१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o७:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मतदाता शिक्षामा आयोग आक्रामक, वडा–वडामा स्वयंसेविका परिचालन 

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:३९:oo

१ मंसिरसम्म ६ हजार सात सय ४३ वडामै कार्यक्रम सञ्चालन हुने

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम आजदेखि वडा तहसम्म विस्तार गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदातालाई सक्रिय सहभागी गराउन तथा बदर मत न्यूनीकरण गर्न आयोगले एक महिनाअघि नै मतदाता शिक्षा नीति निर्देशिका तयार पारेरको थियो । आयोगले नयाँ र पृथक् कार्यक्रमका रूपमा शुक्रबारदेखि मतदाता शिक्षा घरदैलो कार्यक्रम प्रारम्भ गरेको हो । 

‘मतदाताको सहभागिता बढाउन, बदर मत प्रतिशत न्यूनीकरण गर्ने, सुसूचित मतदाता तयार पार्ने उद्देश्यले समुदायस्तरसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न खोजेका हौँ,’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने । सबै स्थानीय तहको समन्वय, सहकार्य र सहयोगमा १ मंसिरसम्म देशभरका सबै ६ हजार सात सय ४३ वडामा कार्यक्रम सञ्चालन हुने उनले बताए । कार्यक्रमअन्तर्गत हरेक वडामा स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकिएको छ । यससम्बन्धी प्रशिक्षणसमेत पाइसकेका उनीहरूलाई मतदाता शिक्षा सामग्रीसहित जिल्ला निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तहमार्फत प्रत्येक वडामा खटाउनेछ । 

स्वयंसेविकाले के गर्छन् ?
मतदाता शिक्षा कार्यकर्ता तोकिएका स्वयंसेविकाहरूलाई आयोगबाट छपाइ गरेर पठाइएका विभिन्न किसिमका जानकारीमूलक ब्रोसर दिइएको छ । मतदान र आचारसंहिताको महत्वलगायत जानकारी दिने गरी मतदातामाझ ‘फ्लिप चार्ट’ प्रस्तुत गर्नुपर्ने छ । यी सामग्रीको माध्यमबाट स्वयंसेविकाले समुदाय तथा टोलस्तरमा मतदाता शिक्षा दिनुपर्नेछ । उनीहरूले अल्पसंख्यक, सीमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिनेछन् । 

मतदाता शिक्षा कार्यक्रमलाई एक करोड ८० लाख मतदातासमक्ष पुर्‍याउने योजनासहित एक स्वयंसेविकले १५ मतदाताको समूहमा निर्वाचनसम्बन्धी जानकारीमूलक विषय जानकारी दिनुपर्नेछ । जसअन्तर्गत मतदान गर्ने सही तरिका बताउने ब्रोसर तथा फ्लिप चार्ट, मतपत्र कसरी मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म कसरी पुग्नेलगायत जानकारी हुनेछ । स्वयंसेविकाबाट हुने मतदाता शिक्षा घरदैलो कार्यक्रमको अनुगमन जिल्ला निर्वाचन अधिकृतको कार्यालयको समन्वयमा स्थानीय तहबाट हुनेछ । कार्यालयमार्फत आयोगलाई प्रतिवेदन बुझाउनुपर्नेछ । ‘यो कार्यक्रम देशभर एकैसाथ एकै तरिकाले सञ्चालन हुनेछ । यसले अर्थपूर्ण र सुसूचित मतदाताको सहभागिता बढाउनेछ,’ सहायक प्रवक्ता अर्यालले भने । 

यस्ता छन् अन्य कार्यक्रम
यसका अतिरिक्त मतदाता शिक्षाको अडियो उत्पादन, भिडियो उत्पादनदेखि लिएर रेडियो, टेलिभिजनबाट समेत सामग्री सम्प्रेषण भइरहेको अर्यालले बताए । ‘टेलिभिजन र रेडियो कार्यक्रममार्फत पनि मतदाता शिक्षा दिइरहेको छ । सामाजिक सञ्जालबाट, अनलाइनबाट मतदाता शिक्षा कार्यक्रम चलिरहेको छ,’ उनले भने । आयोगले सांगीतिक कन्सर्ट, लोकदोहोरीका माध्यमबाट पनि मतदातालाई सचेत बनाउने प्रयास गरिरहेको अर्यालले बताए । सेलेब्रिटी र लोकप्रिय व्यक्तिबाट विज्ञापन बनाउने र भक्स–पपहरूबाट मतदातासँग जोडिने प्रयत्न गरिरहेको उनको भनाइ छ ।

मतदाता शिक्षाअन्तर्गत आयोगले नमुना मतदान पनि राखेको छ । स्थानीय तहको समन्वयमा प्रत्येक पालिकामा नमुना मतदान भइरहेको छ । पालिकाको पायक पर्ने ठाउँमा सम्भव भएसम्म सबै वडाका मतदाता समेटिने गरी नमुना मतदानस्थल तोकी नमुनापत्र प्रयोग गरेर नमुना मतदान कार्यक्रम सञ्चालन भइरहेको सहायक प्रवक्ता अर्यालले जानकारी दिए । नमुना मतदानका लागि एक महिनाअघि नै जिल्लामा पर्याप्त मतपत्र पठाइसकिएको छ । कतिपय जिल्लामा यो सम्पन्न भइसकेको छ भने कतिपय ठाउँमा सञ्चालनमै रहेको उनले बताए । 

मतदाता शिक्षामा ५० करोड बजेट
आयोगले मतदाता शिक्षाका लागि ५० करोडको बजेट छुट्याएको छ । तर, यो सबै बजेट खर्च हुने अवस्था नरहेको सहायक प्रवक्ता अर्याल बताउँछन् । ‘मतदाता शिक्षा सामग्री सबै छपाइ सकिएर गइसकेको छ । केही कार्यक्रम सञ्चालन हुँदै छन् । त्यसपछि मात्रै कति खर्च भयो, यकिन विवरण आउला,’ उनले भने ।

निर्वाचन आयोगले चारवटा प्रदेशमा प्रत्यक्ष र समानुपातिकतर्फको सम्पूर्ण मतपत्र ढुवानी गरेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि आवश्यक मतपत्र ढुवानी सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले यातायात पुगेका ठाउँमा मालवाहक ट्रकबाट र यातायात सहज नभएको ठाउँमा हेलिकोप्टरबाट निर्वाचन सामग्री ढुवानी गरिरहेको छ ।

बिहीबार मात्रै मनाङ र मुस्ताङमा मतपत्र हेलिकोप्टरमार्फत ढुवानी गरेको छ । शुक्रबारदेखि प्रदेश १ मा प्रत्यक्षतर्फको मतपत्र ढुवानी सुरु हुने प्रवक्ता पौडेलले बताए । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र सबै ठाउँमा यसअघि नै ढुवानी भइसकेको छ । प्रत्यक्षतर्फको कुल चार करोड मतपत्रमा अब २५ लाख ९४ हजार मतपत्र छपाइ बाँकी छ । शुक्रबारसम्म सबै मतपत्र छपाइ सम्पन्न हुने प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार २५ कात्तिकसम्म प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगिसक्ने छ ।

माओवादीलाई हेलिकोप्टर प्रयोगको अनुमति 
आमसभा, जुलुस, कोणसभा गर्न पाउने गरी बिहीबारबाट खुला प्रचार सुरु भएसँगै माओवादीले देशव्यापी चुनावी अभियानमा सहभागी हुन हेलिकोप्टर प्रयोगको अनुमति लिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई मुख्य प्रचारक तोकेर माओवादीले बिहीबार आयोगमा निवेदन दिएको र आयोगले निर्णय गरेर अनुमति दिएको सहायक प्रवक्ता गुरु वाग्लेले जानकारी दिए । 

कुनै कसर बाँकी नराख्न राष्ट्रपतिको निर्देशन
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोगका पदाधिकारीलाई निर्देशन दिएकी छिन् । बिहीबार राष्ट्रपति भवन शीतलनिवास आएका आयोगका पदाधिकारीसँगको भेटमा निर्वाचनको व्यवस्थापन र तयारीका लागि आयोगले देखाएको क्रियाशीलताप्रति सन्तोष व्यक्त गर्दै भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनेतर्फ कुनै कसर बाँकी नराख्न निर्देशन दिएकी हुन् । भेटमा प्रमुख आयुक्त थपलियाले निर्वाचनको व्यवस्थापन र तयारीबारेमा जानकारी गराएका थिए । 

ad
ad