
चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी)को सर्वोच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रूपमा महिला छानिएका छैनन्। पार्टीको इतिहासमा २५ वर्षपछि पहिलोपटक पोलिटब्युरोमा महिला सदस्य नछानिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान रहेकीमा उनले यसपटक अवकाश पाएपछि अहिले कुनै पनि महिला पोलिटब्युरोमा छानिएका छैनन्।
यसैबीच अर्को एक समाचारमा राष्ट्रपति सी चिनफिङ अर्को कार्यकालका लागि पनि सिसिपीको महासचिवमा चुनिएका छन्। सिपिसीको २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित भएका चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ।
सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिका दुई सय तीन सदस्य र एक सय ६८ वैकल्पिक सदस्यको सहभागिता थियो। एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एकपटक आयोजना हुने राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको हो।