
राष्ट्रिय सभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन्।
सरकारले सभामा पेस गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्रस्तुत संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका थिए।
त्यस क्रममा उनले नीति तथा कार्यक्रम सुशासन प्रवर्द्धन र विकासको गतिलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित प्रस्तुत भएको बताए। प्रधानमन्त्री ओलीले भने, ‘देशलाई सार्वभौसमसत्ता सम्पन्न, स्वाधीन, स्वतन्त्रता राख्दै राष्ट्रिय हितको जगेर्ना र प्रवर्द्धन गर्नुपर्ने आवश्यकतालाई नीति तथा कार्यक्रमले समेटेको छ।’
उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर समाजमा अराजकतालाई राजनीतिक आचरणको रूपमा अगाडि बढाइएकोप्रति र जनताप्रति चिन्ता व्यक्त गर्दै प्रणालीमाथि गरिने प्रहारप्रति सचेत हुनुपर्नेमा जोड दिए।