१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन अर्याल काठमाडौं
२०७९ कार्तिक १६ बुधबार १८:२३:००
Read Time : > 4 मिनेट
फिचर डिजिटल संस्करण

७२ सिटे जहाजका एक्लो यात्रु पौडेल भन्छन् - ‘एक्लो यात्रा अविस्मरणीय बन्यो’

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७९ कार्तिक १६ बुधबार १८:२३:००

७२ सिटको जहाजमा एक्लो यात्रु! तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ तर मंगलबार साँझ भइदियो त्यस्तै। बुद्ध एयर मंगलबार साँझ ८ बजे एक्लो यात्रु बोकेर काठमाडौंबाट विराटनर उड्यो। सो उडानका भाग्यमानी यात्रु थिए, सिनेमा व्यवसायी उद्धव पौडेल।

हुन त विश्वका धनाढ्यहरू आफ्नै निजी जहाजमा यात्रा गर्छन्, तैपनि उनीहरू जहाजमा एक्लै हुँदैनन्। त्यहाँ निजी सुसारेदेखि अंगरक्षकसम्म हुने गर्छन्। अझ ‘कमर्सियल फ्लाइट’मा एक्लो यात्री बन्नु कल्पनाभन्दा बाहिरको कुरा भयो। यस्तो अवसर विरलै पाइन्छ, त्यो अवसर प्राप्त गरेका पौडेल यतिवेला सामाजिक सञ्जालमा ‘भाइरल’ बनेका छन्।

जहाजमा एक्लै बसेको फोटो खिचेर उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखे– ‘आज काठमाडौंबाट विराटनगरसम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडानमा म एकल यात्रु, रोमाञ्चक अनुभव।’ फोटो सार्वजनिक हुनेबित्तिकै उनलाई बधाईको ओइरो लाग्यो। सामाजिक सञ्जालमा धेरैले उनको फोटो सेयर गरे। मिडियाले समाचार बनाए। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार हुन् उनी। उनी पार्टीको चुनावी अभियानमा भाग लिन मंगलबार बिहानै गृहथलो विराटनगर जान आँटेका थिए। तर, विशेष कामले अड्किँदा उनले आफ्नो यात्रालाई साँझ सारे। 

पछिल्लो समय विराटनगर रातिसम्म उडान हुने गर्छ। उनलाई आठ- नौ बजेसम्म काम पनि सकिन्छ, विराटनगर पनि पुगिहालिन्छ भन्ने भयो। र, ८ बजेको बुद्ध एयरको टिकट काटे। उनको घर एयरपोर्टबाट पाँच मिनेटको दुरीमा छ। तर, काम ढिलो सकिँदा एयरपोर्ट पुग्न ढिला भयो।

उनी फ्लाइट छुट्ने डरले हतार–हतार एयरपोर्टतिर लागे। एयरपोर्टको आन्तरिक टर्मिनल भवनमा पुग्दा केही मिनेट मात्र बाँकी थियो। बाहिर सुरक्षा जाँच गरेर बुद्ध एयरको विराटनगर काउन्टरमा पुग्दा कोही पनि थिएनन्। काउन्टर पूरै सुनसान देखिन्थ्यो। उनलाई लाग्यो, ‘सबै यात्रुको बोर्डिङ पास भइसकेछ, म साँच्चै ढिलो आइपुगेछु।’

उनीसँग ब्यागेज थिएन, हातमा ह्यान्डक्यारी मात्र थियो। कोही यात्रु नहुँदा काउन्टर क्लोज गर्न लागेका थिए। ‘मलाई अगाडि देख्नेबित्तिकै कर्मचारीले विराटनगर जानुहुने हो? भनेर सोधे।’ उनले रोमाञ्चक यात्रा स्मरण गर्दै विराटनगरबाट फोनमा भने, ‘मैले हो भनेपछि हतार–हतार बोर्डिङ पास दिएर पाँच नम्बर गेटमा गइहाल्न आदेश दिए, म ढिलो भएँ भन्ने लाग्यो।’

उनी सुरक्षा चेकजाँच गरेर हतार हतार वेटिङ रुमको पाँच नम्बर गेटमा पुगे। उनलाई त्यतिवेला झनै डर लाग्यो, जब उनलाई सानो गाडीमा राखेर प्लेनतर्फ लगियो। सामान्य अवस्थामा वायुसेवा कम्पनीले यात्रुलाई ठूलो बसमा राखेर प्लेनमा लैजाने गर्छन्। कुनै यात्रुले ढिलो गरे सानो गाडीमा राखेर तत्कालै प्लेनमा पुर्‍याइन्छ।

र, पनि उनलाई सोध्ने आँट भएन। किनभने आफ्नै कारण सबैले कुरेर बसेकोजस्तो लाग्यो उनलाई। आफ्नो कारणले उडान डिले भए अरू यात्रुले गाली गर्लान् कि भन्ने डर थियो। केही वर्षअघि पार्टीकाे कार्यक्रममा सहभागी भएर ढिलाे गरी नेपालगन्ज विमानस्थल पुगेका पूर्वपर्यटनमन्त्री याेगेश भट्टराईलाई उनैका कारण विमान उड्न ढिला भएकाे भन्दै अन्य यात्रुले 'र्‍याखर्‍याख्ती' पारेकाे घटना पाैडेलकाे दिमागमा ताजै थियाे। 

पाैडेल चढ्ने जहाज उड्न पनि त्यस्तै ५- ७ मिनेट बाँकी थियो। ‘अबचाहिँ मैले पक्कै ढिलो गरेछु, अरू यात्रु बसमा गए, मलाई ढिलो हुन्छ भनेर सानो गाडीमा प्लेनमा लैजान लागे भन्ने लाग्यो,’ उनले भने, ‘प्लेननजिकै पुग्दा पनि बाहिर कुनै यात्रु देखिनँ, ढोकामा एयर होस्टेस कुरेर बसेको देखेँ, म मात्र ढिलो गरेछु भनेर केही अप्ठ्यारो महसुस पनि भयो।’

उनी हतार हतार जहाज चढिहाले। तर, जहाजभित्र पस्दा एउटै यात्रु पनि छैनन्। केवल उनी मात्रै। उनी ‘सक’ भए, ‘म विराटनगर उड्ने प्लेनमै आइपुगेँ त।’ तर, विश्वास नगरी धरै थिएन। त्यो प्लेन विराटनगर नै जानेवाला थियो। केवल एउटा यात्रु बोकेर। उद्धव पौडेललाई बोकेर।

जहाज चढेपछि एयर होस्टेसले भने– ‘आजको विराटनगर उडानमा तपाईं एक्लो यात्रु हुनुहुन्छ, तपाईंलाई स्वागत छ।’ एयर होस्टेसले आजको यात्रु तपाईं मात्र हो भनेपछि उनी आश्चर्यचकित भए। यस्तो यात्रा जीवनमा कहिल्यै गरेका थिएनन् उनले। ७२ सिटको जहाजमा एक्लै यात्रा गर्ने अवसर मिल्यो, त्यो पनि ५ हजारको टिकटमा। चार्टर उडानभन्दा पनि विशेष।

‘पहिला ढिलो भएर मलाई मात्र कुरेर बसेजस्तो लाग्यो, यत्तिकै सानो गाडीमा हालेर किन लैजान्थ्यो,’ उनले भने, ‘तर, भित्र पस्दा फरक दृश्य देखियो। मैले बाहिर जे सोचिरहेको थिएँ, अवस्था त्यस्तो थिएन, म तर्सिएँ नै।’ 

जहाजमा पूरै सिट खाली थिए। उनलाई कुन सिटमा बसौँ, कुन सिटमा बसौँ लाग्यो। एयर होस्टेसलाई सोधे पनि, ‘कुन सिटमा बसौँ।’ जवाफ आयो– ‘जहाँ बस्नुभए पनि हुन्छ।’ उनी आफ्नै सिटमा गएर बसे। उनलाई पाइलट र एयर होस्टेसले सुनाउँदै थिए, ‘बुद्ध एयरको इतिहासमै पहिलोपटक यस्तो भएको होला, एउटै यात्रु बोकेर उडेको याद छैन।’

सिटमा बसेपछि एयर होस्टेसलाई फोटो खिच्न आग्रह गरे। र, फोटो फेसबुकमा पोस्ट गरे। उनको फोटो र स्टाटस भाइरल भयो। मंगलबार साँझको घटनाले बुधबार दिनभरि सामाजिक सञ्जालमा तरंग ल्याइरहेको छ। कतिपयले बुद्ध एयरले एउटा यात्रुलाई पनि सेवा दिएको भनेर तारिफ गरिरहेका छन्। कतिपयले एक्लै यात्रा गर्ने सौभाग्य प्राप्त गरेकोमा उनलाई बधाई दिइरहेका छन्। उनी आफैँलाई पनि एक्लो यात्रा निकै रोमाञ्चक लाग्यो। उनले फेसबुकमा लेखेका छन्– ‘रोमाञ्चक अनुभव!’ आफूले पोस्ट गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएर साथीभाइ, इष्टमित्रबाट बधाईको ओइरो आएपछि उनी झन् आश्चर्यचकित परेका छन्। 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पौडेलको तस्बिर पोस्ट गर्दै लेखेका छन्– ‘एक्लो यात्रुः आज साँझ ८ बजेको बुद्ध एयरको काठमाडौं–विराटनगर उडानमा राप्रपा नेता, प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार उद्धव पौडेल एकजना मात्रै यात्रु। रोचक र स्मरणीय यात्रा भएछ उद्धव दाइको। पाइलटले सुनाएछन्, बुद्ध एयरको इतिहासमा पहिलोपटक यस्तो भएको हो। सम्भवतः नेपालको नागरिक उड्डयनको इतिहासमै पहिलोपटक यस्तो भएको हुनुपर्छ।’

तर, मोहन श्रेष्ठले भनेजस्तै एक्लो यात्रु बोकेर प्लेन उडेको पहिलो घटना भने होइन। यसअघि नारायणदत्त भण्डारी बुद्ध एयरकै एटिआर–७२ जहाजमा काठमाडौं–पोखराको उडानमा एक्लो यात्रु बनेका थिए। उनले फेसबुकमा फोटो पोस्ट गर्दै लेखेका थिए– ‘७२ सिटे जहाजमा एकजना मात्रै यात्रुको रूपमा उड्ने अवसर मिल्यो, विरलै वा प्रायः असम्भवजस्तै भए पनि कहिलेकाहीँ जुर्दोरहेछ । टिकट मूल्य रु. ४१ सय मात्र।’  

याे घटना बाहिरिएसँगै सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले पनि गत वैशाख २० मा बुद्ध एयरकै जहाजमा भैरहवाबाट काठमाडाै‌ं फर्किँदा एक्लाे यात्रु बनेकाे अनुभव सुनाए। 

प्रायः दसैँ–तिहारको समयमा एकतर्फी उडानमा अत्यधिक उडान हुने र अर्को उडानमा यात्रु नपाउने समस्या वायुसेवा कम्पनीले भोग्दै आइरहेका छन्। बुद्धको मात्र नभएर यती, श्रीलगायत वायुसेवा कम्पनीले पनि एक्लो यात्रु बोकेर उडेको अनुभव सुनाएका छन्। दसैँको समयमा घर फर्किने धेरै हुन्छन्, काठमाडौं आउने अत्यन्तै कम यात्रु। त्यो समयमा काठमाडौंबाट फुल यात्रु बोकेर उडेको जहाज फर्किँदा खाली पनि आउनुपर्ने बाध्यता रहेको छ। दसैँपछि काठमाडौं फर्किनेको भिड हुन्छ, बाहिर जाने अत्यन्तै कम हुन्छन्। 

पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक उडान गर्ने वायुसेवालाई केही जहाज बाहिरका एयरपोर्टमा रात्रिकालीन पार्किङ गर्न निर्देशन दिएको छ। राति काठमाडौंबाट जहाज पार्किङ गर्न बाहिरका विमानस्थलमा लैजाँदा पनि यात्रु नै नहुने, भए पनि अत्यन्तै कम हुने गरेको वायुसेवा कम्पनी बताउँछन्।   

काठमाडौंबाट बेलुका ८ बजे उडेका बुद्ध एयरको यू ४ ७१७ जहाजले विराटनगरबाट यात्रु बोकेर काठमाडौं फर्किनुपर्ने थियो। विराटनगर जाँदा एकजना मात्र यात्रु बोकेको भए पनि विराटनगरबाट ५६ जना वयस्क, ५ जना बच्चा र चारजना शिशु गरी ६५ यात्रु बोकेर जहाज ९ः४० बजे काठमाडौं फर्किएको थियो। ‘हामीले एकतर्फी यात्रु हेरेर हुँदैन, उताबाट फर्किने यात्रु छन् भने रित्तै पनि जानुपर्ने हुन्छ,’ बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले भने, ‘उडानको समयमा कहिलेकाहीँ यस्तो भइहाल्छ, कहिले यात्रु हुन्छन् कहिले हुँदैनन्।’ वायुसेवा कम्पनीले यात्रुसँग टिकट काटिसकेपछि कि अरू जहाजमा व्यवस्थापन गरेर पठाउनुपर्छ, नभए एकजनालाई भए पनि उडाउनै पर्ने व्यावसायिक दायित्व भएको उनको भनाइ छ।

जेसुकै भए पनि एक्लो यात्रुको रूपमा यात्रा गर्दा पौडेलका लागि जीवनकै अविस्मरणीय क्षण पक्कै बन्यो। उनी भन्छन्, ‘भित्र कोही नदेख्दा एकछिन त ‘सक’ नै भएँ।’ उनी आफ्नै सिटमा बसे। जहाज उडेपछि फुल प्यासेन्जर हुँदा एयर होस्टेसले जस्तो नियम परिपालना गर्थे, त्यस्तै गरे। जहाजमा यात्रुको सुरक्षाका लागि उडान नियमअनुसार गरिने ‘एनाउन्स’हरू पनि भइरहेको थियो। ‘सिटको पेटी बाँध्नुहोस्, जहाज यति मिटर उचाइमा छ, जहाज एयरपोर्टमा अवतरण गर्ने क्रममा छ, बाहिरको तापक्रम यति डिग्री छ, बुद्ध एयरमा यात्रा गर्नुभएकोमा धन्यवाद’ लगायत। 

पौडेल राप्रपाको तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा सामानुपातिक उम्मेदवार हुन्। मोरङ ४ नम्बर क्षेत्रका मतदाता उनले पार्टीको चुनावी कामले नै विराटनगर आएको बताए। उनले भने, ‘अब चुनावसम्म यहीँ चुनावी अभियानमा हुन्छ, चुनाव सकिएपछि मात्र काठमाडौं फर्किन्छु।’