मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक १५ मंगलबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १५ मंगलबार o६:१५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल श्रीलंकाजस्तो टाट पल्टँदैन : विश्व बैंक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १५ मंगलबार o६:१५:oo

 विश्व बैंकले नेपाल श्रीलंकाजस्तो टाट नपल्टने विश्लेषण गरेको छ । बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट, २०२२’ प्रतिवेदनमा पाँचवटा आधारमार्फत नेपालको आर्थिक अवस्था श्रीलंकाजस्तो नभएको उल्लेख छ ।गत असारमा श्रीलंकाका तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा टाट पल्टिएको घोषणा गरेका थिए । उनले संकटपूर्ण अर्थतन्त्र सुधारका लागि अन्तर्राष्ट्रिय मुद्राकोषलगायत संघ–संस्थासँग सहयोग माग गरेका थिए ।

 शोधनान्तर घाटा बढ्दै गएको तथा विदेशी विनिमय सञ्चिति घट्दै गएकोलगायत तथ्यांकका आधारमा नेपाल पनि श्रीलंकाको पथमा रहेको चर्चा हुँदै आएको छ । नेपाल श्रीलंकाजस्तै हुन सक्ने चिन्ता र चासो आमरूपमै देखिन्छ । तर, विश्व बैंकले ‘नेपाल श्रीलंका नहुने’ दोहो¥याएको हो । यसअघि वैशाखमा सार्वजनिक अर्धवार्षिक प्रतिवेदनमा पनि विश्व बैंकले नेपालको अर्थतन्त्र संकटमा नरहेको र संकट आउनेवाला अवस्थासमेत नभएको उल्लेख गरेको थियो । 

विश्व बैंकले नेपालमा विदेशी विनिमय सञ्चिति पर्याप्त रहेको, सार्वजनिक ऋण तिर्न सकिने किसिमको भएको, आन्तरिक ऋण जिडिपीको अनुपातमा थोरै भएको, खनिज ऊर्जामाथिको निर्भरता तुलनात्मक रूपमा न्यून रहेको र अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यक्रमहरू सञ्चालनमा रहेको भन्दै नेपाल श्रीलंकाजस्तो टाट नपल्टने विश्लेषण गरेको हो । 

विश्व बैंक नेपालकी वरिष्ठ अर्थशास्त्री एलिस जोन ब्रुक्सले प्रतिवेदन प्रस्तुत गर्दै नेपाल श्रीलंकाजस्तो नबन्ने बताइन् । ‘नेपालको सार्वजनिक ऋण जिडिपीको ४१ प्रतिशत मात्रै छ, आन्तरिक ऋण पनि जिडिपीको तुलनामा २२ प्रतिशत मात्रै छ, जुन न्यून हो, खनिज ऊर्जामा परनिर्भरता न्यून छ, जैविक ऊर्जामा निर्भरता ७२ प्रतिशत छ, नेपालको विदेशी विनिमय सञ्चिति ६.९ महिनालाई धान्ने गरी पर्याप्त छ र नेपालमा अन्तर्राष्ट्रिय मुद्राकोषको कार्यक्रमसमेत रहेको छ,’ उनले भनिन्, ‘त्यसैले नेपाल श्रीलंकाजस्तो बन्दैन ।’

 ५.१ प्रतिशतको आर्थिक वृद्धि
विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत आवमा नेपालले ५.८ प्रतिशतको आर्थिक वृद्धि गरेको थियो । कोभिड– १९ प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि ल्याएका मौद्रिक प्याकेजहरू कटौती गरेका कारण आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको विश्लेषण छ । विश्व बैंकले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर अझ घटेर ४.९ प्रतिशतमा खुम्चिने जनाएको छ ।