१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबारे छलफल गर्दै गोदावरी क्षेत्रका मतदाता ।
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ १ मंगलबार o८:५६:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

ललितपुर १ : सडक र यातायातमा सधैैँ सास्ती

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:५६:oo

चुनावका वेला मात्रै नेता गाउँ पस्छन्, ६६ वर्षअघि सुरु भएको कान्ति लोकपथ अझै निर्माणाधीन

अरू वेला सहरमै केन्द्रित हुने ललितपुरका नेताहरू आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनाव नजिकिएपछि गाउँ पस्न थालेका छन् । केन्द्रीय राजधानीनजिक भएर पनि विकट मानिने दक्षिण ललितपुर (क्षेत्र नम्बर १)बाट चुनावी परिणाम आफूतर्फ पार्न ठूला दलसहित अन्य उम्मेदवार गाउँ पस्न थालेका हुन् । 

सहरमै घरजम गरेर बसेका नेता भोट माग्न मात्रै गाउँ आएको देख्दा स्थानीय मतदाता भने रुष्ट बनेका छन् । गाउँमा बाटो बिग्रिँदा, स्वास्थ्यचौकी अभावमा उपचार नपाउँदा, कृषि सामग्री ढुवानी गर्न असहज हुँदा वा अन्य समस्या पर्दा चासो नदिने नेताहरू चुनाव नजिकिएसँगै गाउँ पसेको देख्दा स्थानीयले आक्रोश व्यक्त गरिरहेका छन् । स्थानीय कृष्ण बजगार्इंले यसपटक मतदान गर्दा निकै सावधानी र सचेत हुने बताए । तर, वैकल्पिक उम्मेदवार नै नभएको उनी बताउँछन् । ललितपुर–१ मा पुराना दलबाहेकका अन्य उम्मेदवार नै नभएको उनी बताउँछन् । ‘आफ्नै निर्वाचन क्षेत्रमा वर्षमा एक–दुईपटक पनि नपुग्ने नेतालाई हामीले किन भोट दिने ?’ उनले भने, ‘यसअघि सांसद बनेर गएकाहरूले जितेपछि यहाँका समस्यालाई नजरअन्दाज गरे ।’

के भन्छन् उम्मेदवारहरू ?
ललितपुर १ मा कांग्रेसबाट उम्मेदवार बनेका उदयशमशेर राणाले यसपटक दक्षिण ललितपुरको हितमा काम गर्ने दाबी गरे । उनले बितेका चार वर्षमा खासै काम नभएको आरोप लगाउँदै आफूले जिते दक्षिण ललितपुरको मुहार फेर्ने गरी योजना अघि बढाउने बताए । ‘यो क्षेत्रमा सडक पूर्वाधार अस्तव्यस्त छ । यातायातको असुविधा छ । कृषिको राम्रो सम्भावना हुँदाहुँदै पनि व्यवस्थित गर्न सकिएको छैन,’ उनले भने, ‘आगामी पाँच वर्षमा हामीले यी कुरालाई बढी चासो दिन्छौँ ।’

एमालेबाट प्रतिनिधिसभातर्फका उम्मेदवार नवराज सिलवालले अघिल्लोपटक जिल्लाको सडक र पूर्वाधारमा जोड दिएको दाबी गरे । ‘बितेका वर्षहरूमा मैले यहाँका मतदातालाई न्याय नै गरेको छु, पूर्वाधारदेखि स्वास्थ्य र शिक्षामा धेरै काम भएको छ,’ उनले भने, ‘आगामी वर्षहरूमा कृषि, स्वास्थ्य र पर्यटनमा ध्यान दिनेछु ।’

राप्रपाका उम्मेदवार सन्दीप आचार्यले पनि ललितपुर १ विकास निर्माणमा निकै पछि परेकाले यसको चौतर्फी विकासमा लागिपर्ने बताए । ‘राजधानीसँगै जोडिएर पनि ललितपुरको ग्रामीण क्षेत्र अनकन्टार छ, यसलाई राजधानीसँग नजिक गराउने योजना मसँग छन्,’ उनले भने ।

प्रतिनिधिसभातर्फ तीन उम्मेदवार प्रतिस्पर्धामा

जिल्लाको ७० प्रतिशत भूभाग ललितपुर १ मा 
ललितपुरको कुल भूगोलको ७० प्रतिशत भूभाग यही क्षेत्रमा पर्छ । तर, यो क्षेत्र विकास निर्माणमा भने निकै पछि छ । यस क्षेत्रअन्तर्गत तीन गाउँपालिका र गोदावरी नगरपालिको १२ र १४ वडाबाहेक सबै पर्छ । कोन्ज्योसोम, बागमती र महांकाल गाउँपालिकाको समग्र भूभाग ललितपुर–१ मा पर्छ । यो क्षेत्र भौगोलिक रूपमा विकट छ । यस क्षेत्रको सबैभन्दा विकटका रूपमा गिम्दी, प्युटार, ठूला दुर्लुङ, कालेश्वर हो । बर्खाका वेला यहाँ यातायातका साधन ठप्प बन्ने गरेको छ । सो समयमा दक्षिण ललितपुरको जनजीवन निकै कठिन बन्ने गरेको छ । राजधानीसँगै जोडिए पनि दक्षिणी ललितपुरवासी बिरामी पर्दा एम्बुलेन्ससमेत पाउन नसक्ने अवस्थामा छन् । 

पुरानै दल, पुरानै उम्मेदवार 
यस क्षेत्रमा एमालेबाट नवराज सिलवाल, कांग्रेसबाट उदयशमशेर राणा, राप्रपाबाट सन्दीप आचार्य चुनावी प्रतिस्पर्धामा छन् । सिलवाल गोदावरी नगरपालिका–३ मा बस्छन् ।  राणा ललितपुर महानगरपालिकाको कुपन्डोल र आचार्य गोदावरीको झरुवारासीमा बस्छन् । उनीहरू निर्वाचन क्षेत्रमा विरलै पुग्दा मतदाताले समेत मुस्किलले ठम्याउँछन् । ‘नेताहरू प्रायः चुनावका वेला मात्रै गाउँमा आउँछन्,’ गिम्दीका चेतनाथ बजगाईंले भने, ‘उनीहरूलाई के आधारमा भोट दिने ? न त जिल्लामा ठूला विकासका योजना ल्याएका छन् ।’

तथ्यमा ललितपुर १
- कुल मतदाता : ७४३९७
- अघिल्लोपटक निर्वाचित : नवराज सिलवाल, एमाले (२६९५१) निकटतम प्रतिस्पर्धी, उदयशमशेर राणा (२०७२९)
- गत स्थानीय तह निर्वाचनको परिणाम : गोदावरी नपा, बागमती र महांकाल गापा (कांग्रेस), कोन्ज्योसोममा (एमाले)  

प्रदेश सभामा पनि पुरानै दलबीच प्रतिस्पर्धा

ललितपुर–१ (क)मा एमालेका मधुसूदन पौडेल र माओवादी केन्द्रका हरि दाहालबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै, (ख)मा एमालेका चेतनाथ सञ्जेल र कांग्रेसका मीनकृष्ण महर्जनबीच प्रतिस्पर्धा छ ।  

कान्ति लोकपथले सधैँ सास्ती
ललितपुरलाई लक्षिणी ललितपुरसँग जोड्ने कान्ति लोकपथ ०१३ सालमा निर्माण सुरु भए पनि अझै पूरा भएको छैन । यो सडक ललितपुरको सातदोबाटो, चापागाउँ, बागमती र महांकाल गाउँपालिका हुँदै हेटौँडा जोडिन्छ । 

जम्माजम्मी ९० किलोमिटर रहेको यो सडक अझै पनि दोहोरो सञ्चालनमा आउन सकेको छैन । जसका कारण दक्षिण ललितपुरमा उत्पादन हुने कृषि उत्पादन र अन्य सामग्री सहजै ढुवानी हुन नसक्ने प्युटारका कृष्ण बलले बताए । यद्यपि, यही सडक प्रयोग गर्न स्थानीय बाध्य छन् । ललितपुरको दुर्गम क्षेत्रमा पुग्न तीनपाने भञ्ज्याङसम्म यही सडकको भर पर्नुपर्छ । योसँग जोडिएका भित्री सडकहरू पनि बर्खाका वेला पुहिरोले पुरिन्छन् । 

जोखिमपूर्ण कोन्ज्यासोम–कालेश्वर सडक
कोन्ज्यासोम हुँदै कालेश्वर पुग्ने भारदेउ सडकखण्ड निकै जीर्ण छ । ‘यो सडक निकै जोखिमपूर्ण पनि छ, ठूलो सडक भए पनि बर्खाको वेला पहिरोले पूरै अवरुद्ध हुन्छ । तर, त्यसलाई खुलाउन यहाँ नेताहरू तात्दैनन्,’ बागमतीका सुरेश तामाङले भने । उनले बर्खाका वेला सबैजसो सांसद सहरतिरै बस्ने हुँदा सडक र यातायातको सास्ती उनीहरूले थाहा नै पाउँदैनन् । 

मतदाता भन्छन्– अवैध उत्खनन रोक्नेलाई मत 

ललितपुर–१ मा पर्ने लेले टीकाभैरव दुम्सीडोल सामुदायिक वन ढुंगाखानी र क्रसर उद्योगका कारण खण्डहर बनेको छ । अवैध उत्खननले यस क्षेत्रका बस्तीहरू जोखिममा छन् । तर, नेता तथा सरकारी निकायले अवैध उत्खनन रोक्न नसकेको स्थानीयको आरोप छ । यसअघि अवैध उत्खनन रोक्ने प्रतिबद्धता जनाएका नेताहरूले प्रतिबद्धता पूरा नगरेको लेलेका उत्तम थापाले बताए । उनले भने, ‘अबचाहिँ अवैध उत्खनन रोक्नेलाई मात्रै भोट दिन्छौँ । अवैध उत्खननले हाम्रो बिल्लीबाठ हुने अवस्था छ । खानेपानीमा मुहान सुके, वन तहसनहस भइसके ।’  

ad
ad