१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार ११:१८:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिराहाका चारै क्षेत्रमा तीव्र प्रतिस्पर्धा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:१८:oo

प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको रौनक सिराहाका गाउँगाउँमा पुगिसकेको छ । चार निर्वाचन क्षेत्र रहेको सिराहामा कांग्रेस–माओवादी–लोसपा र एमाले–जसपाका दुई गठबन्धन प्रचारप्रचारमा तल्लीन छन् । यहाँका चारवटै निर्वाचन क्षेत्रमा यिनै दुई गठबन्धनका उम्मेदवार एक–अर्काका मुख्य प्रतिस्पर्धी देखिन्छन् । चार क्षेत्रमध्ये कांग्रेस–माओवादी–एकीकृत समाजवादीको सत्तागठबन्धनले कांग्रेसका दुई, माओवादी र एकीकृत समाजवादीका एक–एक उम्मेदवार उठाएको छ । एमाले–जसपा गठबन्धनबाट दुई–दुई उम्मेदवार छन् । 

चौधरी–यादव भिडन्तमा सरिता गिरी फ्याक्टर महत्वपूर्ण
क्षेत्र १ :
 कांग्रेस नेता निवर्तमान सांसद पद्मनारायण चौधरीलाई सत्तागठबन्धनले उम्मेदवार बनाएको छ । यस्तै, एमाले–जसपा गठबन्धनबाट एमाले नेता रामशंकर यादव उम्मेदवार छन् । लामो समय तराई–मधेसको राजनीतिमा प्रभावशाली रहँदै मन्त्रीसमेत भइसकेकी पूर्वमन्त्री सरिता गिरीले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । 

क्षेत्र १ मा ४१ वटा वडा पर्छन् । लहान नगरपालिकाका २४ वडा, धनगढीमाई नगरपालिकाका दुईवटा, लक्ष्मीपुर–पतारी गाउँपालिकाका पाँच, सखुवानन्कारकट्टी गाउँपालिकाका पाँच वडा र भगवानपुर गाउँपालिकाका पाँचवटा वडा यो क्षेत्रमा समेटिएका छन् । 

गत स्थानीय तह निर्वाचनमा ४१ मध्ये कांग्रेसले २४, एमालेले नाै, जसपाले पाँच, एकीकृत समाजवादीले दुई र माओवादीले एक वडा जितेका थिए । त्यसवेला कांग्रेस–जसपा–माओवादी गठबन्धन थियो । अहिले जसपा एमालेसँगको गठबन्धनमा छ । अहिले सत्तारूढ गठबन्धन (कांग्रेस–माओवादी–समाजवादी) का २७ वडाध्यक्ष छन् । उनीहरूले ३४ हजार दुई सय ९७ मत पाएको देखिन्छ ।

१४ वडा जितेको एमाले–जसपा गठबन्धनले ३४ हजार एक सय ३६ मत छ । यससँगै यस क्षेत्रमा जनमत पार्टीले वडा नजिते पनि एक हजार तीन सय ७४ मत पाएको छ । यहाँ कांग्रेसका पद्मनारायण चौधरी र एमालेका रामशंकर यादवबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । तर, स्वतन्त्र उम्मेदवार रहेकी सरिता गिरी ‘फ्याक्टर’ पनि महत्वपूर्ण देखिएको छ । क्षेत्र नम्बर १ मा मतदाताको कुल संख्या एक लाख ६ हजार दुई सय एक छ भने २३ उम्मेदवार छन् । 


चित्रलेखा र राजकिशोरबीच निकट प्रतिस्पर्धा
क्षेत्र २ :
 क्षेत्र नम्बर २ मा पनि सत्तागठबन्धनको तर्फबाट कांग्रेसकै उम्मेदवार छन् । कांग्रेसले पूर्वउपसभामुख, निवर्तमान सांसद चित्रलेखा यादवलाई अघि सारेको छ । एमाले–जसपा गठबन्धनका तर्फबाट जसपा नेता पूर्वमन्त्री राजकिशोर यादव उम्मेदवार छन् । 

यस क्षेत्रमा पनि ४१ वटा वडा नै छन् । यहाँ धनगढीमाई नगरपालिकाका १२, सुखीपुर नगरपालिकाका १० वडा, नवराजपुर, बरियारपट्टी र औरही गाउँपालिकाका पाँच–पाँच वडा पर्छन् । यस्तै, अर्नामाका दुई, लक्ष्मीपुर पतारी गाउँपालिका तथा गोलबजार नगरपालिकाका एक–एक वडा क्षेत्र नम्बर २ मा रहेका छन् ।

तीमध्ये गत स्थानीय तहमा कांग्रेसले १२, एमालेले १०, जसपाले १०, माओवादीले ६, एकीकृत समाजवादीले दुई र जनमत पार्टीले एक वडा जितेका छन् । हालको गठबन्धनका रूपमा त्यसलाई जोड्दा सत्तारूढ गठबन्धनले २० वडा जित्दै ३३ हजार आठ सय ९५ मत पाएको देखिन्छ । यस्तै, एमाले–जसपा गठबन्धनले पनि २० वटै वडा जित्दै ३२ हजार तीन हजार ४८ मत पाएको छ । यस क्षेत्रमा एउटा मात्र वडा जितेको जनमत पार्टीको चार हजार नौ सय ६६ मत छ ।

क्षेत्र नम्बर २ मा एक लाख ७ हजार चार सय ६५ मतदाता छन् भने प्रतिनिधिसभा सदस्यमा २३ जना भिड्दै छन् । गत स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मत हेर्दा दुवै गठबन्धनबीच तीव्र प्रतिस्पर्धा देखिन्छ । उम्मेदवार चयनका विषयमा जसपाको तुलनामा कांग्रेसका कम विवाद देखिएको छ । यस्तै, जसपाका राजकिशाेर यादव क्षेत्र परिवर्तन गरी २ मा उम्मेदवार बनेका हुन् । यसको प्रभाव रहन्छ वा रहँदैन, परिणमले नै देखाउनेछ । 

मतदाता फकाउँदै दुई नाथ
क्षेत्र ३ :
 यहाँ सत्तागठबन्धनका तर्फबाट माओवादी नेता पूर्वमन्त्री विश्वनाथ साहले उम्मेदवारी दिएका छन् । यहाँ जसपाको समर्थनमा एमालेले आफ्ना मधेस प्रदेश सहइन्चार्ज पूर्वमन्त्री लीलानाथ श्रेष्ठलाई उठाएको छ । 

यस क्षेत्रमा पनि ४१ वटै वडा छन् । सिराहा नगरपालिकाका २२, गोलबजार नगरका १२, अर्नामा गाउँपालिकाका तीन, नरहा र विष्णुपुरा गाउँपालिकाका दुई–दुईवटा वडा यो क्षेत्रमा पर्छन् । यीमध्ये गत पालिका निर्वाचनमा एमालेले १५, कांग्रेस र जसपाले आठ–आठ, एकीकृत समाजवादीले पाँच, माओवादीले चार र स्वतन्त्रले एक वडा जितेका छन् । 

बदलिएको गठबन्धनमा हेर्दा ४१ मध्ये एमाले–जसपाले २३, सत्तागठबन्धनले १७ वडाध्यक्ष जितेका छन् । यहाँ सत्तागठबन्धनभन्दा एमाले–जसपा गठबन्धन अघि छ । उसले ३५ हजार दुई सय २१ मत पाउँदा सत्तागठबन्धनले ३३ हजार नौ सय ७० मत पाएको छ । कुनै पनि वडा नजिते पनि जनमत पार्टीले एक हजार ७७ मत प्राप्त गरेको छ । एक लाख नौ हजार दुई सय ७१ मतदाता रहेको यस क्षेत्रमा प्रतिनिधिसभामा २२ उम्मेदवार खडा भएका छन् । 

एक हजार दुई सय ५१ मतले एमाले–जसपा गठबन्धन अगाडि रहेको यस क्षेत्रमा एमालेका लीलानाथ र माओवादी केन्द्रका विश्वनाथबीच निकै कडा टक्कर देखिन्छ । एमालेभित्र टिकट वितरणको विवाद सतहमै देखिएकाले त्यसको लाभ विश्वनाथलाई हुन सक्छ । तर, यता, तुलनात्मक रूपमा कमजोर सांगठनिक प्रभाव रहेकाले माओवादीका उम्मेदवारले पनि गठबन्धनका अन्य दलले विगतमा पाएका सबै मत पाउँछ भन्ने अवस्था देखिँदैन । त्यसैले पनि भिडन्त थप रोचक बनेको छ । 

हाराहारीको भिडन्त
क्षेत्र ४ :
 सिराहा क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनले एकीकृत समाजवादीका नेतालाई उठाएको छ । पूर्वमन्त्री तथा एकीकृत समाजवादीका मधेस प्रदेश इन्चार्ज धर्मनाथ साह उम्मेदवार छन् । यता एमालेसँगको गठबन्धनमा जसपाले संविधानसभा सदस्य रहिसकेका नेता डा. वीरेन्द्रप्रसाद महतोलाई उम्मेदवार बनाएको छ ।

यस क्षेत्रमा पनि ४१ वडा नै छन् । मिर्चैया र कल्याणपुर नगरका १२–१२, कर्जन्हा नगरका ११ वडा यहाँ पर्छन् । यस्तै, नरहा र विष्णुपुर गाउँपालिकाका तीन–तीन वडा पनि यही निर्वाचन क्षेत्रमा पर्छन् । तीमध्ये एमालेले १६, जसपाले ९, कांग्रेस र माओवादीले पाँच–पाँच, एकीकृत समाजवादीले दुई, जनमत र स्वतन्त्रले एक–एक वडा जितेका छन् । 

गठबन्धनमा रहेको दलका हिसाब गर्दा एमाले–जसपा गठबन्धनले २५ वटा तथा सत्तागठबन्धनले जम्मा १२ वडा जितेको छ । प्राप्त मत जोड्दा भने दुवै गठबन्धन निकट प्रतिस्पर्धामा देखिन्छन् । एमाले–जसपा गठबन्धनको २८ हजार दुई सय ८५ र सत्तारूढ गठबन्धनको २८ हजार दुई सय ८९ मत छ । यहाँ जनमत पार्टीले ६ हजार एक सय ४२ मत पाएको छ । यही मत निर्णायक बन्ने सम्भावना रहेको छ । हाल क्षेत्र नम्बर ४ मा ९९ हजार सात सय ७५ मतदाता छन् भने प्रतिनिधिसभा सदस्यमा १९ उम्मेदवार मैदानमा उत्रिएका छन् । 

ad
ad