१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाली मुद्रा इतिहासकै कमजोर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:४२:oo

दिनहुँ रेकर्ड तोड्दै डलरको भाउ

अमेरिकी डलर दिनप्रतिदिन बलियो हुँदै गएपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । राष्ट्र बैंकका अनुसार शनिबार एक अमेरिकी डलरबराबर १३२ दशमलव २ रुपैयाँ भएको छ । यो हालसम्मकै उच्च हो । 

विनिमय बजारमा भारतीय मुद्रा कमजोर बन्दै गएपछि नेपाली मुद्रा निरन्तर अवमूल्यन भइरहेको छ । भारतको चालू खाता घाटा बढ्न थालेसँगै त्यहाँको विदेशी मुद्रा सञ्चिति प्रभावित भएको छ । अमेरिकी डलर बलियो हुँदै गएपछि नेपालको व्यापार घाटा झन् बढ्ने निश्चित छ । आयातमा आधारित अर्थतन्त्र भएकाले नेपालले कमाएको विदेशी मुद्रा आयातमै बढी खर्चिनुपर्ने हुन्छ । त्यसले आयातमा बढी डलर बाहिरिने भएकाले नेपालले तुलनात्मक लाभ लिने अवस्था छैन । 

नेपालमा आपूर्तिजन्य अवरोधका कारण पनि उत्पादनको क्षमता बढ्न सकेको छैन । गत ९ असोजमा करिब दुई महिनाअगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य त्यसयता लगातार बढ्दो क्रममा नै देखिएको छ । त्यतिवेला एक अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा र खरिद मूल्य १२९ रूपैयाँ ८ पैसा थियो ।

आगामी दिनमा अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फेडरलले ब्याजदर बढाउँदा भारतसहित विश्वभरि रहेको अमेरिकी लगानी (पोर्टफोलियो) अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको छ । मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरिरहेका छन् । सोहीबीच अमेरिकी केन्द्रीय बैंकले पनि ब्याजदर बढाउँदा डलर थप बलियो बनेको हो ।

पछिल्लो समय भारतीय बजारमा विद्युत् निर्यात गरिरहेको नेपालले यहाँबाट अझ बढी लाभ लिन सक्ने सम्भावना थियो । यद्यपि, चाडपर्वलगत्तै हिउँदयाम सुरु हुने भएकाले विद्यत् उत्पादन कम भएसँगै नेपालले आयात गर्नुपर्ने बाध्यता छ । नेपालले सम्भावना बोकेको जलविद्युत् र पूर्वाधारका लागि आवश्यक पर्ने सामानको भाउसमेत बढ्ने सम्भावना छ ।

डलरको भाउमा आएको वृद्धिले रेमिट्यान्समा भने बढोत्तरी ल्याउने सम्भावना छ । दसैँतिहारमा अन्य समयमा भन्दा बढी रेमिट्यान्स आउने भएकाले अहिले बैंकहरूले धमाधम रेमिट्यान्स निक्षेपको ब्याजदर बढाइरहेका छन् । अहिले बैंकहरूले यस्तो निक्षेपमा १५ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । नेपाली मुद्राको अवमूल्यनले वैदेशिक रोजगारमा रहेका श्रमिकलाई थप लाभ पुग्ने भएकाले रेमिट्यान्सको आप्रवाह बढ्ने विश्लेषकहरू बताउँछन् । तर, अहिलेको स्थितिमा रेमिट्यान्सको आप्रवाह खासै नबढेको र मूल्य मात्रै बढ्ने स्थितिमा भने यसले लाभ नदिने देखिन्छ । 
 

ad
ad