
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको विरोधमा भित्तेलेखन सुरु गरेको छ।
नेकपाले चुनावको विरोध गर्दै मकवानपुरका विभिन्न पालिकाहरूमा भित्तेलेखन अभियान सुरु गरेको हो।
नेकपाले मकवानपुरका दशवटै पालिकामा भित्तेलेखन अभियान सुरु गरेको नेकपा जिल्लाका सचिवालय सदस्य विवेक घलानले बताए। उनले निर्वाचनको विरोधमा भित्तेलेखनसँगै पर्चा वितरण र मसाल जुलुस प्रदर्शन गर्ने बताए।
‘जनताको चाहनाविपरीत जबर्जस्ती थोपरिएको चुनाव प्रत्युत्पादक हुने भएकाले विरोध गरेका हौँ। यो चुनावले देशको ढुकुटी रित्याउने र दलाल पुँजीवादी मोटाउने मात्र हो । मंसिर ४ गतेको चुनावले जनचाहना पूरा गर्दैन,’ घलानले भने।
सचिवालय सदस्य घलानले जिल्लाको दशवटै पालिकामा विरोध कार्यक्रम गर्ने अभियानअन्तर्गत अहिले हेटौँडा उपमहानगरपालिका, कैलाश, मनहरी, मकवानपुरगढीलगायतका पालिकाहरूमा अभियान चलिरहेको र एक–दुई दिनमै सबै पालिकामा अभियान चलाउने बताए।