
पाँच हजार रुपैयाँ घुससहित पक्राउ परेका कार्यालय सहयोगीविरुद्ध दुई लाख ६६ हजार रुपैयाँ बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
डिल्लीबजार मालपोतमा कार्यरत पाँचौँ तहका कार्यालय सहयोगी होमनाथ खतिवडालाई अख्तियारको टोलीले यही ४ कात्तिकमा पाँच हजार घुससहित रंगेहात पक्राउ गरेको थियो।
मोही लगत कट्टा गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिएका उनलाई उजुरीपछि अख्तियारको टोलीले कार्यालय परिसरबाटै पक्राउ गरेको थियो। रंगेहात पक्राउपछि खानतलासीका क्रममा अख्तियार टोलीले खतिवडाबाट तीन लाख १८ हजार रुपैयाँसमेत बरामद गरेको थियो।
स्रोत पुष्टि गर्न नसकेपछि त्यसमध्येको दुई लाख ६१ हजारको स्रोत तथा प्रयोजन पुष्टि नभएपछि उक्त रकमसमेतलाई बिगो कायम गरेर अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको छ। जफत रकम बरामद गर्नसमेत आयोगले भनेको छ।