
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीको रिट निवेदन पेसीमा चढेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासमा कार्कीकाे रिट निवेदन पेसी सूचीको नौ नम्बरमा परेको छ ।
लाभको पद लिएको देखिएको भन्दै निर्वाचन आयोगले शनिबार ललितपुर ३ की उम्मेदवार कार्कीको उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
कार्कीले आयोगको निर्णय बदर गरी आफ्नो उम्मेदवारी कायम गरिदिन अन्तिम आदेश माग गरेकी छिन् । आयोगले बैठक भत्ता मात्रै प्राप्त हुने मेडिकल काउन्सिलको निर्वाचित पदलाई लाभको पद मानेर कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।
त्यस्तै, न्यायाधीश चुडालको इजलासमा नो नट अगेनसम्बन्धी मुद्दा पनि पेसीमा चढेको छ । पेसीको १० नम्बरमा यो मुद्दा छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा नो नट अगेन अभियानमा आयोगले अंकुश लगाउन खोजेकाले रोक्न माग गरिएको छ ।