१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार २१:४३:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चितवनमा विकास कोइरालाले बढाए सक्रियता, चियापानमा उल्लेख्य सहभागिता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार २१:४३:oo

कारबाहीमा परेका चितवन कांग्रेसका पूर्वसभापति विकास कोइरालाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सक्रियता बढाएका छन् । लामो समयदेखि निष्क्रिय रहेका कोइरालाले बुधबार नारायणगढस्थित उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रम गरी आफ्नो सक्रियता देखाएका हुन् ।

कांग्रेस चितवनका पूर्वसभापतिको हैसियतमा उनले हालै सम्पन्न भएका दसैँ, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेका थिए । उनको सो कार्यक्रमले चितवन कांग्रेसभित्रको अन्तरद्वन्द्व सामुन्ने ल्याएको छ ।  
०७० मंसिरमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाविरुद्ध उनले चितवन ४ बाट बागी उम्मेदवारी दिएका थिए । पार्टी सभापतिविरुद्ध नै बागी उम्मेदवारी दिएपछि त्यसैवेला पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । त्यसयता उनको सो कारबाही फिर्ता भएको छैन । त्यसैले उनी निष्क्रिय रहँदै आएका थिए । 
पछिल्लो समय दुई महिना अस्ट्रेलिया बसाइपछि उनी केही दिनअघि मात्रै चितवन फर्किएका थिए । आफू ढिलो गरी आइपुगेकाले शुभकामना आदानप्रदान कार्यक्रम ढिलो आयोजना गर्नुपरेको उनको स्पष्टोक्ति थियो । 

कार्यक्रममा उनका समर्थक शुभचिन्तकको बाक्लो उपस्थिति थियो । चितवन कांग्रेसका सचिव ध्रुवराज पोखरेल, निवर्तमान उपसभापति कैलाश कोइराला, क्षेत्रीय सभापति भरत लामिछाने, महाधिवेशन प्रतिनिधि राजेन्द्र बुर्लाकोटी, पार्वती शाह ठकुरी, केदार कोइराला, मीना खरेल, विपिन रामुदामु, निरु कार्कीलगायतका कांग्रेस नेता, कार्यकर्ता र शुभेच्छुक सहभागी थिए ।

कार्यक्रमबाट उनले आफूलाई ०७६ मै कारबाही फिर्ता गर्न सिफारिस गरिसकेको अवस्थामा पार्टी सभापतिले समन्वय गर्नुपर्नेमा अन्यथा गरेको भन्दै दुखेसो पोखे । उनले जिल्लाको वर्तमान नेतृत्वले पार्टीका आमकार्यकर्ता र शुभेच्छुकलाई अपमान गरेको भन्दै नेतृत्व तहमा नरहँदा पनि आफू कांग्रेसको संगठन विस्तार गर्न र कांग्रेस जोगाउन अविचलित रहेको बताए ।

कोइरालाले कार्यक्रम आयोजना गरेकोसम्बन्धी सूचना मंगलबार सामाजिक सञ्जालबाट दिएका थिए भने कार्यक्रममा जिल्लावासी, आफन्त, साथीभाइ र शुभचिन्तकलाई निम्ता दिएका थिए । तर, उनको सन्देश सार्वजनिक भएकै साँझ चितवन कांग्रेसका सभापति राजेश्वर खनालले प्रेस विज्ञप्ति जारी गरी कोइराला चितवन कांग्रेसको पूर्वसभापति नरहेको दाबी गरे । 

विज्ञप्तिमा उनले निवर्तमान सभापति जितनारायण श्रेष्ठसहित नारायण शर्मा पौडेल, टीकाराम न्यौपाने, टेकप्रसाद गुरुङ, शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे, तोपमानसिं गुरुङ र पृथ्वीमान गुरुङ मात्र कांग्रेसका पूर्वसभापति भएको दाबी गरेका थिए । 

उनले हाल कांग्रेसको विधानअनुसार पार्टी संरचनामा नरहेका व्यक्तिहरूबाट विभिन्न भेटघाट, चियापानजस्ता कार्यक्रम आयोजना गरिएको भनी सामाजिक सञ्जालमा सूचना आएकोप्रति चितवन कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाए । तर, केही घण्टा पनि नबित्दै पार्टी सचिव ध्रुवराज पोखरेलले अर्को विज्ञप्ति जारी गरी कोइराला चितवन कांग्रेसको पूर्वसभापति नै रहेको जनाए । 

पार्टीका पूर्वसभापतिको सूचीबाटै कोइरालाको नाम हटाइनु आग्रहपूर्ण व्यवहार भएको उनको दावी छ । उनले जारी गरेको विज्ञप्तिमा ६ चैत ०७६ मा पार्टीको बैठकले कोइरालामाथिको कारबाही फुकुवा गरिसकेको तथा कोइराला अहिले पनि पार्टीको क्रियाशील सदस्य रहेको उल्लेख छ ।

चितवन कांग्रेसमा देखा परेको यो अन्तरद्वन्द्व पहिलो भने होइन । ०७० मा आफ्नै पार्टी सभापतिविरुद्ध बागी उठेर सुरु भएको यो स्तरको असन्तुष्टि अहिलेसम्मै कायम छ । ०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले तालमेल गरेका थिए । भरतपुर महानगरपालिकाको मेयरमा माओवादीलाई समर्थन गर्ने पार्टी केन्द्रको निर्णयको चितवन कांग्रेसभित्रबाट चर्को आलोचना भएको थियो । 

०७९ मा पुनः माओवादीलाई नै भरतपुर महानगरको मेयरमा समर्थन गर्ने निर्णय पार्टी केन्द्रले गरेपछि निर्णयको अवज्ञा गर्दै जगन्नाथ पौडेल बागी उठेका थिए । निर्वाचनमा उनले राम्रो मतसमेत ल्याए । तर, कांग्रेसले समर्थन गरेका माओवादीका उम्मेदवारलाई हराउन सकेनन् । 

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभातर्फ चितवन ३ मा सत्तागठबन्धनबाट माओवादीले उम्मेदवारी पाएपछि कांग्रेसका दिनेश कोइराला बागी उठेका छन् । यहाँ एमालेले आफ्ना रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर कोइरालालाई समर्थन जनाएको छ । यहाँबाट कांग्रेसकै पूर्वनेता स्थानीय तह निर्वाचनमा भरतपुर महानगरको मेयरमा उठेका जगन्नाथ पौडेलले पुनः उम्मेदवारी दिएका छन् । बुधबारको चियापनले चितवन कांग्रेसभित्रको पुनः असन्तुष्टि उजागर गरेको छ । 

ad
ad