१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका सिन्धुली
२o८१ जेठ ६ आइतबार १५:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चुनाव जितेपछि ढुक्कले काठमाडौं बस्दिनँ : नेता घिमिरे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, सिन्धुली
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १५:५९:oo

कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले चुनाव जितेपछि आफू ढुक्कले काठमाडौं नबस्ने र जनताको बीचमा आइरहने वाचा गरेका छन्। सिन्धुली १ बाट उम्मेदवार रहेका घिमिरेले आफू सांसदको रूपमा निर्वाचित भए सधैँ जनताको बीचमा आइरहने बताएका हुन्।

सिन्धुलीको गोलोन्जोर गाउँपालिका– १ डुँडभञ्ज्याङमा आयोजित एक कार्यक्रममा बोल्दै घिमिरेले मध्यपहाडी क्षेत्रको विकासका लागि दुई रणनीतिक सडक आफ्नो प्राथमिकतामा रहेकोसमेत बताए।

‘म सांसदको रूपमा निर्वाचित भएर काठमाडौं गएर ढुक्कले बस्नेछैन, सधैँ तपाईंहरूको बीचको हुनेछु,’ उनले भने, ‘मध्यपहाडी राजमार्गमा जोड्ने दुईवटा रणनीतिक सडकको रूपमा शुलीभञ्ज्याङ–धापचौकी–भीमस्थान–भिमान जोड्ने पक्की सडक र नवलपुर–चकमके–डकाहा हुँदै गोदार निस्कने पक्की सडक पाँच वर्षमा बनाउने कसम खाएको छु, यो मेरो सडक बाटोको रूपमा पहिलो प्राथमिकतामा पर्नेछ।’

त्यस्तै, घिमिरेले शिक्षाको विकास नभई मुलुक धनी नहुने बताउँदै सरकारी विद्यालयको स्तरोन्नति गर्न आफूले भूमिका खेल्ने दाबी गरे। सरकारी शिक्षाको स्तरोन्नति गर्नमा मुख्य भूमिका खेल्ने बताएका उनले सीपमूलक शिक्षाको विस्तार गरेर आजको बजारमा बिक्ने शैक्षिक जनशक्ति उत्पादन गर्ने बताएका हुन्। 

त्यस्तै, घिमिरेले ओली सरकारले गरेको संसद् विघटनबारे समेत प्रश्न गरेका छन्। मतदातालाई एमालेका उम्मेदवारलाई यसबारे प्रश्न गर्न आग्रह गर्दै घिमिरेले भने, ‘ओलीको मतियारलाई मत माग्दा सोध्नुस् हामीले विश्वास गरेर दिएको त्यो बहुमतको दुरुपयोग गरेर संसदको विघटन किन गर्‍यौ ? ओलीको कारण संसारमा नभएको प्रधानन्यायाधीशविरुद्ध अनौठा आन्दोलन भयो। आज देशमा संविधान, लोकतन्त्र, न्यायालय र संसदको रक्षा गर्न यो गठबन्धनको आवश्यकता पर्‍यो।’

अग्रगमनको पक्षपातीहरू र यो संविधान र त्यसभित्र समेटिएका उपलब्धि ल्याउन भूमिका खेल्ने प्रमुख शक्तिहरू एक ठाउँमा उभिएर प्रतिगमनलाई परास्त गर्ने घिमिरेको जिकिर छ। 

त्यसैले तीनै तहमा गठबन्धनको सरकार हुने भएकोले विद्युत् विस्तार, खानेपानी, गाउँ जोड्ने सडक, गुणस्तरीय शिक्षा, स्वास्थ्यचौकी निर्माण, रोजगारीको सिर्जना, उत्पादन कृषि सामग्रीका लागि कृषकको बजारको व्यवस्था, कृषि सडकहरूको विकास गर्न सहज हुने उनले बताए। 

कार्यक्रममा प्रदेश सभाका उम्मेदवारसँगै जिल्ला तहका अन्य नेतहरू पनि उपस्थित थिए। नेपाली कांग्रेसका नेता मोहनप्रसाद बरालले घिमिरेको कुरामा समर्थन गर्दै अहिलेको एकता व्यवस्था जोगाउने एकता रहेको बताएका छन्।

 ‘हामीले आर्जेको व्यवस्था भएकाले हामीले माया गरेका हौँ, ओलीले घाँटी थिच्न लाग्दा हामीले जोगाएका हौँ। गठबन्धनको उम्मेदवार जिताउनु नै हाम्रो धर्म हो। सबै दत्तचित्त भएर लाग्न अनुरोध छ,’ बरालले कार्यक्रममा भने।

त्यस्तै, प्रदेश सभा (ख) सदस्य उम्मेदवार रामकुमार पहाडीले आफूले नेतृत्व गरेको प्रदेशको समृद्धिको जिम्मा लिने बताएका छन्। उक्त कार्यक्रममा बोल्दै उनले सो क्षेत्रको भूबनोट विकट भए पनि त्यसमा अध्ययन गरेर विकासको खाका कोर्ने वाचा गरेका छन्।

ad
ad