१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १७:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लमजुङमा नमुना मतदान, २४ प्रतिशत मत बदर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:४४:oo

बदर मत कम गर्ने उद्देश्यले लमजुङमा नमुना मतदान गरिएको छ। जिल्ला निर्वाचन  कार्यालयले ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शनिबार नमुना मतदान गरेको हो।

सदरमुकाम बेँसीसहरको फूलबारी मैदानको चारैतिर डोरीले बाँधिएको थियो भने छेउछाउमा प्रहरी तैनाथ थिए। बीचभागमा मतपत्र लेखिएको बाकस थियो। अर्कोतिर लाइन बसिरहेका मानिस थिए। उनीहरूले पालैपालो घेराबाट गएर नमुना मतपत्रमा मत दिएका थिए।

नमुना मतदानमा ३८ जना सहभागी भएका थिए। जसमा ९ मत पूर्ण रूपमा बदर भएका थिए। बेँसीसहर नगरपालिका ८ फूलबारीमा गरिएको नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनावचिह्नमा मत दिन सिकाइएको थियो। मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाइएको थियो।

कार्यक्रममा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी सुशील बैद्य, जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण सापकोटा, सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मी र स्थानीयको उपस्थिति थियो। 

नमुना मतदानका सबै विधि र प्रक्रियाहरू अवलम्बन गर्ने गरिन्छ। यो निर्वाचनमा ८ वटै पालिकामा नमुना मतदान हुँदै छ। स्थानीय चुनाव र अहिलेको मतपत्र फरक भएको र बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए। 

जिल्लाका सबै पालिकामा नमुना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाले बताए। सापकोटाका अनुसार जिल्लामा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० वटा मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन्।

जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन्। लमजुङमा निर्वाचन सुरक्षार्थ दुई हजार तीन सय ७६ सुरक्षाकर्मी खटिँदै छन्।
 

ad
ad