मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७९ कार्तिक ६ आइतबार ०६:४१:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ अधिवेशन सम्पन्न, राष्ट्रपति सी झनै शक्तिशाली

Read Time : > 1 मिनेट
एजेन्सी
२०७९ कार्तिक ६ आइतबार ०६:४१:००

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय भेला (अधिवेशन) शनिबार सम्पन्न भएको छ । भेलाले पार्टी र देशमा सी जिनपिङको ‘कोर पोजिसन (मूल स्थान)’लाई अनुमोदन गर्दै उनको तेस्रो कार्यकालको बाटो खुलाएको छ । सीलगायत सम्पूर्ण नेतृत्वको नाम आइतबार केन्द्रीय समितिको पहिलो बैठकपछि हुने पत्रकार सम्मेलनमा सार्वजनिक हुनेछ । 

प्रत्येक पाँच वर्षमा आयोजित हुने चिनियाँ सत्तारुढ दलको राष्ट्रिय कंग्रेसको पछिल्लो संस्करणले सीलाई थप शक्ति दिएको र उनी अब माओत्सेतुङपछिको बलियो नेता बनेको विश्लेषण गरिँदै छ । बेइजिङमा एक हप्ता चलेको भेलाको अन्त्यमा चिनियाँ कम्युनिस्ट पार्टीको शीर्ष नेतृत्वमा रहने केन्द्रीय समिति सदस्यको सूची सार्वजनिक गरिएको छ । 

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले २०५ जना केन्द्रीय समिति सदस्य र १७१ जना वैकल्पिक केन्द्रीय समिति सदस्यको नाम दिएको छ । यस सूचीमा कैयौँमहत्वपूर्ण नेताको नाम छुटेसँगै भविष्यमा सरकारमा व्यापक फेरबदल हुने संकेत देखिएको छ । २०५ सदस्यीय केन्द्रीय समितिको सूचीमा शक्तिशाली स्थायी समितिका सातमध्ये चारजनाको नाम समावेश छैन । चारजनामा वर्तमान प्रधानमन्त्री ली खछ्याङ, वाङ याङ (जसलाई अधिवेशनअघि लीका उत्तराधिकारीको रूपमा हेरिएको थियो), हान झेङ र ली झान्सुलाई पनि अवकाश दिइएजस्तो देखिन्छ । 

हान झेङ र ली झान्सुको उमेर ६८ वर्ष कटिसकेकाले पार्टी विधानअनुरूप अवकाश पाउने अनुमान गरिएको थियो । तर, ली र वाङ दुवैको उमेर ६७ हुँदाहुँदै पनि उनीहरूको नाम केन्द्रीय समितिबाट छुट्नुले उनीहरू सीको प्रतिद्वन्द्वी पन्छाउने अभियानमा परेको अनुमान गरिँदै छ । प्रधानमन्त्री ली खछ्याङ र वाङ याङको सम्बन्ध सीसँग त्यति घनिष्ठ नभएको बताइन्छ । नयाँ केन्द्रीय समितिमा यांग जिएची र लिउ हेजस्ता शक्तिशाली नेताको नाम पनि छैन । अब सीले ती नेताको स्थानमा आफ्ना सहयोगीलाई नियुक्त गर्न सक्छन् । उमेर हद पार नगरेका खछ्याङ र वाङको नाम केन्द्रीय समितिमा छुट्दा आफैँ ६९ वर्षका सीको नाम भने समावेश छ ।

नयाँ केन्द्रीय समितिको पहिलो बैठकको केही समयपछि नै सीलाई आइतबार महासचिवको रूपमा अनावरण गर्ने निश्चित रहेको बताइँदै छ । महासचिवमा तेस्रोपटक चयन भएसँगै सीलाई चीनको राष्ट्रपतिको रूपमा तेस्रो कार्यकालको लागि यात्रा गर्न अनुमति मिल्नेछ । त्यसको घोषणा भने मार्चमा सरकारको वार्षिक विधायिकी सत्रमा घोषणा हुनेछ । सीले सन् २०१८ मा राष्ट्रपतिको दुई कार्यकालको सीमालाई खारेज गरेसँगै उनी आजीवन शक्तिमा रहने मार्ग प्रशस्त भएको थियो । 

सी अहिले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव, राष्ट्रपति र सशस्त्र सेना प्रमुखको पद संयोजक हुन् । उनलाई ‘प्यारामाउन्ट लिडर’ अर्थात् सर्वोच्च नेताको रूपमा पनि सम्बोधन गरिन्छ ।

अधिवेशनबाट पूर्वराष्ट्रपति हु जिन्ताओको अप्रत्याशित बहिर्गमन
चिनियाँ कम्युनिस्ट पार्टीको पाँच वर्षमा हुने राष्ट्रिय महाधिवेशनलाई अत्यन्त सावधानीपूर्वक ‘कोरियोग्राफ’ गरिएको राजनीतिक रंगमञ्चको रूपमा हेरिन्छ । यसबाट पार्टीको एकता र वैधानिकताको सन्देश देखाउने गरिन्छ । तर, शनिबारको ग्रेट हल अफ द पिपुलमा भएको समापन समारोहमा एक नाटकीय दृश्य देखा पर्‍यो, जब अप्रत्याशित रूपमा पूर्वराष्ट्रपति हु जिन्ताओलाई हात समातेर बाहिर लगियो ।

हुलाई पार्टी भेलाबाट लगिएको भिडियो बाहिरिएसँगै यसबारे अन्तर्राष्ट्रिय मिडियामा विभिन्न अडकलबाजी गरिँदै छ । राष्ट्रपति सी जिनपिङको छेउमा बसिरहेका कमजोर देखिने ७९ वर्षीय हुलाई दुई अधिकारीले पाखुरामा समाएर लगेको देखिन्छ । भिडियोमा हु जिन्ताओ बाहिर जान अनिच्छुकजस्तो देखिन्छन् ।

सन् २००३ देखि २०१३ सम्म चीनका राष्ट्रपति रहेका हुले सीलाई सत्ता हस्तान्तरण गरेका थिए । दुई अधिकारी आएर उठाउनुअघि हु सी जिनपिङ र प्रधानमन्त्री लि खछ्याङकै छेउमा बसिरहेका देखिन्छन् ।

सार्वजनिक भिडियोमा अधिकारीले उठाइसकेपछि हुले सी जिनपिङसँग केही भनेको देखिन्छ, जसको जवाफमा सी टाउको हल्लाउँछन् र अर्कोतर्फ हेर्छन् । बाहिरिँदै गर्दा हुले उनका राजनीतिक शिष्य ली खछ्याङलाई कुममा धाप मार्छन् ।