१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १४:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

बैंकको चर्को ब्याजविरुद्ध धनगढीका व्यवसायी प्रदर्शनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १४:३६:oo

बैंक तथा वित्तीय संस्थाहरूले कर्जामा लगाएको चर्को ब्याजदरको विरोध गर्दै धनगढीका व्यवसायी प्रदर्शनमा उत्रिएका छन्। 

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा यहाँका व्यवसायीले चर्को ब्याजदरविरुद्ध बुधबार धनगढी बजारस्थित चौराहादेखि नेपाल राष्ट्र बैंकसम्म मौन जुलुस प्रदर्शन गरेका हुन्।      

बैंक तथा वित्तीय संस्थाले कर्जामा बढाएको चर्को ब्याजदरले उद्योग, व्यवसाय धराशायी हुन थालेपछि विरोधमा उत्रनुपरेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए। 

बैंकहरूले ब्याजदर बढाउँदा उद्योग, व्यवसायमा लगानीसमेत घटेको उनले बताए। व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाको ब्याजमा एकल अंक कायम गर्नुपर्ने माग गरेका छन्।

‘ब्याजदर चर्को बढाउँदा उद्योगी, व्यवसायी पलायन हुनुपर्ने अवस्था छ। नयाँ लगानी गर्न सक्ने अवस्था छैन,’ अध्यक्ष कुँवरले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूबाट बारम्बार गरिने ब्याजदर वृद्धिले उद्योग, व्यवसायसँगै समग्र अर्थतन्त्र धराशायी बन्ने अवस्थामा पुगेको छ।’ 

पटकपटकको ब्याजदर वृद्धि, कर्जा भुक्तानीका क्रममा बैंक तथा वित्तीय संस्थाबाट दिइने मानसिक यातना र चर्को सेवा शुल्क अब निजी क्षेत्रले धान्न नसक्ने अवस्थामा पुगेको उनले बताए।

ब्याजदर घटाउनुपर्ने, बैंकहरूले सेवा शुल्क, कर्जा स्वीकृति शुल्क, एलसी नेगोसिएसन शुल्कमा गरिएको दोब्बर वृद्धिलाई घटाएर यसअघिकै कायम गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूले अगाडि बढाएको धितो लिलामको प्रक्रिया तत्काल रोक्नुपर्नेलगायतका माग गर्दै संघले नेपाल राष्ट्र बैंक धनगढीमार्फत राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई ज्ञापनपत्रसमेत बुझाएको छ। 

ad
ad