
पर्यटनको राजधानी सहर पोखराका पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्डको रिक्त बोर्ड सदस्यमा पोखरामा प्रत्यक्ष लगानी गरी पर्यटन व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीमध्येबाट नियुक्त गर्न माग गरेका छन् । पोखरेली पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई अनुरोधपत्र पठाउँदै सो माग गरिएको हो ।
हाल बोर्डमा दुई सदस्यको पद रिक्त छ । रिक्त सदस्यमा नियुक्त गर्दा पोखराको प्रतिनिधित्व हुने गरी पोखरामै प्रत्यक्ष लगानी गरी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीमध्येबाट नियुक्त गर्न मन्त्रीसमक्ष माग गरिएको परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
कृषि, ऊर्जा र पर्यटनलाई नै देशको समृद्धिको मुख्य आधार मान्दै राज्यले अख्तियार गर्ने विभिन्न नीति तथा कार्यक्रम अगाडि बढाइएको स्मरण गराउँदै अनुरोधपत्रमा भनिएको छ, ‘पर्यटनका माध्यमबाट रोजगारी सिर्जना गर्दै विदेशी मुद्रा आर्जनको अपार सम्भावनालाई ध्यानमा राखी छिटो–छरितो एवं सरोकारवालासहितको संयन्त्रबाट उपलब्धि हासिलका निमित्त बोर्डको गठन भएको हो ।’
विश्व पर्यटन बजारमा पोखरा सहर स्थापित भइसकेको अवस्थामा पोखरालाई पर्यटनको राजधानीसमेत घोषणा भइसकेको र पर्यटनको राजधानी स्थापित गर्न आवश्यक पूर्वसर्तको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको परिषद्को माग छ । साथै, पोखराले पोखरा भ्रमण वर्ष २०२५ समेत घोषणा गरी विभिन्न कार्यक्रम अगाडि सारेका वेला व्यवसायको प्रवद्र्धन र विकासमा भूमिका खेल्ने अभिभावक चाहिएको पनि परिषद्ले पठाएको अनुरोधपत्रमा उल्लेख छ ।
परिषद्का अनुसार ६ खर्बभन्दा बढी निजी क्षेत्रबाट लगानी रहेको पोखराबाट बोर्डमा प्रतिनिधित्व नै छैन । देशकै पर्यटकीय राजधानी घोषणा भइसक्दा पनि बोर्डको रिक्त सदस्यमा पोखराकै व्यवसायीको प्रतिनिधित्व सुनिश्चितता गरिदिन पनि परिषद्ले अनुरोध गरेको छ ।