माथिल्लो कर्णाली जलविद्युत् : जिएमआरलाई दिएको म्याद थप कार्यान्वयन नगर्न अन्तरिम आदेश
माथिल्लो कर्णाली जलविद्युत् आयोजना (नौ सय मेगावाट)मा लगानी जुटाउन प्रवद्र्धक भारतीय कम्पनी जिएमआरलाई दिएको म्याद थपको समयावधि तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लगानी बोर्डको नाममा अन्तरिम आदेश दिएको हो ।
लामो समयदेखि लगानी जुटाउन नसकेको जिएमआरलाई ३१ असारको मन्त्रिपरिषद्ले थप दुई वर्ष म्याद दिने निर्णय गरेको थियो । त्यसपछि रतन भण्डारीले म्याद थप्न नहुने भन्दै सर्वाेच्चमा दिएको रिट निवेदनका आधारमा अन्तरिम आदेश जारी गरेको हो । सो निवेदन अन्तिम किनारा नलागेसम्म उक्त निर्णयको कार्यान्वयन यथास्थिति राख्नुपर्ने सर्वाेच्चको भनाइ छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका विपक्षीहरूले सूचना प्राप्त भएको १५ दिनभित्र म्याद थप्नुपर्ने कारणसहितको जवाफ पेस गर्न आदेश दिएको छ । निवेदकले पनि आदेश जारी गर्नुपर्ने कारणसहित जवाफ सर्वाेच्चमा पेस गर्नुपर्ने अन्तिरम आदेशमा उल्लेख छ ।
सरकारले माथिल्लो कर्णाली आयोजना बनाउन अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत जिएमआरलाई छनोट गरेको हो । सरकारसँग ०६५ मा सम्झौता गरेपछि जिएमआरले आयोजना निर्माणका लागि जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेड कम्पनी स्थापना ग¥यो । त्यसको ६ वर्षपछि अर्थात् ३ असोज ०७१ मा लगानी बोर्ड र जिएमआरबीच पिडिए सम्झौता हुँदा वित्तीय व्यवस्थापनका लागि दुई वर्ष म्याद दिएको थियो ।
तर, कम्पनीले लगानी जुटाउन नसकेपछि सरकारले ०७३ मा पहिलोपटक एक वर्षको म्याद थप गरिदियो । त्यस अवधिमा पनि लगानी नजुटेपछि ०७४ मा दोस्रोपटक एक वर्षकै म्याद थप भयो । तर, फेरि पनि लगानी जुटाउन सकेन । दोस्रोपटकको म्याद ०७५ असारमै सकिएपछि सरकारले थप समय दिन चाहेन । जिएमआरले ०७७ पुसमा व्यावसायिक योजनासहित बोर्डमा म्याद थपको आवेदन दियो । तर, बोर्डले लगानी जुटाउने अवधि थपिदिएन ।
सरकारले यस विषयमा निर्णय गर्न ०७८ असोजमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा सुझाव समिति बनायो । उक्त समितिले जिएमआरलाई लगानी जुटाउन म्याद थप गरिदिने सुझाव दियो । त्यसपछि मन्त्रिपरिषद्को गत ३१ असारको बैठकले लगानी जुटाउन दुई वर्ष म्याद थप गरिदिएको छ । सरकारको पछिल्लो निर्णयअनुसार जिएमआरले ०८१ असारभित्र लगानी जुटाइसक्नुपर्नेछ । त्यसपछि जिएमआरले लगानी जुटाउने प्रयास गरिरहेको छ । साथै, बंगलादेशमा पाँच सय मेगावाट विद्युत् बिक्री गर्ने गरी आवश्यक प्रक्रियासमेत अगाडि बढाइसकेको छ । त्यसका लागि बंगलादेशको सरकारले जिएमआरलाई आशयपत्र पनि पठाइसकेको छ ।
यस्तो छ माथिल्लो कर्णालीको मोडल
माथिल्लो कर्णाली परियोजनाको लागत एक खर्ब १६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । त्यसमा कम्पनीले ३० प्रतिशत स्वपुँजीका रूपमा सेयर लगानी गर्नेछ । नेपालले कम्पनीको स्वपुँजीमा २७ प्रतिशत सेयर निःशुल्क पाउनेछ । आयोजनाबाट भने नेपालले उत्पादनको १२ प्रतिशत अर्थात् एक सय आठ मेगावाटसम्म विद्युत् निःशुल्क पाउनेछ । त्यस्तै, नेपालले एक खर्ब ५६ अर्ब रोयल्टी, ८३ अर्ब आयकर, प्रत्यक्ष रोजगारी र दुई मेगावाट ग्रामीण विद्युतीकरणसमेत प्राप्त गर्नेछ । कम्पनीले आयोजना सञ्चालनमा ल्याएको २५ वर्षपछि नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गर्नुपर्छ ।