
एमाले सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार योगेशकुमार भट्टराईले किराँत धर्मका गुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरी जन्मजयन्तीका दिन बिदा दिने चलन एमाले नेतृत्वको सरकारले सुरु गरेको बताएका छन्। मेरिङदेन गाउँपालिकाको केन्द्र सुलुम्फीमा एमाले ताप्लेजुङले आइतबार गरेको तेस्रो चुनावीसभालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्।
फाल्गुनन्दकै सम्मानका लागि भन्दै एमालेले यसअघि मैवाखोला गाउँपालिकामा २५ कात्तिकका लागि तय गरेको चुनावी कार्यक्रमसमेत एक दिन पर सारेको भट्टराईले बताए। फाल्गुनन्दको १३८औँ जन्मजयन्तीको अवसरमा ताप्लेजुङको फुङलिङमा निर्मित नेपालकै ठूलो मानिएको फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण गर्ने तयारी छ। सालिक १५ फिट अग्लो १ सय ३५ क्विन्टल वजनको छ।
एमाले जाति–जनजातिको पहिचान, जातीय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न लडेको शक्ति भएको भन्दै उनले सो पार्टीको एउटा सिपाहीका हिसाबले आफू सोही अभियानमा तल्लीन रहेको बताए।
भट्टराईले एमाले शान्तिपूर्ण प्रतिस्पर्धामा विश्वास राख्ने भन्दै एमाले नेतृत्वको सरकारका पालामा द्वन्द्वरत विप्लव नेतृत्वको नेकपा, पृथकतावादी आन्दोलनमा रहेको सिके राउत समूहसहितका अन्य सशस्त्र आन्दोलनरत पक्षलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सकेको जिकिर गरे।
भट्टराईले एमाले र माओवादी बीचको वाम एकता टुट्नुलाई दुर्भाग्यपूर्ण भन्दै प्रचण्डको उग्र महत्वाकांक्षा र अरू केही प्राविधिक विषयले वाम एकता टुटेको बताए। एउटै कम्युनिस्ट पार्टी बनाउने एजेन्डा समाप्त भने नभएको उनको भनाइ छ।
ताप्लेजुङमा भट्टराई र सत्तारुढ गठबन्धनका माओवादी उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। प्रतिनिधिसभामा भट्टराई र बुढाक्षेत्रीसहित ११ जना उम्मेदवार छन्।