना कक्षा १० पढ्ने र त्यसपछि पढाइ छोड्ने गरेका छन्।’ त्यहाँ खानेपानी समस्या पनि उस्तै छ। नजिक पानीको मुहान छैन।  टाढाटाढाबाट पानी बोकेर ल्याउनुपर्छ। खानेपानीका धारा ल्याउन पटक–पटक गँगटेवासीले माग गरे । तर, ती माग सम्बोधन हुन सकेनन् । 

विद्युतको त्यस्तै समस्या छ। गएको वर्ष बबई गाउँपालिकाले त्यहाँ विद्युत् पुगेको भनी उद्घाटन गर्‍यो । बिजुली त्यो दिन मात्रै  बल्यो, त्यसको अर्को दिनदेखि बल्न छोडेको त्यहाँको बिजुली अहिलेसम्म पनि बलेन। गाउँगाउँमा विद्युतका पोल गाडिएकै दुई वर्ष भइसक्यो । तर, ती पोलमा तारसमेत जोडिएको छैन। 

त्यहाँका बासिन्दाले पटक–पटक उम्मेदवाहरूलाई सडक र  विद्युतकै माग राख्छन् । तर, नेताहरू एउटा कानले सुन्छन् र अर्काे कानले उडाउँछन् । त्यहाँको तीनतले भन्ने स्थानमा केही समयअघि टेलिकमको टावर निर्माण भयो । त्यही टावरले काम चलेको छ । त्यसभन्दा पहिले सञ्चारका हिसाबले पनि शून्य थियो। अहिले तीनतले टावरले काम गरिरहेको भए पनि प्रभावकारी नभएको भन्दै अझै अर्को टावर आवश्यक पर्ने स्थानीय श्याम केसी बताउँछन् । 

त्यहाँ स्वास्थ्यको पनि त्यस्तै समस्या छ । एउटा स्वास्थ्यचौकी छ । त्यो स्वास्थ्यचौकीमा सामान्य खालको उपचार हुन्छ । त्यसपछि ठूलो–ठूलो उपचार गर्न पनि तुलसीपुर तथा नेपालगन्ज नै जानुपर्छ । सडक नभएको अवस्थामा बिरामीलाई एक दिनभर बोकेर लैजानुपर्ने अवस्था छ । त्यहाँ बबई नदीमा तटबन्ध पनि छैन भने स्थानीय खोलाहरूमा पनि पुल बन्न नसकेको अवस्था छ । यसले पनि त्यहाँका नागरिकको जीवनस्तर कष्टकर छ । 
 

ad
ad