मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २८ शुक्रबार ०७:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संयुक्त चुनावी अभियानमा  सत्तारूढ गठबन्धन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २८ शुक्रबार ०७:४५:००

सत्तारूढ गठबन्धनले संयुक्त चुनावी अभियान चलाउने भएको छ । गठबन्धनका दलहरूको बिहीबार बसेको बैठकले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भन्ने नारासहित संयुक्त चुनावी अभियान चलाउने निर्णय गरेको हो । गठबन्धनले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । 

४ कात्तिकमा गण्डकीको पोखरा र लुम्बिनीको बुटवलमा भेला हुने भएको छ । गण्डकीको व्यवस्थापन एकीकृत समाजवादी र लुम्बिनीको व्यवस्थापन कांग्रेसले गर्नेछ । ५ कात्तिकमा प्रदेश १ को विराटनगर र मधेसको जनकपुरमा भेला हुने भएको छ । मधेसको भेलामा लोसपालाई पनि आमन्त्रण गर्ने निर्णय गठबन्धनले गरेको छ । कात्तिक ६ मा सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, ७ कात्तिकमा बागमतीको काठमाडौंमा भेला हुनेछ ।  

गठबन्धनले संयुक्त अपिल जारी गर्ने भएको छ । अपिलको मस्यौदा तयार पार्न गठबन्धनका चार दलका नेता सम्मिलित कमिटी बनेको छ । कमिटीमा कांग्रेसबाट प्रकाशशरण महत, माओवादीबाट हितमान शाक्य, एकीकृत समाजवादीबाट प्रमेश हमाल र जनमोर्चाबाट हिमलाल पुरी छन् । 

पौडेलको कमान्डमा निर्वाचन परिचालन

गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समन्वय समिति गठन गरेको छ । केन्द्रमा पौडेलको नेतृत्वमा गठबन्धनले काम गर्ने, प्रदेश र जिल्लास्तरमा दलका प्रमुखहरू रहेको निर्वाचन समन्वय समिति गठन गर्ने गठबन्धनको निर्णय छ ।

जिल्ला संयन्त्रले आवश्यकताअनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्न सक्ने अधिकार गठबन्धनले दिएको छ ।