मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल सुर्खेत
२०७९ कार्तिक १९ शनिबार १२:१८:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा को कति बलियो ?

Read Time : > 2 मिनेट
रमेश रावल, सुर्खेत
२०७९ कार्तिक १९ शनिबार १२:१८:००

कर्णाली प्रदेश सभामा तत्कालीन एमाले सांसद रहेका प्रकाश ज्वालाको नेतृत्वमा चार सांसद्ले विद्रोह गरेपछि त्यो विद्रोह एमालेभित्र डढेलोझैँ फैलियो । त्यो विद्रोह नै अहिलेको सत्तागठबन्धनको बिऊ थियो । 

विद्रोहको नेतृत्व गरेबापत ज्वालासहितका चार सांसदलाई एमालेले निष्काशन गर्यो । तिनै ज्वाला अहिले सल्यानबाट प्रतिनिधिसभा सदस्यका लागि सत्तागठबन्धनका उम्मेदवार छन् । 

एकीकृत समाजवादीका नेता ज्वालालाई एमालेका नवप्रवेशी राजेन्द्रवीर रायले चुनौती दिइरहेका छन् । यो चुनातीमा थपिएका छन्, कांग्रेसका बागी उम्मेदवार राजेन्द्रबहादुर शाह ।

छैटौंपटक चुनावी मैदानमा उत्रिएका एकीकृत समाजवादीका ज्वालालाई कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाको साथ छ । 

ज्वाला प्रदेशसभासहित तीन पटक संसदीय चुनाव जितेका र दुई पटक हार चाखेका पूर्वएमाले नेता हुन् भने उनका मुख्य प्रतिस्पर्धी राय एमालेका नवप्रवेशी हुन् । राय तिनै नेता हुन् जसलाई ज्वालाले ०७४ को प्रदेशसभा निर्वाचनमा सल्यान ‘ख’मा हराएका थिए । 

०७४ राप्रपाबाट निर्वाचन लडेका राय हालै मात्र एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नुअघि उनी कमल थापा नेतृत्वको राप्रपा नेपालका उपाध्यक्ष थिए । त्यतिखेर ज्वाला १९ हजार ८३६ मतसहित विजयी हुँदा कांग्रेसका डिल्लीराज रेग्मीले ११ हजार ६३० मत पाएका थिए भने तेस्रोमा झरेका रायले ६ हजार ५४ मत मात्र ल्याएका थिए ।

ज्वाला र शाह ०५१ देखिका प्रतिस्पर्धी
गठबन्धनको समर्थनमा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका ज्वाला र कांग्रेसका बागी शाहबीचको चुनावी प्रतिस्पर्धा ०५१ देखिको हो, यो उनीहरूबीचको तेस्रो भेट हो । छटौं पटक चुनावी मैदानमा रहेका ज्वाला र शाहले क्रमशः तीन र दुई पटक जित निकालेका छन् । 

०५१ को आम निर्वाचनमा सल्यान–१ बाट चुनाव लडेका शाहले ज्वालालाई हराएका थिए तर ०५६ मा भने ज्वालाले बदला लिए । ज्वाला ०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका टेकबहादुर बस्नेतसँग पराजित भए । 

०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन सल्यान–१ छाडेर २ बाट चुनाव लडे । र, माओवादीका भीमप्रकाश शर्मालाई हराए । ०७४ मा संघबाट प्रदेशसभामा झरेर ‘ख’बाट चुनाव जित्दै कर्णाली प्रदेशको मन्त्री बने ।

कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्रबाट चुनावी मैदानमा रहेका शाह ०४३ देखि चुनाव लड्दै आएका छन् । पाँच पटक चुनाव लडेका उनले तीन हार चाखेका छन् ।

०४३ मा राष्ट्रिय पञ्चायत सदस्यमा मरिचमान सिंहसँग हारेका शाहले ०४८ मा सल्यान–१ बाट विजयी भएका थिए । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी माओवादी केन्द्रका टेकबहादुर बस्नेतसँग पराजित भए । 

वाम गठबन्धनका बस्नेत ४० हजार ८९७ मत ल्याएर निर्वाचित हुँदा शाहले २९ हजार ७६७ मत प्राप्त गरेका थिए । ४ मंसिरमा हुने प्रतिनिधिसभामा भने ज्वाला र शाह आमनेसामने भएका छन् ।

सल्यानमा एक प्रतिनीधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभाका लागि ज्वाला, राय र शाहसँगै राप्रपाबाट नेत्रलाल श्रेष्ठ, मालेबाट भीमबहादुर वली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पवनराज देवकोटा, स्वतन्त्रबाट राजेन्द्रबहादुर शाह र जुद्धबहादुर सिंह उम्मेदवार बनेका छन् ।

यस्तो विगतको अंक गणित 
स्थानीय तहको नतिजा हेर्दा सल्यानमा कांग्रेस पहिलो दल बनेको छ । वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेससँग ३३ हजार ६१६ मत छ । माओवादीले २६ हजार ७१३ मत रहँदा एकीकृत समाजवादीको ९ हजार ४६७ मा छ । 

तेस्रो एमालेको मत २६ हजार ६२८ रहेको छ । राप्रपाको मत २ हजार ११७ र राप्रपा नेपालको मत १३६ रहेको छ । ०७४ को स्थानीय तहको निर्वाचनमा १० वटा पालिकामध्ये एमालेले चार पालिका प्रमुख, कांग्रेसले तीन, माओवादीले तीन पालिकाको नेतृत्व पाएको थियो ।

१० वटा पालिकामध्ये कांग्रेसले पाँच वटा जितेको छ । एमाले र माओवादीले दुई–दुई पालिका जित्दा एकीकृत समाजवादीले एउटा पालिकामा चित्त बुझाएको थियो । सल्यानमा ७९ हजार ३३ मतदाता छन् १०३ मतदान केन्द्र रहेका छन् ।